निर्णय नं. ७८३२ - हक निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८३२ - हक निखनाई पाउँ भाग: ४९ साल: २०६४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६४/०३/०७ ४०५४ निर्णय नं.७८३२ ने.का.प.२०६४ अङ्क ४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी संबत् २०५८ सालको दे.पु.नं. .......८५६३ फैसला मितिः २०६४।३।७।५ मुद्दाः हक निखनाई पाउँ । पुनरावेदक वादीः लमजुङ जिल्ला कुन्छा गा.वि.स.वडा नं. २ बस्ने राममणी गौली विरूद्ध विपक्षी प्रत्यर्थीः तनहुँ जिल्ला रुपाकोट, गा.वि.स. वडा.नं.७ बस्ने शेरबहादुर गुरुङ § एउटै कित्ता अंशवण्डाको प्रयोजनको लागि वाँडफाँड हुँदा साँध सिमाना नजोडिने भन्ने अवस्था रहदैन । तर, साँध सिमाना जोडिएकै एकमात्र आधार कारणले सन्धीसर्पन परेको मान्न नसकिने। (प्रकरण नं.१४) § सन्धीसर्पनको सम्बन्धमा लेनदेन व्यावहारको ११ नं. ले परिभाषा नगरेपनि त्यस्तो स्थान ठाउँलाई मान्नुपर्ने हुन्छ जुन ठाउँ, स्थानको उपयोग र प्रयोग बिना त्यससँग सम्बन्धित अर्को ठाउँ विशेषको उपयोग हुदैन । सन्धिसर्पनका लागि एउटा जग्गा नभइ अर्को जग्गामा आवत जावत निकास बाटो बन्द हुनु वा पानी लाने लगाउने खेती लगायतका अन्य कार्य गर्न नपाउने हुनु पर्दछ । एउटा जग्गाको उपयोग र उपभोग अर्को जग्गामा पुर्णतया निर्भर रहेको हुनुपर्ने । (प्रकरण नं.१६) § खेतीयोग्य जग्गाको हकमा दुई जग्गा वा कित्ताको साँध जोडिदैमा एक अर्काको सन्धिसर्पन पर्ने भनी सम्झन वा अर्थ गर्न मिल्दैन । साथै त्यसले भोग बिक्री समेत गर्न पाउने सम्पत्ति सम्बन्धी अधिकारलाई सीमित गरेको समेत अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१६) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता राममाया लामिछाने विपक्षी प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता वालकृष्ण न्यौपाने अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पोखराको २०५९।१।३० को फैसला उपर वादीको यस अदालत समक्ष पर्न आएको पुनरावेदन यसै अदालतको अधिकार क्षेत्र पर्ने हुँदा मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– २. विपक्षी शेर बहादुरको दाता चन्द्रमणी गौली र राममणी गौली हामी सबै बाबु आमा चुडामणी गौली र नारायणी गौलीका सन्तान हुन् । चन्द्रमणी गौली र राममणी गौली बीच अंशवण्डा हुँदाका बखत दावीको जग्गा तनहुँ जिल्ला रूपाकोट गा.वि.स.वडा नं. ७ (क) को कि.नं. २ कित्ताकाट गरी राममणी गौलीका नाउँमा कि.नं. ३७ को क्षेत्रफल ५–७–०–० र चन्द्रमणी गौलीका नाउँमा कि.नं.३८ क्षेत्रफल ५–७–०–० कायम मै दा.खा.भै आफ्नो नाउँमा जग्गाधनि प्रमाण पुर्जा समेत लिई भोग चलन गर्दे आएकोमा हाल दाजु भाई एक अर्काको नजिकको हकवाला समेत रहेको र सन्धीसर्पन समेत पर्ने जग्गा राममणी गौलीलाई थाहा जानकारी समेत नदिई उक्त कि.नं.३८ को जग्गा राममणी गौलीलाई प्रतिकूल असर पर्ने गरी विपक्षीले २०५५।८।२२ मा मुल्य रु ७०,०००।– राखी र नं.१२५२ को राजिनामाको लिखत रजिष्ट्रशन पारित गरी दिए लिएको कुरा २०५६।२।१८ मा थाहा पाइ थैली र रजिष्ट्रेशन दस्तुर बुझी निखन्न दिनुहोस भन्दा नमानी २०५६।२।२० मा मालपोत कार्यालय तनहुँमा फिराद गरी सन्धीसर्पन नपर्ने भनि निखनार्ई हकसफा गरी दिन मंजुर छैन भनि प्रतिवाद गरी मालपोत कार्यालय तनहुँबाट हकवाला सन्धीसर्पन पर्ने राममणीलाई हक सफा गरी नदिइ मुलुकी ऐन रजिष्ट्रेशनको महलको ३५ देहाय २ बमोजिम जिल्ला अदालतमा जानु भनि मिति २०५७।३।२६ मा सुनाई फैसला गरेकाले लेनदेन व्यवहारको ११,१६ र ३८ नं. समेतको मागदावी लिई आएको छु