निर्णय नं. ८४८१ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४८१ - उत्प्रेषण । भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०३/१५ १४६९४ निर्णय नं. ८४८१ ने.का.प २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह संवत् २०६२ सालको रिट नं. ३२६१ आदेश मितिः २०६७।३।१५ विषय : उत्प्रेषण । निवेदकः खोटाङ जिल्ला वाप्लुखा गा.वि.स वडा नं. १ बस्ने वृषबहादुर राई विरुद्ध विपक्षीः नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, विद्यालय शिक्षा शाखा काठमाडौंसमेत § कुनै फौजदारी अपराध नैतिक पतन देखिने फौजदारी कसूर हुनका लागि सो कसूर निज कसूरदारको नैतिक आचरणसँग सम्बन्धित कार्य वा कसूर हो भनी ठोस आधार र वस्तुगत कारण हुनुपर्दछ । साथै सो कसूर गर्दा कसूरदारको आपराधिक मनसाय वा उद्देश्य, कसूर गर्दाको परिस्थिति, अवस्था र परिणाम तथा त्यसबाट समाजमा पर्नसक्ने प्रभाव समेतलाई विचार गर्नुपर्ने । § कुनै कार्य नैतिक आचरणसँग सम्बन्धित कार्य वा कसूर हो भन्ने कुरा व्यक्ति वा समाजको परिवेश, अवस्था, विचार र दृष्टिकोणमा पनि आधारित हुन्छ । फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची होइन । कानूनले दुबैलाई पर्यायवाची मानेको भए फौजदारी अपराधमा नैतिक पतन देखिने भन्ने विशेषण लगाउनु आवश्यक हुने थिएन । नैतिक पतन देखिने कसूरलाई कुनै कानूनद्वारा परिभाषित गरिएको नभए पनि सो कसूर सामान्य फौजदारी कसूरभन्दा पृथक र सामान्य समझ (Ordinary Prudence) भएका व्यक्तिको दृष्टिकोणमा नैतिकता, आचरण, तथा मानिसको चरित्रलाई गिराउने र धमिलो पार्ने, दाग लगाउने किसिमका कसूर हो भनी बुझ्नुपर्ने । § दुई पक्षबीच झैझगडा भई मानिसको मृत्यु भएको कारणबाट फौजदारी मुद्दा चलेको र सो फौजदारी मुद्दामा सजाय पाएको परिस्थितिमा चलेको ज्यान मुद्दालाई नैतिक पतन देखिने कसूर हो भनी कुनै दृष्टिकोणले भन्न नमिल्ने । (प्रकरण नं.५) § फौजदारी कसूरमध्ये केवल नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएकोलाई हटाउनेसम्म व्यवस्था भएबाट ज्यान मुद्दालगायतका अन्य फौजदारी कसूरमा सजाय पाएकालाई उक्त कानूनी व्यवस्थाबमोजिम शैक्षिक नोकरीबाट हटाउन नमिल्ने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, विद्वान अधिवक्ताहरू रविनारायण खनाल र शान्तिदेवी खनाल विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रमेश शर्मा पौडेल अवलम्बित नजीरः § नेकाप, २०३०, नि.नं. ७७४, पृष्ठ २८९ § नेकाप २०६०, नि.नं. ७२१५, पृष्ठ ३६८ सम्बद्ध कानूनः § शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ङ(५) § शिक्षा नियमावली, २०५९ को नियम १३८(२) (क), १४० आदेश न्या.रामकुमार प्रसाद शाहः तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३, र ८८(२) बमोजिम यस अदालतमा परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः— म निवेदक २०४४।९।२१ मा तत्कालीन महेन्द्रोदय प्रा.वि. वाप्लुखा खोटाङमा स्थायी शिक्षकमा नियुक्त भएको थिएँ । मिति २०५६।१।१९ गतेका दिन राई जातिको परम्परागत कूल पूजामा उपस्थित हुन वाप्लुखा १ मा गएको थिएँ । सो अवसरमा उपस्थित व्यक्तिहरूकाबीच उब्जेको झगडामा सविनकुमार राईको मृत्यु भएको हुँदा कर्तव्य ज्यान मुद्दा चली म निवेदकलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय हुने गरी खोटाङ जिल्ला अदालतले फैसला गरी सो सजाय चर्को पर्ने भनी अ.वं. १८८ नं. अनुसार साधक जाहेर गरेकोमा पुनरावेदन अदालत राजविराजबाट साधक सदर गरी सर्वोच्च अदालत समेतबाट