निर्णय नं. ८८०३ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८०३ - अंश चलन । भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/०८/२२ ४७३९ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं. ८८०३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय दे.पु.नं. २०६३-CI-०७३२ फैसला मितिः २०६७।८।२२।४ मुद्दा : अंश चलन । पुनरावेदक वादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ४ बस्ने बालकृष्ण श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. बस्ने श्रीकृष्ण श्रेष्ठको मृत्यु भई मुद्दा सकार गर्ने निजको श्रीमती रामेश्वरी श्रेष्ठ समेत शुरु निर्णयः मा.न्या.श्री प्रभा वस्नेत पुनरावेदन फैसलाः— मा.न्या.श्री केशवप्रसाद मैनाली मा.न्या.श्री जनार्दनबहादुर खड्का § शेषपछिको बकसपत्र गरिदिनेको मृत्यु भएको र सो लिखत बदर नभएको अवस्थामा त्यस्तो बकसपत्र स्वतः क्रियाशील भै बकसपत्र दिनेको अंश हक बकसपत्र पाउनेमा सर्ने । (प्रकरण नं.१०) § शेषपछिको बकसपत्र लिखत बदर नभएको स्थितिमा दाताको मृत्युपछि सो लिखत स्वतः क्रियाशील हुने हुँदा सो लिखतबमोजिम निजको हक भएको सम्पत्ति निजले दश रुपैयाँ दस्तूर तिरी रजिष्ट्रेशनको ३२क नं. बमोजिम जहिलेसुकै नामसारी दाखेल खारेज गराउन सक्ने । (प्रकरण नं.१३) § शेषपछिको बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति अन्य अंशियारका नाममा दा.खा. हुँदैमा सो सम्पत्तिको सगोलीय चरित्र र प्रकृतिमा कुनै भिन्नता नआउने । (प्रकरण नं.१४) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्तात्रय वसन्तराम भण्डारी, हरिहर दाहाल र शम्भु थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र विश्वकान्त मैनाली एवं विद्वान अधिवक्ताहरू गुरुप्रसाद वराल, सविता बराल र बालमुकुन्द श्रेष्ठ अवलम्बित नजीरः § नेकाप २०३२, नि.नं. ९२४, पृष्ठ २१८ § नेकाप २०५६, नि.नं. ६७२९, पृष्ठ ३९२ सम्बद्ध कानूनः § मुलुकी ऐन, दानबकसको ५ नं. § अंशबण्डाको १९ र १९(४)नं. § रजिष्ट्रेशनको ३२क नं. § अ.वं. १३९ § प्रमाण ऐन, २०३१ को दफा ६(क) फैसला प्र.न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी बालकृष्ण श्रेष्ठको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहायबमोजिम रहेको छ :— पिता तुल्सीनारायण श्रेष्ठको मिति २०४२।११।१ मा, सौतेनी आमा चिनीमाया श्रेष्ठको पहिलेनै र आमा चन्द्रकुमारी श्रेष्ठको मिति २०२९।८।२२ मा आफ्नै कालगतिले स्वर्गारोहण भइसकेको छ । दाजु तुल्सीकृष्ण श्रेष्ठले मालपोत कार्यालय, ललितपुरबाट मिति २०३५।२।१०, र.नं. ६९० को पारित छोडपत्रको लिखतबाट आफ्नो भाग हिस्सा लिई छुट्टी भिन्न भइसक्नु भएको छ । दाजु जयकृष्ण श्रेष्ठ पिता तुल्सीनारायण श्रेष्ठसँग चलेको अंश मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३९।१०।१२ मा भएको मिलापत्रबमोजिम विभिन्न घर जग्गाहरू अंशबापत लिई छुट्टी भिन्न भइसक्नु भएको छ । विपक्षी दाजु र म फिरादी समेतको विवाह दान भइसकेको छ । हामी वादी प्रतिवादी दाजुभाई बाहेक अंशबण्डा गर्नुपर्ने तथा विवाह खर्च पर सानुपर्ने कोही कुनै अंशियारहरू तथा परिवारहरू समेत रहेका छैनन् । अबण्डा सम्पत्ति हामी वादी प्रतिवादी दुवै जना दाजुभाइको नाममा संयुक्त दर्ता रहेको भए तापनि सम्पूर्ण सम्पत्ति विपक्षीले मात्र एकलौटी रुपमा लिई खाई आउनु भएको छ । सगोल गोश्वारा सम्पत्तिको आयस्ता भोगचलन गर्नबाट फिरादी बञ्चित भएर रहे