निर्णय नं. ८४४० - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४४० - उत्प्रेषणयुक्त परमादेश भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०५/१४ ४३५७ निर्णय नं. ८४४० ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६१–WO–३१९६ आदेश मितिः २०६७।५।१४।२ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका शुक्रपथ स्थित विशाल बजार कम्पनी लिमिटेडको तर्फबाट अधिकारप्राप्त ऐ. कम्पनीका कम्पनी सचिव विश्वप्रसाद श्रेष्ठ विपक्षी विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत § एउटा कानूनी व्यक्तित्वधारी कम्पनीको सञ्चालक समितिको नेतृत्व एउटा सरकारी पदाधिकारीबाट २०४६ साल भन्दा अगाडिसम्म हुनु र कुनै पनि शेयर होल्डरका लागि आपत्तिजनक नहुनुबाट कम्पनीमा नेपाल सरकारको कुनै सम्बन्ध सरोकार थिएन र छैन भन्ने कथन कानूनसंगत नभएकाले कुनै पनि कम्पनीले बिना स्वामित्व हक सरकारी पदाधिकारीलाई अध्यक्ष पदमा बीस वर्षसम्म बस्न दियो होला भन्ने कुरा प्रतीतलायक नहुने । (प्रकरण नं.६) § आँफैले स्वीकारी आफैँले गरेको आग्रहअनुसार नै भए गरेका कामकारवाहीलाई अहिले आएर आँफैले कुनै स्पष्ट आधारबिना चुनौती दिन नमिल्ने । (प्रकरण नं.१२) § समन्यायिक सिद्धान्तमा आस्रित यस अदालतको असाधारण अधिकारक्षेत्रको प्रयोग गर्दा अदालतले अपनाउने आत्मसंयम, विवेकशीलता र सक्रियताका लागि पक्षको सदाशयताको पनि त्यत्तिकै आवश्यकता पर्दछ । आफ्नो मौलिक तथा कानूनी हक आघातीत भएको भनी दावी लिनेकर्ताले अदालतलाई झुक्याउने, ढाट्ने र छलछाम गरी आफ्नो पक्षमा निर्णय लिने अभिप्राय राख्न नहुने । § सम्पत्ति विषयक आफ्ना पूर्वनिर्णय, सहमति, समर्पण र स्वीकृतिलाई निवेदनमा उल्लेखसम्म नगरी आफ्नो निर्विवाद भोगचलनको सम्पत्तिको प्रचलनमा आघात परेको भनी दायर रिट निवेदनलाई सफा र शुद्ध हात नलिई अदालतलाई झुक्याउने अभिप्रायले आएको समूहमा नै राख्नुपर्ने । (प्रकरण नं.१५) § सरकारी सम्पत्तिको लाभको प्रतिफल समस्त नागरिकले पाउनु पर्ने भएकाले यस्तो सम्पत्ति निःशुल्क उपभोग गरिरहन कसैले पाउनु न्यायका दृष्टिले उचित नहुने । (प्रकरण नं.१७) निवेदक तर्फबाटः वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की, श्री शम्भु थापा, अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतम, श्री यज्ञबहादुर बस्नेत र सुशीलकुमार पन्त विपक्षी तर्फबाटःसहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी अवलम्बित नजीरः § नेकाप २०३७, नि.नं. १४१०, पृष्ठ २४४, § नेकाप २०४४, नि.नं. २९९५, पृष्ठ १९० सम्बद्ध कानूनः § कम्पनी कानून, २०६३ § धितोपत्र कारोवार ऐन, २०४० आदेश न्या.प्रकाश वस्तीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अनुसार दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त टिपोट र ठहर निर्णय यस प्रकार रहेको छ :— काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २४ कि.नं. १९२ को क्षेत्रफल १२–४–० जग्गा निवेदक विशालबजार कम्पनी लिमिटेडको अविछिन्न हकभोग दर्ता तिरेको जग्गा हो । उक्त जग्गामा निवेदक कम्पनीले दशौँ करोड रुपैयाँ लगानी गरी बेसमेन्टसहित दुई लाख स्क्वायर फीटभन्दा बढी क्षेत्रमा अत्याधुनिक भवनहरू निर्माण गरी विभिन्न संगठित संस्था, व्यापारिक प्रतिष्ठान तथा व्यापार व्यवसाय गर्ने व्यक्ति विशेषलाई बहालमा लगाई कम्पनीको व्यवसाय प्रवर्द्धन गरिआएको छ । यसरी निवेदकले अविछिन्न भोगचलन गरी आएको उक्त कि.नं. १९२ को घरजग्गा तत्कालीन अवस्थामा सुपरमार्केट स्थापना गर्ने भनी तत्का