निर्णय नं. ७८८२ - नागरिकता कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८८२ - नागरिकता कीर्ते भाग: ४९ साल: २०६४ महिना: पौस अंक: ९ फैसला मिति :२०६४/०८/०६ ७८३७ निर्णय नं.७८८२ ने.का.प. २०६४ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत २०६१ सालको फौ.पु.नं. ३४८८ फैसला मितिः २०६४।८।६।५ विषय :- नागरिकता कीर्ते । पुनरावेदक / वादीः रौतहट जिल्ला सरमजुवा गा.वि.स.वार्ड नं.१ बस्ने नारायणप्रसाद कलवारका जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी / प्रतिवादीः भारत जि.पूर्वीचम्पारण थाना पलनवा ग्राम लौकरिया घर भै हाल जिल्लारौतहट सरमुजवा गा.वि.स. वडा नं.१ बस्ने रामलालप्रसाद चौधरी समेत § झुट्ठो विवरण पेश गरी लिएको नागरिकता सरकारले रद्ध गर्न सक्ने र झुट्ठा विवरण पेश गरी नागरिकता प्राप्त गर्ने गराउनेलाई कसूर अनुसारको सजाय गर्ने विषय एउटै होइन। यी फरक फरक रूपमा प्रयोग हुने कानूनी व्यवस्थाहरू हुन् । § झुट्ठा विवरण लिई नागरिकता लिएको हुँदा सजाय गरिपाऊँ भनी फौज्दारी कसूरको दावी गरी अभियोग पत्र दायर भएको अवस्थामा कानून बमोजिमको सवुद प्रमाणबुझी सो को वस्तुगत विश्लेषण गरी दावी बमोजिम हुने हो होइन भनी निर्णय गर्नका लागि सरकारले नागरिकता रद्ध गरे नगरेको भन्ने विषयले असर पर्दछ भन्न नमिल्ने । § नेपाल नागरिकता ऐन, २०२० को दफा १०(३क) र १५ अलग अलग रूपमा अलग अलग निकायबाट स्वतन्त्र रूपमा प्रयोग हुन सक्ने कानूनी व्यवस्थाहरू हुन् । वस्तुतः विवादित काम कसूरजन्य हो वा होइन भन्ने कुरा मुद्दाको रोहबाट निरूपण हुने । § सरकारले कुनै काम गरे वा नगरेका आधारमा कुनै पनि अपराध र सजाय निर्धारित हुने होइन । हाम्रो नागरिकता ऐनले झुट्ठा विवरण पेश गरी लिएको नागरिकता रद्द नभई कसूर कायम नहुने भनी कतै उल्लेख गरेको छैन । नागरिकता रद्द गर्ने विषय सरकारको क्षेत्राधिकार भित्रको हो भने झुट्ठा विवरण पेश गरी नागरिकता प्राप्त गरे गराएको सम्बन्धी विवादको निरूपण गरी कसूर ठहर्ने नठहर्ने, सजाय हुने नहुने भन्ने विषय अदालतको क्षेत्राधिकार भित्रको विषय हुने । § आफ्नो क्षेत्राधिकार भित्र परेको विषयलाई तर्कसंगत र वस्तुगत आधारमा कानूनद्धारा निर्धारण गरेको प्रकृया पूरा गरी टुंगो लगाउनु अदालतको दायित्व भित्रै पर्ने । (प्रकरण नं.६) पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्धान उपन्यायाधिवता श्री रेवती त्रिपाठी प्रत्यर्थी प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः फैसला न्या. बलराम के.सी. शुरु रौतहट जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौडाको फैसला उपर मुद्दा दोहोर्‍यार्इ पाऊँ भनी परेको निवेदनमा निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ:- विदेश भारत जिल्ला पूर्वीचम्पारण थाना पलनवा पंचायत लोकरिया गाउँ लोकरिया डिवनी टोल बस्ने रामलाल साह चौधरी कलवारले २०५२ साल असोज महिनामा रौतहट जिल्ला सरमुजवा गा.वि.स.वार्ड नं.१ का गा.वि.स.सदस्य रामदेव महतो सोही गा.वि.स.का अध्यक्ष रामलोचन चौधरी कलवार र गा.वि.स.सचिव विन्देश्वर साह कल्वार समेतलाई आफ्नो प्रभावमा पारी अनुचित सिफारिस गराई जिल्ला प्रशासन कार्यालय,रौतहटबाट मिति २०५२।६।१० मा नागरिकता नं.२५५८ कायम गराई जन्मसिद्ध नागरिकता लिन सफल भए । जबकी निज रामलाल साह रक्सौल निर्वाचन क्षेत्र पूर्वी चम्पारण लोकरिया गाउँबाट रामलाल साह कलवारले नेपालमा आई लिइएको नागरिकता बदर गरी पाउन निज रामलाल साहको नाम भारतीय विधानसभाको मतदाता नामावलीमा न