निर्णय नं. ३४७६ - उत्प्रेषण्को आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४७६ - उत्प्रेषण्को आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/१४ २३०० निर्णय नं. ३४७६ ने.का.प. २०४५ अङ्क ६ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट.पु.ई. ५१ फैसला भएको मिति : २०४४।५।१४।३ मा रिट निवेदक : जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत जगेडा गार्डमा हवलदार पदमा वहाल रहेको गुलाब सिंह ठाकुर विरुद्ध विपक्षी : मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय नेपालगञ्ज समेत विषय : उत्प्रेषण्को आदेश जारी गरिपाउँ (१) अदालती कारवाहीले उसले गरेको अपराध सम्बन्धमा कारवाही चलाई सजायँ गर्ने र विभागीय कारवाहीले कर्मचारीको पदीय आचरणको सम्बन्धमा कारवाही चलाई सजायँ गर्ने हुनाले अदालती कारवाही र विभागीय कारवाही दुई छुट्टाछुट्टै प्रकृयाबाट गरिने कारवाही हुन । (प्रकरण नं. १३) (२) प्रहरी ऐनको दफा १० (क) ले विभागीय कारवाही वा सजायँ भएको कर्मचारीउपर अदालती कारवाही चलाउन सक्ने भन्ने स्पष्ट व्यवस्था भएबाट एउटै अपराधमा दुईपटक सजायँभागी बनायो भन्ने रिट निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १३) (३) प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.४ (क) (ङ) र (छ) तथा ९.५ (क) अनुसार क्रमशः कुनै प्रहरी कर्मचारीले सन्तोषजनक काम नगरेमा, दिएको आदेश निर्देशन नमानेमा अथवा कार्यान्वयन नगरेमा, लापरवाही गरेमा वा नियम आदेशको पालना नगरेमा र अयोग्यताको कारणले आफ्नो पदको काम र जिम्मेवारी पूरा गर्न नसकेमा तल्लो पदमा घटुवा गर्नसक्ने अधिकार प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.१ (घ) ले प्रदान गरेकोले, तल्लो पदमा घटुवा गर्ने गरेको निर्णयलाई कानुनको त्रुटी गरी निर्णय गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की आदेश प्र.न्या धनेन्द्र्रबहादुर सिंह : सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशज्यूहरुको बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. मिति २०१८।७।२० गते म प्रहरी पदमा नियुक्त भएँ मिति २०२२।६।१६ गतेमा हवल्दार पदमा मेरो पदोन्नति भयो । मिति २०३४।८।२६ गते म असिसष्टेन्ट सब–इन्सपेक्टर पदमा मेरो पदोन्नति भयो शुरु देखि नै म इमान्दार कर्तव्यनिष्ट रही सेवा गर्दै आएको छु । ३. जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गत विमान सुरक्षा गार्डमा अ.सई पदमा वहाल रहँदा महान्नद जैशीको जाहेरीले वादी श्री ५ को सरकार प्र.धनबहादुर थापा समेत भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेको अभियुक्त राजु भन्ने धनबहादुर थापालाई पक्राउ गरी तपाई समेतले भगाएको भन्ने मुद्दामा प्रहरी विशेष अदालत गठन गरी कारवाही चलाइने र मिति २०४१।६।३ गतेबाट तपाईलाई निलम्बन गरिएको क्षेत्रीय प्रहरी कार्यालय, नेपालगञ्जको आ.वा. बाट जानकारी प्राप्त हुन आएकोले आजैका मितिदेखि तपाईलाई निलम्बन गरिएको छ, भनी मिति २०४१।६।३ को जिल्ला प्रहरी कार्यालय, सुर्खेतको पत्र प्राप्त भयो । प्र.स.नि.गुलाब सिंह ठाकुर समेत लालचमा परी छाड्यो भनी छाडे भगाएको नभई प्लेन टिकट लिन जाँदा एक्लै छाडिएबाट भाग्न गएको देखिन आउँदा लापरवाहीसम्म गरेको देखिन आउँदा प्रहरी ऐन,