निर्णय नं. ८३४० - भ्रष्टाचार ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३४० - भ्रष्टाचार । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/१०/०५ ३२०३ निर्णय नं. ८३४० ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६१ सालको फौ.पु.नं. ३६९८ फैसला मितिः २०६६।१०।५।३ मुद्दा : भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला चरम्बी गा.वि.स.वडा नं.१ घर भई हाल का.जि. का.म.न.पा.वडा नं.१० बस्ने प्रदीप अधिकारी विरुद्ध प्रत्यर्थी वादीः अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत कुमुद शर्माको प्रतिवेदनले नेपाल सरकार शुरु फैसला गर्नेः– मा.न्या.श्री तपबहादुर मगर मा.न्या.श्री भूपध्वज अधिकारी § अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्याउने भार पनि निजउपर नै हुन्छ । खल्तीबाट घूसको रकम वरामद भएको अवस्थामा घूस रिसवत लिएको होइन भनी जिकीरसम्म लिएको तर त्यसलाई कुनै वस्तुनिष्ठ प्रमाण पेश गरी प्रमाणित गर्न नसकेकोले बरामद भएका नोटहरू प्रतिवादीको जानकारी र सहमति बेगर निजको अज्ञानतामा नै निजको खल्तीमा राखिएको वा जबर्जस्ती राखिएको भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.५) § गर्नुपर्ने काम यथासमयमा नगरी घूसको माग गरेकाले अधिकार प्राप्त निकायबाट नोटहरू लिएर घूसबापत प्रतिवादीलाई दिएका क्रियाहरू आरोपित कसूरका लागि गरिने अनुसन्धान प्रक्रियाका अङ्ग हुन् र कानूनअनुकूल नै सम्पन्न भएकाले अभियोजन पक्षको नियत र अनुसन्धान कारवाहीमा दूषित मनसाय र कानूनी त्रुटि समेत देखिन नआएकोले त्यसको आधारमा एकत्रित प्रमाणहरू आरोपित कसूर प्रमाणित गर्नका लागि प्रमाणको रुपमा ग्रहणयोग्य देखिन्छन् । घूसको रकम, रङ्गे हात पक्राउ परेकोे स्कूल दर्ता गर्ने क्रममा घूस, रिसवत मागी लिएको अवस्थामा त्यस्तो रिसवत लिने राष्ट्रसेवक कर्मचारी कानूनबमोजिम सजायको भागी हुने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ताहरू श्री बालकृष्ण नेउपाने र श्री बोर्णबहादुर कार्की प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(क) फैसला न्या.ताहिर अली अन्सारीः विशेष अदालत काठमाडौंको मिति २०६०।४।२० को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः— कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका शाखा अधिकृत प्रदीप अधिकारीले विद्यालय दर्तासम्बन्धी काम गर्दा फाइलपिच्छे रू.एक हजार नभई विद्यालय दर्तासम्बन्धी काम गर्न सक्दिन भनेकोले यसै कार्यालयका नोटहरू बुझी लगी निज अधिकारीलाई बुझाई रंगेहात जफत गराई भ्रष्टाचार तथा अख्तियारको दुरुपयोगमा आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत तुल्सीराम काफ्लेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा परेको उजूरी । उजूरवाला तुल्सीराम काफ्लेले प्रदीप अधिकारीलाई दिन भनी क, ५२, ८२७०४३, क, ९१, ९७७४५५ क, ६८, १७८३८१, क, ६२—५५१६०९ र क, २२—४३६७२५ न.का एकहजार दरका ५ थान नोटहरू बुझी लगेको भरपाई मिसिल संलग्न देखिएको । कम्पनी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत प्रदीप अधिकारीको शरीर खानतलासी गर्दा निजले लगाएको गाढा खरानी रंगको पाईन्टको बायाँतर्फको अगाडिपट्टिको खल्तीबाट एकहजार दरको नोटहर