निर्णय नं. ८४६६ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४६६ - जबरजस्ती करणी भाग: ५२ साल: २०६७ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/११/११ ५५३५ निर्णय नं.८४६६ ने.का.प २०६७ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६३ सालको फौ.पु.नं. – १६७ फैसला मितिः २०६६।११।११।३ मुद्दाः– जबरजस्ती करणी पुनरावेदक वादीः रामबन धवलको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही बोदबार गा.वि.स.वडा ९ बस्ने मोईला भन्ने मुवारक मिर मुसलमान § जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराधजस्तो होइन । सामान्यतयाः अन्य अपराधमा पीडकले गर्ने आपराधिक कार्य (Criminal Act) बाट एक वा अर्को प्रकार र परिमाणको प्रतिफल (Return) प्राप्त हुन्छ । त्यो प्रतिफल आर्थिक लाभ होस, इबी साधन होस अथवा मनोबैज्ञानिक संन्तुष्टि (Psychological Satisfaction) नै किन नहोस् एक वा अर्को प्रकारको प्रतिफलका लागि मानिसले अपराध गर्दछ । त्यसैले अपराधबाट हुने लाभ वा प्रतिफलको आधारमा अन्य अपराधहरूको स्वरुप र गम्भीरता निर्धारण हुन्छ । जबरजस्ती करणीको अपराध भिन्न प्रकृतिको विशेष र गम्भीर अपराध हो । यसको स्वरुप र गम्भीरताको मापन दुई प्रकारले हुन्छ । पहिलो मापदण्ड हो पीडितलाई हुने क्षति र दोस्रो हो पीडकलाई प्राप्त हुने प्रतिफल । (प्रकरण नं.३) § जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवम् सामाजिक प्रतिष्ठा, मान–मर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसैले पीडितको क्षतिको आधारलाई जबरजस्ती करणीको अपराध प्रमाणित गर्ने सन्दर्भमा पहिलो मापकको रुपमा अदालतले ग्रहण गर्नुपर्ने । § एउटी सातवर्र्षीया नाबालिकासँगको घृणित आपराधिक कार्यको सन्दर्भमा अरु कार्यहरू गरी सकेको अवस्थामा पीडितको योनीमा पीडकको लिङ्ग प्रबेश आँशिक वा पूर्ण जे जस्तो अवस्थाको भएपनि जबरजस्ती करणीको कसूर प्रमाणित हुन त्यति नै पर्याप्त हुन्छ । उद्योग भनेको जबरजस्ती करणीको प्रयास गर्नुसम्म हो । जबरजस्ती करणी गर्ने कामको प्रारम्भ गरी सकेपछि उद्योगको अवस्था रहँदैन । त्यो काम जुन चरणसम्म गरेको भएपनि कामको उद्योग नभै कामै गरेको ठहरिने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः  जबरजस्ती करणीको महलको ३(१) र १० नं. फैसला न्या.ताहिर अली अन्सारीः यसमा यस अदालतबाट मिति २०६४।९।१०।३ (नेकाप २०६४,अङ्क ९ नि.नं. ७८८० पृष्ठ १२०८) मा जारी भएको विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ को दफा ३(१) बमोजिम जाहेरवाला र पीडितको नाम परिबर्तन गरी निजहरूको वास्तविक नाम सिलबन्दी गरी मिसिल सामेल गरिएको छ । सो सिलबन्दी खाम फैसलाको अभिन्न अङ्ग मानी अ.ब..२१ नं बमोजिम तायदाती फारामको नमूनाको कहिल्यै नसडाउने महलमा उल्लेख गरी अभिलेख राख्नु । पुनरावेदन अदालत बुटबलको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर भएको प्रस्तुत मुद्दाको सार संक्षेप र ठहर यस प्रकार छः मेरो छोरी बर्ष ७ को सीतावन(परिबर्तित नाम) धवललाई मिति २०५९।७।१ गतेका दिन म घरमा एक्लै रहेको अवस्थामा गाउँकै मोइल भन्ने मुवारक मिर मुसलमानले