निर्णय नं. ८९९७ - उत्प्रेषणमिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९९७ - उत्प्रेषणमिश्रित परमादेश भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०१/०३ ४५६२ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.८९९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय ०६५–WO–०२८३ आदेश मितिः २०७०।१।३।३ मुद्दाः उत्प्रेषणमिश्रित परमादेश । निवेदकः विनोदबहादुर अमात्यको पत्नी, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २, झम्सीखेल बस्ने कमला अमात्य विरुद्ध प्रत्यर्थीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ त्रिदेवीमार्गस्थित प्रधान कार्यालय रहेको हिमालयन बैंक लिमिटेडसमेत § कम्पनीले लिएको ऋणको दायित्व ऋण लिँदा खडा गरिएको लिखतमा उल्लिखित शर्तबमोजिम चुक्ता गर्नुपर्ने हुन्छ । यदि बैंकले ऋण लिँदा कोही कसैबाट थप जमानी लिएको छैन भने उसले कम्पनीको सम्पत्तिभन्दा अन्यत्रबाट असूल गर्न सक्दैन । जुन कुरा कम्पनीको दायित्व कम्पनीको सम्पत्तिमा मात्र सीमित रहन्छ भन्ने कम्पनी कानूनको सीमित दायित्वको सिद्धान्तअन्तर्गतको विषयवस्तुभित्र पर्ने । § कम्पनीले ऋण लिँदा कसैले व्यक्तिगत जमानी दिन्छ र ऋण लिँदा राखिएको धितोबाट असूल हुन नसकेको ऋण रकमबापत जमानी बसेको व्यक्ति वा संस्थाबाट असूल गर्नसक्ने नै हुन्छ । जुन कुरा नितान्त जमानीसम्बन्धी करारको विषयवस्तु हो, जसमा सीमित दायित्वको प्रसङ्ग आकर्षित हुन नसक्ने । (प्रकरण नं.४) § सगोलमा रहँदा घरको मूल कारणीले लिएको ऋण तथा कवूल गरेको दायित्व निवेदकले व्यहोर्न नपर्ने गरी कानूनले उन्मुक्ति दिएको समेत देखिँदैन । थप व्यक्तिगत जमानी दिइसकेपछि २०५९ सालमा अंश छोडपत्र गरी विवादको जग्गा दिएको देखिएको हुँदा कारोवार हुँदाको जमानीबापतको लिखतमा पक्राउ गर्न सकिने सम्पत्ति भनी रोक्का राखेकोलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता बिदुरप्रसाद ढुङ्गाना प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता भरतलाल शर्मा अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ को उपधारा (२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– म निवेदिका कमला अमात्यको पति विनोदबहादुर अमात्य, छोरा सौरभ अमात्य तथा छोरी विन्नी अमात्यसमेतका चार अंशियार रहे भएकोमा पति विनोदबहादुर अमात्यसँग एकासगोलमा बस्न नसकिने अवस्था आई बाध्य भै रजिष्ट्रेशन नम्बर ८३५८ मिति २०५३।०२।०८ मा अंश छोडपत्र गरी म निवेदिकाले छोरी विन्नी अमात्यलाई आफ्नो जिम्मा लिई निज छोरीको लालन, पोषण, शिक्षा, दिक्षा म निवेदिकाले नै गर्ने र साबालिग भैसकेपछि विवाहसमेत म निवेदिकाले नै गरिदिने व्यहोरा अंश छोडपत्रको लिखतमा नै उल्लेख गरी सम्पूर्ण अंश हकबापत पति विनोदबहादुर अमात्यसँग ललितपुर उपमहानगरपालिका वडा नं. ३ (क) को कि.नं. १६४ को क्षेत्रफल २–३–२–० जग्गा तथा सोमा बनेको घरसमेत आफ्नो नाममा अंश छोडपत्र गरी आफू जिम्मा बुझी भोगचलन गरी आएको छु । उक्त घरजग्गा म निवेदिकाको नामबाट हालसम्म कुनै पनि बैंक तथा फाइनान्स कम्पनीमा धितो लेखिदिई कर्जा लिएको तथा अन्य कुनै पनि व्यक्तिको बैंकिङ कारोवारको लागि धितो जमानतसमेत दिएको छैन । उक्त कि.नं. १६४ को जग्गा बैंक तथा वित्तीय संस्थाहरूमा धितो राख्ने मनसायबाट मालपोत कार्यालयमा गई बुझ्दा उपरोक्त कि.नं. १६४ को क्षेत्रफल २–३–२–० घरजग्गामध्ये १–३–२–० घर जग्गा विपक्षी बैंकले मिति २०६१।१०।७ को रोक्का