निर्णय नं. ८९७९ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९७९ - बन्दीप्रत्यक्षीकरण भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०७०/०१/२३ ५०२१ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९७९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती रिट नं. ०६९–WH–००७२ आदेश मितिः २०७०।१।२३।२ विषयः बन्दीप्रत्यक्षीकरण । निवेदकः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. १३, जावलाखेल बस्ने समीर के.सी.को घरमा रहेकी नाबालिका छोरी वर्ष ५ की सिद्धिका के.सी. को हकमा ऐ.ऐ. घर भई हाल भक्तपुर जिल्ला, नलिञ्चोक वडा नं. ७ स्थित माइती घरमा बस्ने आमा सुनीता बिष्ट विरुद्ध विपक्षीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. १३, जावलाखेल बस्ने समीर के.सी. समेत § बालबालिकासँग सम्बन्धित बन्दीप्रत्यक्षीकरणका मुद्दामा अदालत विशेष रूपमा संवेदनशील हुनुपर्दछ र अदालत बाबु वा आमा वा अरू कसैको अहम्को पृष्ठपोषक बन्न नसक्ने । § बालबालिकाहरूको अभिभावकबीचको विवादमा अदालतले बालमनोविज्ञानको कसीमा सम्बन्धित बालबालिकाको सर्वोत्तम हितलाई नै न्यायको आधार बनाउनु पर्ने । § बालबालिकाको हितसँग सम्बन्धित मुद्दाका हकमा बालन्यायप्रणालीका आधारभूत मान्यतालाई अवलम्बन गर्नैपर्ने । (प्रकरण नं.२) § पति–पत्नीका बीचको सम्बन्धमा देखिएको समस्याको प्रभाव नाबालिग छोराछोरीमा समेत पर्ने अवस्था देखिएकोमा त्यसको क्षति कसरी नियन्त्रण गरी न्यून गर्न सकिन्छ भन्ने कुराको खोजी नै बाल न्याय प्रणालीको मर्म हो । बाबु आमाका बीचको सम्बन्धबाट उत्पन्न हुने समस्याको दुष्प्रभाव नाबालिग छोराछोरीमा पर्न दिन नहुने । (प्रकरण नं.५) § बालबालिहरू आफ्नो परिवारका सदस्यहरूमध्ये कोसँग रमाउँछन्, कोसँग खुशी हुन्छन्, कोसँग बस्दा उनीहरूलाई सुविधा हुन्छ, उनीहरूको भविष्य कसरी उज्ज्वल हुन्छ, उनीहरूको पालनपोषण, शिक्षा, स्वास्थोपचार र मनोरञ्जनको पक्ष कसबाट प्रभावकारी बन्दछ भन्ने जस्ता विषयको मूल्याङ्कन नगरी एकाङ्गीढंगले निर्णयमा पुग्दा बालबालिकाको भविष्यका सम्बन्धमा त्यो झनै प्रत्युत्पादक पनि हुन सक्दछ । त्यसैले यस्ता विषयमा सम्बन्धित बालबालिकाको सर्वोत्तम हितको पक्षलाई साङ्गोपाङ्गो रूपमा हेरी समन्यायिक दृष्टिकोणबाट निष्कर्षमा पुग्नु अपरिहार्य हुने । (प्रकरण नं.९) § कसैको व्यक्तिगत स्वार्थ, अहम् र आत्मसन्तुष्टिका लागि अबोध बालबालिकालाई प्रताडीत गरिनु हुँदैन । बालबालिकाको भविष्यसँग राष्ट्रको भविष्य गाँसिएको हुँदा त्यस्तो संवेदनशील विषयलाई हल्काढंगले ग्रहण गरी उनीहरूको हितको पक्षलाई वेवास्ता गरिँदा त्यसले पार्ने असर अत्यन्त भयावह हुन सक्दछ । त्यसैले यो विषयलाई एउटा व्यक्ति र एउटा परिवारभित्रको समस्या मात्र मानेर पञ्छिनु न्यायोचित् नहुने । (प्रकरण नं.१०) § नाबालिकालाई आफ्नी आमाबाट पूर्णतः अलग राखिँदा निजको कलिलो मष्तिष्कमा पर्नसक्ने नकारात्मक प्रभावका प्रति अदालत निस्पृह बस्न नमिल्ने । § बालिका बाबुकी आमा अर्थात् हजुरआमाको साथमा खुशीसाथ रहेको देखिएपनि निजमा आफूलाई जन्मदिने आमासँगको सामीप्यता र बात्सल्यताबाट बञ्चित हुनु परेको पीडाबोध थिएन भनी स्वतः अनुमान गरिनु बालमनोविज्ञानका दृष्टिले न्यायोचित् नहुने । (प्रकरण नं.१२) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय मीरा ढुंगाना र सुषमा गौतम विपक्षी तर्फबाटः विद्वान अधिवक्ता सुरेन्द्रकुमार खड्का अवलम्बित नजीरः § नेकाप २०६८, मङ्सिर, नि.नं. ८६७४, पृ. १४१२ § नेकाप २०६१, असोज, नि.नं. ७३८९, पृष्ठ ६७६