निर्णय नं. ३४९४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४९४ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०३/२० २३५५ निर्णय नं. ३४९४ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ५४१ सम्वत् २०४४ सालको फौ.सा.नं. १३७ फैसला भएको मिति : २०४५।३।२० मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी रिते भन्ने रितबहादुर रोका क्षेत्री विरुद्ध विपक्षी/वादी : देवीप्रसाद गैरे समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) वारदात घट्नुभन्दा अगाडिकै रिसइवीबाट मृतकहरुलाई चिरपट दाउराले हिर्काई सोही चोटबाट मृत्यु भएको भन्ने देखिन आएकोले आत्मरक्षा गर्दाकै कारणबाट मृतकहरुको मृत्यु भएको हो भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १५) फैसला न्या.प्रचण्डराज अनिल : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन दर्ता भई आएको मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. २०४० साल कार्तिक १८ गतेको राती खानपिन गरी हामीहरु आ–आफ्ना घरमा सुतेका थियौं, रातको अं.१२:३० बजेको समयमा जाहेरवाला मध्येका देवीप्रसाद गैरेका श्रीमतीले आमा होटलको ढोका ढक ढक्याएको आवाज आएको छ, उठ्नु भनी मलाई उठाई म उठी सुन्दा राजु राजु भन्ने आवाज समेत सुने, चिनेका र बराबर भेट भई कुराकानी हुने रिते भन्ने रितबहादुर क्षेत्री थियो । म समेतका जाहेरवालाहरुलाई बोलाई तलाबाट ओर्ली हेर्दा होटलको अगाडि एकजना र त्यसको अन्दाजी १० मिटर दक्षिणमा एकजना मानिस रगताम्य भई लडी मरिरहेको देख्यौं एकजना भाग्दै गरेको देखी हामीहरु समेतले पिछा गर्दै जाँदा नभेटिएको हुँदा मुस्ताङ होटलमा आई फोनद्वारा प्रहरी थाना बुटवलमा खबर गर्न खोज्दा चावी बन्द भएकोले सकसबहादुर थकालीको घरबाट प्रहरी थाना बुटवलमा खबर गर्यौं, रिते भन्ने रितबहादुर हो, पूरा विश्वास भएकोले निज रितबहादुरलाई पक्राउ गरी कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. बु.न.पं.वार्ड नं. ८ ठूलो बस स्टेशनमा रहेको थकालीको होटलदेखि अं.८ मिटर उत्तर आमा होटलदेखि अं.२५ मिटर दक्षिण चित्रबहादुरको घरदेखि अं.२० मिटर पूर्व बस स्टेशनको पूर्व सीमा किनारदेखि १०० मिटर पश्चिम यति ४ किल्लाभित्र टाउकोमा चोट परी रगताम्य भई २ जना अपरिचित मानिस मरिरहेको देखिएको ठीक छ भन्ने समेतको व्यहोराको घटनास्थलको विवरण । ४. २०४०।७।१८ गते म खस्यौलीको बस स्टशेनमा नै थिएँ, बेलुका रक्सी खाई सेनीमा हलतर्फ गएँ । सेनीमा छुटिसकेपछि स्टेशनमा आउँदा बस स्टेशनमा हरिबहादुरलाई नाम नजानेको रिक्सावाला तथा नचिनेको अरु दुइजनालाई देखी सो रिक्सावाला २ जनासँग पहिलेको रिसइवीमा मार्नेसम्मको मनसाय रहिरहेको थियो, वादविवाद गर्न शुरु गरे, विश्वकर्मासँग जाइलाग्दा ४ जना मध्ये एकजना लाहुरेले आफूले बाँधिराखेको पेटी प्रहार गर्यो मैले होटल बाहिर रहेको चिरपट दाउरा उठाई लाहुरेको चण्डीमा हिर्काएपछि त्यो लाहुरे ढल्यो । ढली सकेपछि धेरैपटक दाउराले प्रहार गरेको हुँ । निज मरेको विश्वास भयो, लु.अं. ६१ नं.को बसको आडमा एकजना देखें रिक्सावाला मगर होस् भनी सोद्धा हुँ भन्यो लाहुरेलाई प्रहार गरी हातमा लिएको दाउराले निजलाई हानें, प्रहार गरी मारें । मैले २०४०।७।१८ गते राती २ जनालाई मारेको हुँ भन्ने समेत व्यहोराको रिते भन्ने रितबहादुर रोका क्षेत्रीको प्रहरीमा भएको बयान कागज । ५. रितबहादुरले रणबहादुर, कुलबहादुर समेत २ जनालाई कर्तव्य गरी मारेको भन्ने सरजमीन मुचुल्का ।