निर्णय नं. ८३७८ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३७८ - कर्तव्य ज्यान । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/०४/१४ १७६१८ निर्णय नं: ८३७८ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६२ सालको स.फौ.पु.नं.३३५३ फैसला मितिः २०६७।४।१४।६ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः भवानी शोभराजको छोरा, २० एभेन्यु “इभ्री” ७५०१३ पेरिस फ्रान्स घर भै हाल कारागार शाखा, जगन्नाथ देवल, काठमाडौँमा थुनामा रहेको चार्ल्स गुरुमुख शोभराज विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरु फैसला गर्ने : मा.जि.न्या.श्री विश्वभरप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ मा.न्या.श्री आत्माराम भट्टराई § मृतकको हत्या कुनै व्यक्तिको कर्तव्यबाट भएकोले कसूरजन्य कार्य गर्ने अपराधीलाई प्रचलित कानूनबमोजिम सजाय गर्नुपर्ने हुँदा अप्रत्यक्ष प्रमाणको आधारमा पनि कसूरदार देखिएको व्यक्तिलाई सजाय गर्नु अदालतको कर्तव्य हुने । (प्रकरण नं.७) § अपराध र अपराधीको शिकार भएका पीडित व्यक्तिप्रति न्याय परोस् भन्ने कुरा पनि न्यायाधीशले त्यति नै सुनिश्चित गर्नु पर्दछ । अभियुक्त र अपराधबाट पीडित व्यक्ति दुवैलाई सन्तुलित रुपमा न्याय प्रदान गर्नु नै न्यायप्रणालीको आधारभूत लक्ष्य हुन्छ । कुनै एकप्रति मात्र लक्षित गरी गरिएको निर्णयले न्यायको आकार ग्रहण गर्न नसक्ने । § अपराध गर्दा अपनाइएको तरीका र अपराधको प्रकृति हेर्दा अपराधी पूर्ण सचेत, सावधान रही नियोजित र सँगठित रुपमा आफ्नो कार्य योजनालाई पूर्णता दिएको देखिन्छ । यस्तो अवस्थामा अभियोजन पक्षद्वारा प्रस्तुत अप्रत्यक्ष प्रमाण र खास गरी परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधीसम्म पुग्नु पर्ने र त्यस्तो प्रमाणको आधारमा कसूरदार देखिन आएको अभियुक्तलाई सजाय गर्नुपर्ने । (प्रकरण नं.८) § कानूनअनुरूप प्रमाणको रुपमा पेश गरिएका कुराहरूको मुद्दामा सम्बद्धता छ वा छैन भन्ने विषय अदालतले निर्धारण गर्नसक्ने । (प्रकरण नं.१५) § सँगठित अपराधलगायत अन्तर्राष्ट्रिय स्तरका अपराधीहरूको सूचना आदान–प्रदान गरी सदस्य राष्ट्रहरू बीच सहयोग आदान प्रदान गर्नको लागि स्थापना भएको इन्टरपोल प्रहरीहरूको अन्तर्राष्ट्रिय सँगठन भै संयुक्त राष्ट्रसंघको महासभाद्वारा यसलाई मान्यता दिइएको हुँदा अपराध अनुसन्धानका सम्बन्धमा यस निकायले दिएको तथ्याङ्कहरूलाई सहजै अन्यथा भन्न सकिने अवस्था नरहने । (प्रकरण नं.२८) § कुनै अभियोग लागेको अभियुक्तले कसूरसम्बन्धी कुरामा साविती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरु सो साविती वा इन्कारी वयानलाई कुनै आधारभूत, तथ्यपरक एवं निश्चयात्मक प्रमाणबाट समर्थित गराउन पर्ने । § कुनै प्रमाणविनाको इन्कारी वयान अर्थहीन र प्रयोजनहीन हुन्छ र यस्तोमा संकलित अप्रत्यक्ष प्रमाणलाई पनि निजका विरुद्ध अदालतले प्रमाणमा ग्रहण गर्नुपर्ने । § कुनै अभियुक्तले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी अन्यस्थल (Alibi) को जिकीर लिन्छ भने सो जिकीरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । यस्तो अन्य स्थल Alibi को जिकीर तथ्यपरक, निश्चयात्मक तथा लिखतको प्रमाणबाट समर्थित हुन सके मात्र सो जिकीर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुन सक्ने हुन्छ र सो जिकीर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकीर लिने व्यक्तिका विरुद्ध न