निर्णय नं. ८९९६ - प्रतिषेधसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९९६ - प्रतिषेधसमेत भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/१२/१२ ७१७४ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.८९९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल रिट नं. ०६७–WO–११७९ आदेश मितिः २०६९।१२।१२।२ विषयः प्रतिषेधसमेत । निवेदकः जिल्ला सिरहा, भगवानपुर गाउँ विकास समिति वार्ड नं.१ बस्ने सुकदेव यादवको छोरा बलराम यादव विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत § कतिपय अपराधीले कारागारमा रहँदा आफ्नो चरित्रमा सुधार गरेको र समाजमा पुनस्थापना गर्दा भावी दिनमा कुनै पनि आपराधिक कार्य हुँदैन भन्ने विश्वास गरी त्यस्ता कैदीहरूको भुक्तान गर्न बाँकी रहेको कैद मिन्हा हुन सक्ने । § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ मा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले जुनसुकै अदालत, विशेष अदालत, सैनिक अदालत वा अन्य कुनै न्यायिक, अर्धन्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजाय लाई माफी, मुलतवी, परिवर्तन वा कम गर्न सक्नेछ भन्ने व्यवस्था भएकाले यो व्यवस्थालाई आत्मसात् गरी मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिद्वारा प्रयोग हुने गरी संविधानमा समावेश गरेको यस्तो अवस्थामा अदालतबाट सो अधिकारमा बिना आधार हस्तक्षेप गरी तोकिएको सजाय माफी मिन्हा दिन नसक्ने भन्न मिल्ने स्थिति नदेखिने । (प्रकरण नं.६) § मन्त्रिपरिषद्ले कुनै व्यक्तिलाई लागेको कैद माफी मिन्हा दिन सिफारिश गर्न सक्ने संविधान एवं कानूनबमोजिम प्राप्त अधिकारलाई मुनासिब माफिकको कारणबिना अदालतबाट बन्देज लगाउन नमिल्ने । (प्रकरण नं.७) निवेदकतर्फबाटः विपक्षीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनी अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ आदेश न्या.गिरीश चन्द लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं यस अदालतको आदेश यस प्रकार छः मिति २०५८।८।८ गतेका दिन जिल्ला सिरहा, गा.वि.स. भगवानपुरमा प्र.ज. यमबहादुर वस्नेतलाई भगवानपुर गा.वि.स. वार्ड नं. ५ बस्ने धनमन्ती यादवको छोरा रामशंकर यादवसमेतले प्रहार गरेको बन्दुकबाट निजको मृत्यु भएकोमा सो घटनाको चश्मदिद् गवाह म निवेदकको भाइ सुशीलकुमार यादवले घटनाको सम्पूर्ण विवरण उल्लेख गरी मौकामा र सिरहा जिल्ला अदालतमा समेत बकपत्र गरेको थियो । सो बकपत्रमा निज रामशंकर यादव लगायतका व्यक्तिले प्र.ज. लाई मारेको कुरा पुष्टि भएकोमा निजले मउपर रीसइबि लिई २०६१।२।३ गते भाइ सुशीलकुमार यादवलाई जिल्ला सप्तरी गा.वि.स. मल्हनिया वार्ड नं. २ स्थित महेन्द्र यादवको पोखरी नजिकमा पुगेको अवस्थामा रामशंकर यादवसमेतका व्यक्तिहरूले भाइ सुशीलकुमार यादवको कञ्चटमा गोली हानी कर्तव्य गरी मारेकोमा मैले दिएको जाहेरी दरखास्तउपर अनुसन्धान तथा कारवाही भई निजहरू उपर सप्तरी जिल्ला अदालतमा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुनका लागि मिति २०६४।३।२२ गतेका दिन स.फौ.नं. १५५ को कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । उक्त मुद्दा नेपाल सरकारले फिर्ता लिनको लागि नेपाल सरकार कानून तथा न्याय मन्त्रालयले मुद्दा फिर्ता लिने भनी विभागीय मन्त्रीबाट २०६६।६।२९ गते भएको निर्णयलाई मन्त्रिपरिषद्समक्ष प्रस्ताव गरेको हुँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी, विचाराधीन कर्तव्य ज्यान मुद्दा फिर्ता गर्ने गरी कुनै निर्णय नगर्नु र सो स