निर्णय नं. ८३४३ - करार भंग बिगो भराइपाऊं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३४३ - करार भंग बिगो भराइपाऊं भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०८/१६ ४०२३ निर्णय नं. ८३४३ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६० सालको दे.पु.नं. .. ९२३८ फैसला मितिः २०६६।८।१६।३ मुद्दाः– करार भंग बिगो भराइपाऊं । पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला का.म.न.पा.वडा नं. ३ महाराजगञ्ज स्थित होटल काठमाडौँ प्रा.लि.का तर्फबाट अधिकार प्राप्त सञ्चालक प्रदिप शम्शेर ज.ब.रा. विरुद्ध विपक्षी वादीः काठमाडौँ जिल्ला का.म.न.पा.वडा नं. २ लाजिम्पाट स्थित क्रसकन्ट्री (नेपाल) होटल प्रा.लि. शुरु फैसला गर्नेः मा.न्या. श्री गिरीशकुमार शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री गौरी ढकाल मा.न्या.श्री गोविन्दकुमार श्रेष्ठ § जुन विषयको सम्बन्धमा (धरौटी रकम जफत) करारले स्पष्टरुपमा सम्वोधन गरेको छैन त्यस्तो अवस्थामा केवल एकपक्षीय रुपबाट गरिएको विवादित करारको व्याख्यालाई कानूनसम्मत एवं विवेकसम्मत मान्न नसकिने । (प्रकरण नं.३) § जुन कुरालाई विवादका पक्षहरूले करार गर्दाकै अवस्थामा स्पष्टरुपमा व्यक्त गर्नसक्ने आधार एवं अवस्था हुँदाहुँदै सो कुरालाई विवादरहित वा स्पष्टरुपमा व्यक्त गर्दैनन् भने त्यस कुरालाई विवाद परेका वखतमा मात्र अव्यक्त रुपमा व्यक्त गरिएको छ भनी एकपक्षीय रुपमा दावी लिनु कानूनसम्मत एवं तर्कसम्मत नहुने । § करार गर्दाको अवस्थामा पनि करार भंग भएको अवस्थामा सेक्युरिटी पेमेन्टबापतको रकमको बैधानिक स्थितिको सम्बन्धमा करारमा नै स्पष्टरुपको प्रावधान राख्न करारका दुवै पक्षहरू स्वतन्त्र रहेको अवस्था हुदाहुदै पनि सोसम्बन्धी प्रावधान करारमा प्रष्टसाथ नसमेटेको अवस्थामा करार समाप्त भएको घोषणा गर्दैमा वादीले धितोबापत राखेको रकम पनि स्वतः जफत हुन्छ भन्न न्यायोचित नहुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरू श्री शिवप्रसाद रिजाल, श्री विष्णुप्रसाद भटृराई र तिलकविक्रम पाण्डे विपक्षी वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान अधिवक्ताद्वय श्री त्रिलोचन गौतम र हरिकृष्ण कार्की अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको २०५८।९।२३ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः– काठमाडौँमा रजिष्टर्ड कार्यालय रहेको क्रसकन्ट्री नेपाल होटल्स प्रा.लि. कम्पनी ऐन, २०२१ बमोजिम दर्ता भई नेपालमा पाँच तारे होटलको स्थापना र विकास गर्ने कम्पनी हो । यस कम्पनी र होटेल काठमाडौँ लिमिटेडका बीचमा २७ जुन १९९५ का दिन विपक्षी होटलको व्यवस्थापन सञ्चालन गर्न समझदारी भएको थियो । उक्त समझदारी पत्रको दफा ११ र १४ मा विपक्षीले होटल काठमाडौँको व्यवस्थापन निवेदकले आफ्नो जिम्मामा लिएको अघिल्लो दिनसम्मको सम्पूर्ण कानूनी दायित्व वा सरकारी बाँकी बक्यौता वा होटेल सञ्चालनमा आइपरेका सम्पूर्ण दायित्वहरू पूरा गरी राखेको र नगरेकोमा सो गर्न सक्ने प्रतिवद्धता व्यक्त भएको आधारमा २१ जुलाई १९९५ मा फिरादी कम्पनी र विपक्षीबीच होटल सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतामा सम्झौताको अनुसूची १ मा उल्लेख गरिएका सम्पूर्ण सम्पत्ति निवेदकलाई पन्ध्रवर्षको लागि बुझाउने व्यवस्था भएको र होटेलको अवस्था र सम्पत्ति सम्झौताको दफा २.३.