निर्णय नं. ९००२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९००२ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०२/२९ ३८१२ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.९००२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्की ०६७-CR-११७२ फैसला मितिः २०७०।२।२९।४ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला दैलेख, गोगनपानी गा.वि.स. वडा नं.७ घर भई हाल कारागार कार्यालय, दैलेखमा थुनामा रहेका गोविन्द भन्ने गजेन्द्रकुमार चन्द विरुद्ध प्रत्यर्थी वादीः गणेशबहादुर चन्दको जाहेरीले नेपाल सरकार शुरू फैसला गर्ने : मा.न्या. श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्ने : का.मु.मा.मु.न्या.श्री विश्वनाथ जोशी मा.न्या.श्री प्रकाशराम मिश्र § कुनै पनि हत्या औचित्यपूर्ण प्रतिरक्षाको सिद्घान्तअन्तर्गत परी प्रतिवादीले सजायबाट छूट पाउन सो हत्यामा बल अन्तिम विकल्प (Last Resort) को रूपमा प्रयोग भएको हुनुपर्दछ । कुनै व्यक्तिले ज्यान लिने मनसायले कुनै पनि माध्यमबाट जोरजुलूम गरेको कारण निजको नियन्त्रण वा पञ्जाबाट उम्कन नसक्ने अवस्था सिर्जना भएको वा निजको नियन्त्रणबाट भाग्ने, उम्कने, गुहार मागी सहयोग प्राप्त गर्नसक्ने वा प्रहरीलाई खबर गर्न सक्ने अवस्था नभएबाट त्यस्तो जुल्मीका विरूद्घ केही गर्दा निजको मृत्यु भएको प्रमाणबाट देखिनु औचित्यपूर्ण प्रतिरक्षाको पहिलो आवश्यकता हो । यस्तो कार्य तत्काल नै हुनु पर्दछ । धेरै समयपछि आफूलाई मृतकबाट ज्यानको खतरा थियो भन्ने प्रतिरक्षाको आधार बन्न नसक्ने । § औचित्यपूर्ण प्रतिरक्षा मानी सजायमा छूट दिनका लागि न्यायकर्ताले हेर्नुपर्ने महत्वपूर्ण पक्ष वारदातमा न्यूनतम् शक्तिको प्रयोग, तत्काल जोखिमको अवस्था परिवर्तित नभएको, आक्रमणकारीले जोखिमी हतियारको प्रयोग गरेको छैन भने प्रतिरक्षाकर्ताले पनि जोखिमी हतियार प्रयोग गरेको हुन नहुने तथा मृतकले जस्तो शक्तिको प्रयोग प्रतिवादीले पनि गरेको हुनुपर्ने । (प्रकरण नं.६) § कुनै व्यक्तिले आफूमाथि हातहतियारसहित वा रहित कुनै पनि माध्यमबाट जोरजुलूम गरेको कारण निजको नियन्त्रण वा पञ्जाबाट उम्कन नसक्ने, गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्तो पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन नसक्ने अन्तिम अवस्था सिर्जना भएबाट त्यस्ता जुल्मीका विरूद्घ मनासिब माफिकको उचित बल प्रयोग गर्न नपाइने होइन । तर, त्यस्तो बल वा शक्ति मनासिब किसिमबाट अर्थात् औचित्य पुष्टि हुने किसिमबाट प्रयोग भएको हुनुपर्ने । (प्रकरण नं.७) § घातक हतियार दुवै पक्षसँग नभएता पनि शारीरिक बल मृतकको तुलनामा प्रतिवादीमा ज्यादा रहेको भन्ने तथ्य एकपटक नभई मृतकलाई पटक–पटक भूइँमा पछार्नु, मुक्काले हान्नु र नाजुक अवस्था बन्दै गएपछि शरीरमाथि चढी घाँटी थिच्नु, दबाउनु जस्ता कार्यहरू भएको कुरा वारदात आफैँले बोलेका तथ्य हुन् र यी तथ्य प्रतिवादीको प्रतिरक्षाको सारथि बन्न नसक्ने । (प्रकरण नं.९) § आफ्नै अगाडि प्रतिवादीले मृतकलाई मारेको भनी मौकामा गरेको कागज तथा अदालतमा गरेको बकपत्रसमेतबाट प्रतिवादीले प्रतिकार नगरेको भए निजको ज्यान जोखिममा थियो भन्ने देखिन आउँदैन । प्रतिवादीको शरीरमा संघर्षका कुनै पनि चिन्ह नहुनु, तर आक्रमणकारी भनिएको व्यक्तिको मृत्यु हुन पुगेबाट बल समानरूपमा प्रयोग भएको थियो भन्न नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान वैतनिक अधिवक्ताद्वय हरिशंकर कर्ण तथा श्रुतीकुमारी रेग्मी प्रत्यर्थी वादीतर्फबाटः