निर्णय नं. ३४९९ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४९९ - हक सफा भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/१२/२८ २३८४ निर्णय नं. ३४९९ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ७२४ फैसला भएको मिति : २०४४।१२।२८।१ मा पुनरावेदक/प्रतिवादी : तनहुँ माझकोटा गा.पं.वार्ड नं. ७ बस्ने लुरीमाया श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ऐ.मिमाता गा.पं.वार्ड नं. २ बस्ने सूर्यरत्न श्रेष्ठ मुद्दा : हक सफा (१) साँधको एउटै कित्ताको जग्गा दुईजनालाई वादी संधियारमा नपर्ने गरी २ कित्ता कायम गरी बिक्री गरेकोमा दुवै कित्तामा सन्धिसर्पन र संधियारको नाताबाट एकै मितिमा निखनाई पाउँ भनी दर्खास्त दिन पाउने भन्न मुलुकी ऐन लेनदेन व्यवहारको १२ नं. को कानुनी व्यवस्थाले नमिल्ने भई साँधको एकै कित्ता दुइजनालाई २ कित्ता गरी बिक्री गरेकोमा एकैपटक निखनाई पाउन दिएको दर्खास्तबाट वादीले निखन्न पाउनुपर्ने हो भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १४) पुनरोदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना फैसला न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । २. सामुङ्ग भगवतीपुर गा.पं.वडा नं.४ कि.नं.१०१ को बढुवा बाँझा खेत रोपनी २३–१४–२–२ मध्ये ७–०–०–० धर्मराजले लुरीमाया श्रेष्ठबाट रु. १७,०००।– लिई मिति २०३२।११।२६।६ मा राजीनामा पारित गरी हक छाडी दिने र हक छुटाई लिने दिने लुरीमायाकी सौतेनी दिदी छलिमायाले कि.नं.१०१ को जग्गा मध्ये खेत रोपनी ८–०–०–० धर्मराजबाट नै राजीनामा गरी लिंदा पूर्व म सूर्यरत्नको खेत साँध राखी जरिवाना गरिलिएको र छलिमाया लुरीमायाले राजीनामा गरिलिएको जग्गा रोपनी १५–०–०–० मध्ये धर्मराजको हकको कि.नं. १०१ को जग्गा मध्ये बाँकी ८–१४–२–२ रहेको मेरो कि.नं.९९ को बढुवा बाँझ खेत रोपनी २०–१–३–२ देखि पश्चिमपट्टी लुरिमाया, छलिमायाले राजीनामा लिएको खेत र धर्मराजको हकको बाँकी खेत भएकोले लुरिमायाले धर्मराजबाट लिएको कि.नं.१०१ बढुवा बाँझ खेतमध्येको रोपनी ७–०–०–० मलाई सन्धिसर्पन कायम गरी मैले राखेको थैली रु.१७,०००।– लुरीमायालाई बुझाई हक निखनाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. मैले राजीनामा लिएको जग्गा मुहानमा विपक्षीको जग्गा पुछारमा नभई मेरो जग्गा पूर्वदाताको र दाताको पूर्व छलिमायाको त्यसदेखि पूर्व विपक्षीको जग्गा रहेको छ । पश्चिममा मेरो जग्गा र पूर्व वादीको जग्गाको उत्तर साँधबाट कुलो गइरहेको छ । उक्त कुलोबाट विपक्षीको जग्गाको मुहानमै पटनी हुन्छ । विपक्षीको खेत सुख्खा लाग्ने भन्ने दावी मिथ्या हो । मेरो जग्गा विपक्षीले हक सफा गर्न पाउने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. ऐनले तोकेको म्यादभित्र फिराद पर्न नआएको म्याद नाघी दर्ता हुनआएको फिरादबाट कारवाही गर्दा कानुन विपरीत हुने देखिएकोले प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३७।२।१९ को जिल्ला अदालतको फैसला । ५. जिल्ला अदालतको फैसला बदर गरी फिराद दावी अनुसार इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन । ६. शुरुले म्यादभित्रको फिराद नभएको हुँदा खारेज गर्ने गरेको फैसला मिलेको नदेखिँदा बदर गरी दिएको छ । पुनः जो जे बुझ्नु पर्दछ बुझी कानुन बमोजिम