निर्णय नं. ८३५४ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३५४ - कर्तव्य ज्यान । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/०२/०६ ५६९८ निर्णय नं. ८३५४ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२–CR–३१५८ फैसला मितिः २०६७।२।६।५ फैसलाः कर्तव्य ज्यान । पुनरावेदक वादीः जीतबहादुर गिरी समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला कपिलवस्तु, गोटिहवा गा.वि.स. वडा नं. १ बस्ने अब्दुल अजीज मुसलमान भन्ने अजीज मुसलमान समेत शुरु फैसला गर्ने : मा.जि.न्या. श्री भीमकुमार ओझा मा.जि.न्या. श्री फणिन्द्रदत्त शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या.श्री विश्वनाथ जोशी § कुनै कागज मृत्युकालीन घोषणा हो वा होइन निक्र्यौल गर्न घोषणाकर्तालाई आफू मृत्युको सन्निकट रहेको आभास भएकै हुनुपर्ने मानेको छ । सिद्धान्ततः आफू पक्कै मर्ने अवस्थामा पुगेको आभास घोषणाकर्तालाई भएको सम्बन्धित कागजबाट देखिएको छ भन्ने स्थापित भएपछि मात्र त्यसका अन्तरवस्तुमा प्रवेश गर्न मिल्ने । § मृतकको कथन मृत्युकालीन घोषणा हुनका लागि घोषणाकर्ता कति समयभित्र मर्न पर्छ भन्ने सीमारेखा तोकिएको हुँदैन । तर, सो कथन र मृतकको मृत्युका बीच मृत्युका अन्य कारण र अवस्था विद्यमान हुन भन्न नहुने । (प्रकरण नं.४) § प्रमाण ऐनको दफा ११ को सीमामा परेन भन्दैमा कुनै लिखित अभिव्यक्ति प्रमाणशून्य हुँदैन । प्रमाण ऐनका अन्य कुनै व्यवस्थाअन्तर्गत त्यो प्रमाण हुन सक्दछ भने त्यसको न्यायिक मूल्याङ्कन हुन सक्ने । § आफूउपर घटेको घटनाका सम्बन्धमा सविस्तार व्यक्त गरी गरिदिएको कागजलाई अन्य स्वतन्त्र प्रमाणबाट खण्डित भएको अवस्था नहुँदा प्रमाण ऐनको दफा १० बमोजिम प्रमाणको रुपमा ग्राह्रो हुने । (प्रकरण नं.५) § मुख्य रुपमा आफूले गरेको कार्यले पीडित मानिसको मृत्युको परिणाम निम्त्याउँदैन भन्ने तर्फ कर्ता सचेत रहेको अवस्थामा दुर्भाग्यवस मानिसको मृत्यु भएमा त्यो भवितव्य हुने कानूनी मनसाय देखिन्छ । त्यसैले भवितव्य हत्यालाई सांयोगिक घटनाको रुपमा ग्रहण गरिन्छ । यसमा फौजदारी अपराधमा हुने आपराधिक तत्वमध्येको महत्त्वपूर्ण तत्व ‘मनासय’ को अभाव रहेको हुन्छ । संयोगवस मानिसको मृत्यु हुने हुनाले यस्तो हत्यालाई मनसायप्रेरित हत्याको रुपमा हेरिँदैन । आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान पनि यसका कर्तामा हुनुहुँदैन । ज्यान लिनेसम्मको रिसइवी पनि हुनु नहुने । (प्रकरण नं.८) § आवेशप्रेरित हत्या पनि प्रतिवादीले आफूले आफैलाई नियन्त्रण गर्न नसकी तत्काल उत्पन्न कुनै कारणबाट उत्तेजित भै आफ्नो कार्यबाट हुने परिणामको ख्यालै नगरी पीडितउपर आक्रमण गर्दा त्यो आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । यसमा प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात मृतकबाटै हुनुपर्दछ । यो उत्तेजना योजनाबद्ध वा पहिलेदेखि नै विद्यमान रहेको नभई तत्काल नै मृतकको व्यवहारका कारणले जन्मेको हुनुपर्ने । § पीडितको कारणबाट उत्पन्न हुने आवेशको अवस्था त्यो हदसम्म हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझवुझ भएको मानिस समेत सामान्य मानवीय कमजोरीका कारणबाट उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक उत्पन्न भई प्रतिवादीले त्यसको आवेशले क्षणिक रुपमा आत्मनियन्त्रण गुमाएको हुनुपर्छ । आत्मनियन्त्रण गुमाउने अवस्था थियो