निर्णय नं. ८४३३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४३३ - कर्तव्य ज्यान भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०७/१० ५७७६ निर्णय नं. ८४३३ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती फौ.पु.नं.: ०६५–CR–०१८१ फैसला मितिः २०६७।७।१०।३ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः ओखलढुंगा जिल्ला, ज्यामिरे गा.वि.स.वडा नं. ६ घर भई हाल कारागार शाखा ओखलढुंगामा थुनामा रहेका पृथीबहादुर खड्का विरुद्ध प्रत्यर्थी/वादीः नृपध्वज कटुवालको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या. श्री विष्णुप्रसाद कोइराला पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री वैद्यनाथ उपाध्याय मा.न्या. श्री शान्तिराज सुवेदी § साविती बयान आफैंमा महत्वपूर्ण प्रमाण भए तापनि साविती मात्र अभियोग पुष्टि गर्ने आधार बन्न सक्दैन । सावितीलाई अभियोग पुष्टि गर्ने एकमात्र आधार बनाइयो भने त्यसले फौजदारी न्यायप्रणालीमा थुप्रै जटिलताहरूलाई जन्म दिन्छ । त्यसले अनुसन्धान एवं अभियोजन पक्षबाट दावी प्रमाणित गर्नका लागि अन्य प्रमाणहरूको संकलन र विश्लेषणमा भन्दा अभियुक्तलाई साविती बयान दिन बाध्य पारिने सम्भावनालाई बल प्रदान गर्ने हुँदा वास्तविक अपराधी उम्कने र अनुसन्धानका क्रममा अभियुक्तका रुपमा प्रस्तुत गरिएका व्यक्ति दण्डित हुनुपर्ने विडम्वनापूर्ण अवस्था पनि आउन सक्ने भएकाले त्यस्ता सम्भावनाहरूलाई बल पुग्ने गरी न्यायिक व्याख्या गरिन नहुने । (प्रकरण नं.२) § अदालत स्वच्छ सुनुवाईका लागि सम्पूर्ण वातावरण निर्माण गर्न सदैव तत्पर रही तदनुरुपको परिस्थितिमा हुने अन्य पक्षको दवाव, प्रभाव र डर, धाक, धम्कीको सम्भावना रहँदैन । त्यसैले अदालतसमक्ष गरेको बयानलाई समेत अन्यथा संज्ञा दिइँदा सो कुराका भरपर्दा आधार पक्षले नै पेश गर्न सक्नुपर्ने । (प्रकरण नं.३) § अदालतमा आई गरेकै अपराधलाई पनि इन्कार गरेमा लाभान्वित हुने र झन सत्य कुरा स्वीकार गरेमा प्रताडीत हुने हाम्रो न्यायिक मान्यता तथा मानसिकतामा परिवर्तनको खाँचो छ । विकसित न्यायप्रणालीले स्वीकारी सकेको अपराध कवुल गरी अनुसन्धानमा सहयोग पुर्याई पश्चाताप गर्नेलाई सहुलियत दिनुपर्ने । (प्रकरण नं.७) पुनरावेदक/प्रतिवादीः विद्वान अधिवक्ताहरू श्री लभकुमार मैनाली, श्री मोतिलाल श्रेष्ठ र रविन्द्र भटृराई प्रत्यर्थी/वादीः विद्वान नायब महान्याधिवक्ता श्री प्रेमराज कार्की अवलम्बित नजीरः नेकाप २०३१, नि.नं. ८४८, पृष्ठ २६३ सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, राजविराजको मिति २०६५।३।१६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः मृतक गीता खड्का ओखलढुंगा जिल्ला ज्यामिरे गा.वि.स.वडा नं. ६ स्थित पृथीबहादुर खड्काको मकैवारीको कुटमिरोको रुखमा घाँटीमा बाँधी झुण्डिई मृत अवस्थामा फेला परेको, दुबै आँखा बन्द भई रगत जस्तो पदार्थ बगी सुकेको, मृतकको योनिबाट रगत बगी दुबै खुट्टाको छेपारी र तलसम्म ठाउँ ठाउँमा रगत बगेको भन्ने समेत व्यहोराको मिति २०६३।२।३१ को घटनास्थल प्रकृति मुचुल्का । मिति २०६३।२।३० गते दिउँसो कुन्तादेवी गा.वि.स.मा सामुदायिक वन उपभोक्ता समूहको भेलामा सहभागी भई बेलुका ७.३० वजे घर आई भात खाने वेलामा श्रीमती गीता खड्कासँग सामान्य भनाभन भएकोले म घर छोडी हिँडी मास्तिर दोबाटोमा उद्धव खड्कासँग भेट भएपछि लोग्ने