निर्णय नं. ७८४७ - अग्नी बिमादावी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८४७ - अग्नी बिमादावी भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/११/२१ ३५०६ निर्णय नं.७८४७ ने.का.प.२०६४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत् २०६२ सालको दे.पु.नं. ... ८६६९ फैसला मितिः २०६३।११।२१।२ मुद्दा :- अग्नी बिमादावी । पुनरावेदक प्रतिवादीः: रामशाहपथ काठमाण्डौ स्थित राष्ट्रिय बिमा संस्थानको अख्तियार प्राप्त मुरारी रेग्मी विरूद्ध प्रत्यर्थी वादीः कैलाली जिल्ला हसुलीया गा.वि.स.स्थित हरिशंकर गल्ला भण्डारक प्रोप्राइटर हरी शंकर ठाकुर § अन्तरिम कभरनोटको बिमा कभर गरिएको व्यहोरामा यस कभरनोट अन्तर्गत अग्नी अतिरिक्त हुलदंगा, द्धेषपूर्ण कार्य र आतंकवादबाट विमितको क्षति भएमा समेत थप सुरक्षण प्रदान गरिनेछु भन्ने व्यहोराबाट अग्नीका कारण भएको क्षति मात्र व्यहोरिने भनी अर्थ गर्न नमिल्ने। § अन्तरिम कभरनोट बिमा गराएपछि गराइएको बिमाको बिमा लेख विमितलाई दिनुपर्ने कर्तव्य र बिमा गराउँदाको अवस्थामा भएको शर्त अनुसार बिमा गराइएको वस्तुको सुरक्षण प्रदान गर्नुपर्ने दायित्व राष्ट्रिय बिमा संस्थानको हुने । (प्रकरण नं.२०) § बिमा गराइएको वस्तुको क्षति भएको अवस्थामा क्षति वापतको रकम भुक्तानी दिनुपर्ने दायित्व भएको राष्ट्रिय बिमा संस्थान जस्तो निकायले आतंकवादको सम्बन्धमा बिमा लेख जारी नभएको भनी बिमाको अन्तरिम कभरनोट मार्फत सुरक्षण प्रदान गरेको आतंकवाद वापतको जोखिमका सम्बन्धमा रकम भुक्तानी गर्नबाट पन्छिन नहुने । (प्रकरण नं.२१) § आतंकवादी समूहले लुटपाट गरी दिएको र बिमा वापत प्रिमियम समेत बुझाएको अवस्थामा आतंकवादबाट भएको चोरी लुटपाटको सम्बन्धमा बिमा गरेको छैन र आतंकवादको बिमालेख जारी भएको छैन भन्ने राष्ट्रिय बिमा संस्थानको भनाइसँग सहमत हुन नसकिने । (प्रकरण नं.२२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुँवर प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता नविनकुमार वर्मा अबलम्वित नजीरः फैसला न्या. मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार पर्न आएको निवेदनमा निस्सा प्रदान भै पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- २. मिति २०५९।१।६ गते साँझ ७।८ को बीचमा हतियारधारी हज्जारौंको संख्यामा आएका आतंककारी जत्थाले मेरो गोदाम समेत कव्जा गरी ३५८० बोरा धान मोटो बोरा जवरजस्ती लगेको हुँदा दोषीबाट जिन्सी धनमाल फिर्ता गराई उक्त दुर्घटना भएको व्यहोरा प्रमाणित गराई दिनु हुन अनुरोध भन्ने समेत व्यहोराको हरिशंकर गल्ला भण्डारका प्रो.हरी शंकर ठाकुरले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय धनगढीमा पेश गरेको मिति २०५९।१।८ को छुट्टाछुट्टै निवेदन पत्र । ३. हरीशंकर गल्ला भण्डार र सहकारी संस्थाको गोदाम घरमा रहेको ३५८० बोरा मोटो धान मूल्य रु.१८,८०,०००।– बराबरको गल्ला ०५९।१।६ गते साँझ ८,९ बजे तिर माओवादीले आक्रमण गरी लगेर गएको व्यहोरा प्रमाणित गरिन्छ भन्ने हसुलिया गा.वि.स.कार्यालय कैलालीले दुर्घटना प्रमाणित गरी दिएको पत्र । ४. २०५९।१।६ गते राती ७.८ बजे आतंककारी समुहले जवरजस्ती गोदाममा प्रवेश गरी हरीशंकर ठाकुरको स्वमित्वमा रहेको साझा सहकारी गोदामबाट जाहेरीमा उल्लेखित धान मोटा ३५८०।– बोरा लुटीलगेको व्यहोरा प्रमाणित गरिन्छ भन्ने जिल्ला प्रहरी कार्यालय कैलाली धनगढीको मिति २०५९।१।२१ को पत्र । ५. राष्ट्रिय बिमा संस्थान धनगढी शाखाबाट मिति डिसेम्बर ६,२००१ देखि लाग