निर्णय नं. ७८७९ - उत्प्रेषणयुक्त परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८७९ - उत्प्रेषणयुक्त परमादेश समेत भाग: ४९ साल: २०६४ महिना: पौस अंक: ९ फैसला मिति :२०६४/०६/२१ ३०८७ निर्णय नं. ७८७९ ने.का.प. २०६४ अङ्क ९ सर्वोच्च अदालत संयुक्त ईजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०६० सालको रिट नं. –– ३३८० आदेश मितिः २०६४।६।२१। विषय :- उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः जि.रूपन्देही शंकर नगर गाउँ विकास समिति वडा नं. ९ बस्ने रोहितराज क्षेत्री समेत विरुद्ध विपक्षीः नेपाल सरकार, स्वास्थ्य मन्त्रालय रामशाहपथ, काठमाडौं समेत § आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ को दफा ५.१ ले दर्ता नभएका चिकित्सकले व्यवसाय गर्न नपाउने भन्ने व्यवस्था गरी उपदफा ५.१.१ मा यो ऐन प्रारम्भ भएपछि दर्तावाला चिकित्सकले बाहेक अरू कसैले चिकित्साको व्यवसाय गर्न पाउने छैन भन्ने उल्लेख भएको पाईँदा ऐन प्रारम्भ भएपछि परिषद्‌मा दर्ता नभईकन आर्यूर्वेद चिकित्सा सम्बन्धी पेशा र व्यवसाय गर्न नमिल्ने । (प्रकरण नं.१४) § आयुर्वेद चिकित्सा परिषद् नियमावली, २०५८ को नियम २.३(२) मा उप नियम १ बमोजिम छानविन गर्दा कुनै कुरा अस्पष्ट हुन आएमा तत् सम्बन्धी कुराहरू स्पष्ट पार्नको लागि सम्बन्धित दर्खास्तवालासँग नाम दर्ता समितिले आवश्यक प्रमाण तथा कागजात माग गर्न सक्ने । (प्रकरण नं.१६) § विवादित उपाधी वा प्रमाणपत्र तथा सो जारी गर्ने संस्था तथा निवेदकहरूको निमित्त चाहिने योग्यताको कुनै परिक्षण नै नगरी कसैले मान्यता दिएको छ वा छैन भन्ने आधारमा मात्र निर्णय गर्दा त्यसबाट युक्तियुक्तता नझल्किनुका साथै त्यसबाट तत्काल प्रचलित कानूनले सिर्जना नगरेको अयोग्यता पछिबाट सिर्जना गरी कानून बमोजिम सामान्य व्यवहारको स्वच्छताको प्रत्याभूतिसम्म पनि दिन नसकेको अवस्था देखिने । (प्रकरण नं.१७) § निवेदकहरूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरूको सम्बन्धमा तत्काल प्रकाशित सूचना र कानून बमोजिम निवेदकहरूलाई प्राकृतिक न्यायको सिद्धान्त समेतको आधारमा प्रतिवाद गर्ने मौका समेत दिई पेश हुन आएको शैक्षिक योग्यताको प्रमाणपत्रको सम्बन्धमा निर्णय गर्नु भनि विपक्षीको नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१९) निवेदक तर्फबाट : विद्वान अधिवक्तात्रय श्री शम्भु थापा, श्री वल्लभ बस्नेत र श्री केदार ढकाल विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्वित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छ :- २. हामी निवेदकहरूले आयुर्वेद शास्त्री स्नातक आयुर्वेदाचार्य उत्तीर्ण गरी पेशा व्यवसाय शुरु गर्दा आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ पूर्ण रूपले लागू भै नसकेको तथा आयुर्वेद चिकित्सा नियमावली, २०५८ वनी नसकेकोले हामीले आफ्नो पेशा, व्यवसाय निजी रूपले सञ्चालन गरी आएका थियौं । हामी निवेदकहरूको पेशा व्यवसायका सम्बन्धमा विपक्षी निकायले हामीलाई जानकारी गराएको पत्रमा उल्लेख गरेको वतनबाटै प्रष्टिन्छ । यसैबीच मिति २०५८।५।१४ मा आयुर्वेद चिकित्सा परिषद् नियमावली,२०५८ लागू भएको र उक्त नियमावली लागू भए पश्चात सम्पूर्ण आयुर्वेद चिकित्सा एवं व्यवसायीले आयुर्वेद चिकित्सा परिषद्‌मा नाम दर्ता गराउनु पर्ने व्यवस्था भए बमोजिम प्रत्यर्थी आयुर्वेद चिकित्सा परिषद्बाट २०५९।५।१६ सम्ममा नाम दर्ताको लागि दर्खास्त दिने सूचना प्रकाशित भएको थियो । प्रत्यर्थी परिषद्बाट प्रकाशित