निर्णय नं. ८८०४ - जीउमास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८०४ - जीउमास्ने बेच्ने भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/०९/२७ ३७६४ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं. ८८०४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री तर्कराज भट्ट फौ.पु.नं. २०६७–CR–०१९१ फैसला मितिः २०६८।९।२७।४ मुद्दाः– जीउमास्ने बेच्ने । पुनरावेदक प्रतिवादीः जि. मकवानपुर, सरिखेत गा.वि.स. वडा नं. ६ घर भै हाल कारागार कार्यालय भीमफेदीमा कैदमा रहेको हरि मगर भन्ने तेजबहादुर रानामगर विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.श्री बालचन्द्र शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या.श्री तेजबहादुर कार्की § पीडितको मौकाको प्रमाणित बयानलाई अन्य प्रमाणहरूले सिलसिलाबद्ध रुपमा समर्थन गरेको अवस्थामा जीउमास्ने बेच्ने मुद्दाकी पीडितले अदालतमा उपस्थित भई बकपत्र नगरेको कारणले मात्रै सो घटना नभएको र त्यसमा संलग्न प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन नसक्ने । § जीउमास्ने बेच्ने जस्तो गम्भीर प्रकृतिको मुद्दामा पीडित व्यक्तिले मौकामा गरेको बयान प्रमाणित गराउनु पर्ने कानूनी व्यवस्थाको खास प्रयोजन र महत्व हुन्छ । सो कुरालाई नजरअन्दाज गरी केवल पीडितको बकपत्रलाई मात्र कसूर स्थापित गर्ने प्रमाणको रुपमा हेरिनुपर्छ भन्ने सूत्रवत् मान्यता राख्नु न्यायोचित् र विवेकसम्मत् हुन नसक्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, सन्तोष बस्नेत र तेजबहादुर कटुवाल प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § जीउमास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ३, ४(क) र ८(१) § मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ३(१) र ४(१)(क), १५ (१)(क) फैसला प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१२।२४ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छः– २०६२ साल चैत ६ गते स्कूल पढ्न गएकी मेरी कान्छी बैनी “बी. १४०”लाई हरि मगरले भगाई लगेका र ज्वाई बैनी समेत बेपत्ता भए भन्ने समेत व्यहोराको “सी १५०” को निवेदन । मेरो छोरी वर्ष १७ की “बी. १४०”लाई प्रतिवादीमध्येका तेजबहादुर राना मगरले विवाह गरी लगेका र निजै प्रतिवादी तेजबहादुर राना, राम लामा र राकेश लामा समेतले भारत आसामको वेश्यालयमा लगी बिक्री गरेका हुँदा प्रतिवादी तेजबहादुर राना मगरलाई पक्राउ गरी पेश गरेका छौं भन्ने समेत व्यहोराको “ए. १३०” को जाहेरी दरखास्त । प्रतिवादी तेजबहादुर राना मगरको डेरा कोठामा खानतलासी गर्दा ५ थान रेलको टिकट बरामद भएको भन्ने समेत व्यहोराको मुचुल्का । मैले २०६२ साल चैत्र ६ गते जाहेरवालाकी छोरी “बी. १४०” सँग लभ मेरिज गरी हेटौंडामा डेरा कोठा लिई बसेको अवस्थामा राम लामा, राजु लामासँग चिनजान भएको र निजहरूले केटी बेचेर पैसा कमाउनु पर्छ भनेको हुँदा मेरो श्रीमती “बी. १४०”लाई घुम्ने बहानामा साथमा लगी राकेश लामाको जिम्मामा भारत आसामको वेश्यालयमा पठाई म र राम लामा कांकडभिट्टामा आई बसेको अवस्थामा राम लामाको मृत्यु भएको भन्ने समेत व्यहोराको प्रतिवादी तेजबहादुर राना मगरको मौकामा भएको बयान । मेरो घरमा डेरा गरी बसेका तेजबहादुर रानाले श्रीमती “बी. १४०” बिरामी छन् मलाई रु.५,०००।– पैसा दिनुहोस् भनी फोन गरेका थिए ।