निर्णय नं. ८९९९ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९९९ - ठगी भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०१/१० ७७२० ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.८९९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती पुनरावेदन नं. ०६५–CR–०७१७ फैसला मितिः २०७०।१।१०।३ मुद्दा :– ठगी । पुनरावेदक प्रतिवादीः जिल्ला भक्तपुर, कटुन्जे गा.वि.स. वडा नं. १ वस्ने अजीतराज ढुँगेल विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सहकारी कार्यालय, बाँकेको जाहेरीले नेपाल सरकार शुरू फैसला गर्ने :– मा.न्या.श्री प्रकाशराम मिश्र पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री कृष्णप्रसाद उपाध्याय मा.न्या.श्री जागेश्वर सुवेदी § अ.बं.२०५ ले पुनरावेदन नगर्ने पक्षलाई पनि उन्मुक्ति दिन सकिने कानूनी प्रवन्ध अवश्य गरेको छ । तर, यस अदालतमा पुनरावेदन गर्ने कानूनी अधिकार भएका व्यक्तिले पुनरावेदन नगरे पनि अरू पुनरावेदनबाट जाँचिदा पुनरावेदन नगर्ने पक्षका हकमा पनि इन्साफ वा सजाय उल्टिने अवस्था देखिएमा मात्र पुनरावेदन सरह निजका हकमा समेत उल्टाई छिनिदिनु पर्ने भएकाले अ.बं.२०५ नं. मा प्रयुक्त “जाँच्ने इन्साफ वा सजाय” पुनरावेदन अदालतको हो, जिल्ला अदालतलाई नहुने । (प्रकरण नं.६) § सहकारीको रकम आफूखुशी नियम विनियम तथा संस्थागत प्रक्रिया बाहेक खर्च गरिन सक्दैन । यस्ता कार्यमा आपराधिक मनसाय थिएन भन्न सकिँदैन । मुद्दा आरम्भ भइसकेपछिका कुनै भनाई वा पत्राचार विवादित कार्य हुँदाका कुनै अभिलेखबाट पुष्टि नभएमा सोलाई प्रमाणका रूपमा ग्रहण गरी कुनै न्यायिक अवधारणा बनाउन नमिल्ने । § ऐन विनियमले व्यवस्था नै नगरेको प्रक्रिया अपनाई संस्थाको कुनै कारोवार गरिन्छ भने सो कार्यमा संलग्न व्यक्ति व्यक्तिगत रूपमा जिम्मेवार हुनुपर्ने । (प्रकरण नं.८) § ठगीको कसूर भयो कि भएन भन्नको लागि तत्काल घटित कार्यलाई नै हेरिने हो । पुनरावेदक प्रतिवादीले अर्को संस्थाको नाउँमा कर्जा स्वरूप रकम दिई आफनो पदीय दायित्व निर्वाह गरेको भनी जिकीर लिए पनि उक्त रकम आफ्नै संस्थाको उपाध्यक्षको नाउँमा चेक काटी सो रकम सम्बन्धित संस्थालाई धोका दिई गफलतमा पारी दुरूपयोग गरी संस्थालाई हानि नोक्सानी र सम्बन्धित व्यक्तिलाई लाभ पुर्याउने उद्देश्यले दिइएको कार्यबाट ठगी गर्ने मनसाय स्पष्ट हुने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता लव मैनाली प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता धर्मराज पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § सहकारी ऐन, २०४८ को दफा ७ फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, नेपालगञ्जको २०६५।२।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– यस कार्यालयबाट आश्मा वचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्जको निरीक्षण हुँदा मिति २०५९।४।१४ को प्रतिवेदन प्राप्त भएअनुसार २०५८ चैत्रसम्म कारोवारको खाताको पोष्टिङ भएको र २०५९ वैशाख महिनाको खातामा पोष्टिङ नगरी उक्त संस्थाको सञ्चालक अजीतराज ढुँगेल फरार भै बरबुझारथ नगरेको हुँदा वैशाख महिनाको हिसाब हेर्न नसकिएको । त्यसपछि संस्थामा कोषाध्यक्ष कमलसिँह ठकुरीले सञ्चालन गर्दा २०५९ जेठ र असारको खाता पोष्टिङ हुँदा व्यवस्थापक अजीतराज ढुँगेलले बिनाधितो रू.५,७८,०००।– आश्मा वचत तथा ऋण सहकारी संस्था काठमाडौंमा पठाएकोले ठगी गर्ने नियत प्रष्ट भएको हुँदा आवश्यक कारवाही गरिपाऊँ भन्ने जिल्ला