निर्णय नं. ८९८० - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९८० - उत्प्रेषणयुक्त परमादेश भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०६९/०९/२९ २५११ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ ०६८–WO–०९४१ आदेश मिति : २०६९।९।२९।१ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः साविक ताप्लेजुङ्ग जिल्ला थुम्वेदिन गा.वि.स.वडा नं २ हाल झापा जिल्ला सतासीधाम गा.वि.स.वडा नं. ७ बस्ने गोपालकुमार अधिकारी विरूद्ध विपक्षीः निजामती किताबखाना ललितपुर समेत § निजामती किताबखानाको अभिलेख समेतबाट उमेर ५० वर्ष पुगेको नदेखिएकोले निजामती सेवा ऐनमा उल्लिखित शर्त पूरा गरी निवेदन दिएका बखत कानूनबमोजिम हुने नै हुँदा कानूनमा भएको व्यवस्था विपरीत अवकाश पत्रअनुसार एक श्रेणीमाथिको सुविधा दिनु दिलाउनु भनी अहिले नै आदेश प्रदान गर्न नमिल्ने । (प्रकरण नं.५) § निर्णय कार्यान्वयन भएमा मात्र त्यसले सार्थकता पाउँछ । नत्र त्यसको अर्थ हुँदैन । एकै साथ बढुवा गरी राजीनामा समेत स्वीकृत गरेको अवस्थामा बढुवा गर्न उमेर नपुगेका कारण बढुवा कार्यान्वयन हुन नसकेको बढुवालाई छाडी राजीनामा मात्र कार्यान्वयन गर्छु भन्न कानूनतः मिल्दैन । बढुवा कायम नहुने तर राजीनामा भने स्वीकृत हुने भनी आंशिक निर्णय कायम राख्न उचित र विवेकसम्मत समेत नदेखिने । (प्रकरण नं.६) § आफूले बढुवा पाउँछु भनेर राजीनामा दिएको तर कानूनी व्यवस्थाको कारण अन्ततः बढुवा नहुने भएपछि सेवाको निरन्तरताको लागि गएकोमा राजीनामा मात्र स्वीकार र कार्यान्वयन गर्छु भन्न नमिल्ने । § एउटै राजीनामा पत्रमा उल्लिखित आफू प्रतिकूलका कुरा लागू नगर्ने तर आफू अनुकूलका कुरा मात्र पालन गर्ने, कार्यान्वयन गर्ने गरी राजीनामा बदर गर्न नमिल्ने भनी निर्णय गरेकाले निवेदकलाई सेवामा निरन्तरता दिन नमिल्ने गरी भएको निर्णय कानूनसम्मत नदेखिने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विद्वान अधिवक्ता हरिप्रसाद उप्रेती प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता विनोदकुमार पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § निजामती सेवा ऐन, २०४९ को दफा २०क(२) आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– म निवेदक नेपाल कृषि सेवाको राजपत्र अनङ्कित द्धितीय (प्रा) स्टक सुपरभाईजर पदमा मिति २०४३।८।१० मा सेवा प्रवेश गरी राजपत्र अनङ्कित प्रथम श्रेणीको ना.सु.(प्राविधिक) पदमा बढुवा भएको थिएँ । मेरो उमेर ५० वर्ष पूरा भएको र नोकरी अवधि करिब २५ वर्ष पुगेको तथा राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा कार्यरत रहेको अवधि पनि १५ वर्षभन्दा बढी भएकोले निजामती सेवा ऐनको दफा २०क (२) बमोजिम एक तह माथिको पदमा बढुवा लिई स्वेच्छिक अवकाश लिने इच्छा भएकोले सोही व्यहोरा उल्लेख गरी मैले राजीनामा दिएकोमा मिति २०६८।४।१० को निर्णयानुसार एक तह माथिको राजपत्राङ्कित तृतीय श्रेणीको पशु विकास अधिकृत पदमा बढुवा गरी मिति २०६८।२।१८ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत भएको जानकारी पशु सेवा विभागको मिति २०६८।४।२३ को पत्रबाट मलाई गराइएको थियो । तत्पश्चात् मेरो पेन्सन पट्टा बनाइदिनको लागि पशु सेवा विभागले निजामती किताबखानालाई अनुरोध गरेकोमा निजामती किताबखानाले म निवेदकको उमेर ५० वर्ष पूरा नभएको कारण देखाई एक तहमाथिको पदको सुविधा प्रदान गर्न नसकिने भनी विभागलाई सम्बोधन गरी