निर्णय नं. ७८०४ - रकम दिलाई पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८०४ - रकम दिलाई पाउँ । भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/११/२० ४७६० निर्णय नं.७८०४ ने.का.प.२०६४ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्वत २०६१ सालको दे.पु.नं.:१००८६ फैसला मितिः २०६३।११।२०।१ मुद्दाः रकम दिलाई पाउँ । पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी, भगवतपुर गाउँ विकास समिति वडा नं. ६ मा रहेको विजय ब्यापार केन्द्र राजविराज–८ सप्तरीका प्रोप्रार्ईटर विजय चन्द्र लाभ । विरूद्ध प्रत्यर्थी/वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ४ स्थित एभरेष्ट पेपर मिल्स प्रा.लि. जनकपुर । § वादी प्रतिवादीहरूको बीचमा भएको सम्झौता पत्र केवल सम्झौतापत्र मात्र हो, करार हो भन्नलाई करारमा हुनुपर्ने मुख्य ३ कुराहरू मध्येः करारीय दायित्व को कसले कसरी व्यहोर्ने, सम्झौताको परिपालन नभएमा कुन कानूनको प्रयोग हुने, सम्झौताबाट पक्षहरूको बीचमा दायित्व र अधिकार श्रृजना भएको छ वा छैन भन्ने जस्ता विषयहरू सम्झौतामा हेरिनु पर्दछ। यी पक्ष विपक्षीको बीचमा भएको सम्झौतामा दुवै पक्षको बीचमा कारोवार भई दायित्व र अधिकार श्रृजना भएको तर कानूनको परिपालना सम्बन्धमा केही उल्लेख नभएबाट प्रस्तुत सम्झौतालाई करार भन्न नमिल्ने । (प्रकरण नं. १९) § वादी प्रतिवादीहरूको बीचमा सम्झौता भई व्यापारिक कारोवार समेत भै सकेको अवस्थामा यदि सम्झौतामा कुनै विशेष कानून उल्लेख भई सोही कानून अनुसार उपचार प्रदान हुनेछ भन्ने व्यवस्था उल्लेख भएदेखि बाहेक लेनदेन व्यवहार सम्बन्धमा सामान्य कानून अन्तर्गत रहेको मुलुकी ऐनको लेनदेन व्यवहारको महलनै आकर्षित हुने । (प्रकरण नं. २०) § प्रतिवादी मध्येको विजय व्यापार केन्द्रका प्रोप्राइटर विजय चन्द्र लाभ उक्त संस्थाको संस्थापक भई संस्थाको प्रमुख उत्तरदायी व्यक्ति भएको, प्रतिवादी अनिल कुमार कर्ण विजय व्यापार केन्द्रको कर्मचारी भै व्यापार केन्द्रको प्रतिनिधिको रुपमा गरेको व्यापरिक कार्यबाट निजलाई नीजि रुपमा उत्तरदायी बनाउन नमिल्ने भएकोले प्रतिवादी अनिल कुमारले व्यक्तिगत हैसियतबाट कुनै काम नगरेको अवस्थामा व्यापार केन्द्रको नाममा रहेको उधारो रकम निजबाट समेत भराउने गरेको हदसम्मको शुरु जिल्ला अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. २२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता रत्नेश्वरप्रसाद शर्मा विपक्षी तर्फबाटः अवलम्बित नजीरः ने.का.प.२०४८ नि.नं. ४३५९ पृ.४९९ फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत जनकपुरबाट मिति २०५८।५।६ मा भएको फैसला उपर चित्त नबुझी प्रतिवादी पक्षबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– २. विपक्षी मध्येका विजय व्यापार केन्द्र तर्फबाट विपक्षी विजय चन्द्र लाभले यस उद्योगको तत्कालिन स्टाफ विपक्षी अनिल कुमार कर्ण मार्फत सेतो कागज किनबेचको व्यापार गर्ने क्रममा पटक–पटक गरी उधारो रकम र ट्रक भाडा समेत गरी रु. ३,९१,९४६।८८ लिनु भएकोमा रु. ७०,०००।– नगद बुझाउनु भएको र रु. १,५०,०००।– (एक लाख पचास हजार) रा.वा. बैंक जनकपुर शाखाबाट निज विजय व्यापार केन्द्रको परफरमेन्स वण्डबाट प्राप्त गरे पनि बाँकी हुने रु. १,७१,९४६।८८ विपक्षीलाई तिर्न बराबर टेलिफोन र पत्राचार गर्दा पनि तिरी भुक्तानी गर्नु भएन । तसर्थ विपक्षीले तिर्नु पर्ने साँवा रु. १,७१,९४६।८८ र विपक्षीले उधारो सामान लाँदा कवुल गरेको २४ प्रतिशत ले २०४९ साल आषाढ