निर्णय नं. ८८०८ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८०८ - उत्प्रेषण, परमादेश भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/०१/०३ ६२०७ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं.८८०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६४-WO-०६८२ आदेश मितिः २०६९।१।३।१ बिषय :– उत्प्रेषण, परमादेश । निवेदकः का जि.का.म.न.पा.३ लाजिम्पाट स्थित एभरेष्ट बैंक लिमिटेड, प्रधान कार्यालयको तर्फबाट अख्तियारप्राप्त प्रमोदराज शर्मा विरुद्ध विपक्षीः ऋण असूली पुनरावेदन न्यायाधिकरण समेत § प्रतीतपत्रअनुसारको सामानहरू बिक्रीकर्ताले खरीदकर्तालाई हस्तान्तरण गर्ने क्रममा ढुवानीकर्तालाई बुझाएको लिखत (Bill of Lading, Airway bill etc.) र प्रतीतपत्रमा निर्धारित अन्य लिखतहरू बिक्रीकर्ताले प्रतीतपत्र खोल्ने बैंकलाई बुझाएपछि सोको सामान्य परीक्षणको आधारमा प्रतीतपत्र खोल्ने बैंकले उक्त सामानको मूल्य बिक्रीकर्तालाई भुक्तानी गर्ने दायित्व शुरु हुन्छ । यो दायित्व बैंकले कसरी पूरा गर्ने भन्ने कुरा प्रतीतपत्र खोल्दाको समयमा बैंक र ऋणी अर्थात् प्रतीतपत्र खोल्न निवेदन दिने व्यक्ति फर्म वा कम्पनीबीच निर्धारित शर्तमा भर पर्ने । (प्रकरण नं.१०) § शर्तअनुरूप प्रतीतपत्रमा उल्लिखित सामानको मूल्य बिक्रीकर्तालाई बुझाएको प्रमाण र उक्त मूल्य बराबरको रकम ऋणीको ऋण खातामा बुक गरिएपछि ऋणीको नाममा ट्रष्ट रिसिप्ट कर्जा कायम भएको मानिन्छ । प्रतीतपत्र खोल्ने बैंकले प्रतीतपत्रअनुसारको सामानको मूल्य बिक्रीकर्तालाई बुझाएको प्रमाण र सो रकम ऋणीको ऋण खातामा बुक गरिएको कुरा बैंकले नियमित रुपमा राखेको बही खाताबाट देखिएको अवस्थामा ऋणीको नामको टि.आर. (ट्रष्ट रिसिप्ट) कर्जा कायम छ भन्ने कुराको प्रमाणको रुपमा मान्यता दिनुपर्ने । § प्रमाण ऐन, २०३१ को दफा १४ अनुसार अभिलेख वा बैंकले नियमित कारोवारको सिलसिलामा ऋणीको खातामा ऋण जनाएको बिवरणलाई नै ऋणीले बैंकबाट ऋण लिएको कुराको प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । यसैले टि.आर. (ट्रष्ट रिसिप्ट) कर्जाको सम्बन्धमा अन्य कुनै थप लिखत वा प्रमाणको आवश्यकता नपर्ने । (प्रकरण नं.११) § प्रतीतपत्रमा निर्धारित शर्तअनुरूप ऋणी फर्मको तर्फबाट सामानको बिक्रीकर्तालाई बैंकले सामानको मूल्य भुक्तानी गरेको प्रमाणित भएपछि सोही आधारमा सामान प्राप्त गर्ने फर्मले बैंकबाट टि.आर कर्जा प्राप्त गरेको निर्विवाद प्रमाण मानिने हुँदा सोही कर्जाको बारेमा पुनः अर्को नयाँ लिखत हुनुपर्दछ भन्ने कुरा प्रतीतपत्रको प्रक्रियाबाट हुने भुक्तानी प्रक्रियाको मान्य प्रचलन र करारसम्बन्धी प्रचलित नेपाल कानूनको समेत विपरीत हुने । (प्रकरण नं.१४) निवेदकका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मी अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवं १०७(२) § वैंक तथा वित्तीय संस्थाको ऋण असूली ऐन, २०५८ को दफा १९ आदेश न्या.भरतराज उप्रेतीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– घरेलु तथा साना उद्योग कार्यालय मोरङ्ग विराटनगरमा प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम प्रा.फ.नं.४३१४।०५४।०५५ मा दर्ता भएको प्रत्यर्थी के.वि.यु.जेनिथको प्रो.प्रत्यर्थी लता झुनझुनवालाले तत्काल बहाल रहेको वाणिज्य बैंक ऐन, २०३१ तथा बैंकको प्रवन्धपत्र र