निर्णय नं. ३४८० - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८० - जालसाजी भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/१० २४८६ निर्णय नं. ३४८० ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ६३३ फैसला भएको मिति : २०४५।४।१०।२ मा पुनरावेदक प्रतिवादी : जि.दाङ विजौरी गा.पं.वा.नं.५ बस्ने भगवती बाम्हणी विरुद्ध प्रत्यर्थी वादी : ऐ.ऐ.बस्ने प्रदिप गौतम मुद्दा : जालसाजी (१) अंशबण्डाको १ नं.अनुसार जियजीयै बण्डा लाग्ने । पारित बण्डाबाट वादीको हकै मेटिने देखिएकोले वादी दावी बमोजिम बण्डापत्र जालसाजी ठहराई गरेको निर्णय मनासिब देखिने । (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतका २०४३।५।९ का फैसला उपर भगवती ब्रम्हणीले पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा दिएको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई यसै इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. पिता वामदेवबाट जेठा भागवत जस्की पत्नी भगवती हुन्, माहिला अशोककुमार, साहिलो म फिरादीको जन्म २०१९।८।९ मा भएको, २०२०।२।२९ को बण्डापत्र भन्दा पहिले जन्म भएको मेरो भाग नलगाई मेरो मौलिक हकबाट बञ्चित भएको छु । म जन्मिएपछि भएको बण्डापत्र कानुन प्रतिकुल छ र बण्डापत्र कीर्तेकागजको ३ नं.बमोजिम जालसाजीलाई समर्थन गरेको छु । भगवतीबाट सरस्वतीले हालैको बकसपत्र पारित गरी लिई सरस्वतीले वामदेव समेतलाई खिचोला मुद्दाको फिराद गरेको इतलायनामा २०३९।६।७ मा प्राप्त हुँदा मात्र जालसाजी बण्डा भएको थाहा पाउँ । उक्त जालसाजबाट गरिएको बण्डापत्र बदर गरी कीर्ते कागजको १० नं.अनुसार विपक्षीहरुलाई सजायँ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रदीप गौतमको २०३९।७।२५ को फिरादपत्र । ३. विपक्षीका बाबु वामदेव, ठूली आमा विष्णुकुमारी, दाजु भागवत, अशोककुमार जना ४ ले २०१९।१०।५ मा बण्डापत्र खडा गरी २०२०।२।२९ मा पास गर्नु भएपछि म भगवतीको पति भागवत परलोक हुनुभएपछि पतिको नामको जग्गा मरो नाउँमा नामसारी हुनआएको । बण्डापत्र भइसकेपछि २०२१।८।९ मा फिरादी जन्मेको हुँदा अंशबण्डाको ११ नं.अनुसार बाबुको बण्डाबाट अंश लिन पाउने हुँदा झुठ्ठा फिराद गरेको प्रष्ट देखिन्छ । तसर्थ फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भगवती ब्राम्हणीको प्रतिउत्तरपत्र । ४. वामदेवले म बिजुलीप्रसादलाई बण्डापत्र लेखी दिनु पर्‍यो भनेकाले बण्डापत्र लेखी दिएको हुँ, फटके साक्षी हामी जोगेश्वर, डिल्लीबहादुरले सहीछाप गरिदिएको हो, हामीहरुले जालसाज गरका होइनौ भन्ने समेत व्यहोराको जोगेश्वर, बिजुलीप्रसाद, डिल्लीबहादुर समेतको संयुक्त प्रतिउत्तरपत्र । ५. वादी प्रदीप साहिलो छोरा र छोरी देवमा जुम्ल्या हुने हल्ला भएकोले जग्गा बटवारी गर्ने विचार उठी नाबालकको नाममा जग्गा राख्न नमिल्ने हुँदा प्रतिपको नाउँमा नराखी विष्णुकुमारीको नाममा धेरै जग्गा राखिएको हो । पारिवारिक इमान्दारीको विरुद्ध भगवतीले सगोलको अंश जग्गालाई बकसपत्र दिनु, खिचोला मुद्दा दिनु समेतको अनुभव गर्ने प्रदिपले जालसाजी गरे भन्ने हामी समेतका नाउँमा मुद्दा दिएकोमा अंशबाट बञ्चित गराउने नियतले गरेको हैन । जालसाल गरे भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको वामदेव, अशोककुमार, खिमकुमारी समेतको संयुक्त प्रतिउत्तरपत्र