निर्णय नं. ७८८४ - बहुविवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८८४ - बहुविवाह भाग: ४९ साल: २०६४ महिना: पौस अंक: ९ फैसला मिति :२०६४/०४/२८ ४५७२ निर्णय नं. ७८८४ ने.का.प. २०६४ अङ्क ९ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०५७ सालको फौ.पु.नं. ––२७४४ फैसला मितिः २०६४।४।२८।२ मुद्दाः बहुविवाह । पुनरावेदक वादीः जिल्ला झापा हल्दीबारी गा.वि.स. वडा नं १ बस्ने नरेन्द्रकुमार कटुवालको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला झापा हल्दीबारी गा.वि.स. वडा नं. १ बस्ने कुमार थपलिया शुरु फैसलाः मा.न्या.जनार्दनबहादुर खड्का पुनरावेदन फैसलाः मा.का.मु.न्या. श्री राजेन्द्रकुमार भण्डारी मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की § ऐनमा जे लेखिएको छ, प्रत्येक नागरिकले त्यसको पालन गर्नु पर्छ । ऐनमा प्रयुक्त शब्द र भाषा स्पष्ट छन् भने तिनको अन्यथा ब्याख्या गर्ने ठाउँ रहँदैन । कुनै व्यक्तिले आफ्नो सुबिधा अनुसार कानूनको भाषा र मनशाय विपरीत प्रयोग गर्न हुँदैन । अदालतले पनि कानूनका स्पष्ट शब्द र भाषालाई सोही अनुरूप समान ढंगबाट प्रयोग गर्नुपर्छ । त्यस्तोमा औचित्य र आवश्यकतानुसार एउटै शब्दको अलग अलग ढंगबाट वा असमान प्रयोग हुने गरी भिन्ना भिन्नै अर्थ र ब्याख्या गर्न नहुने । (प्रकरण नं.२३) § बिहावारीको महलको ९ नं. ले स्वास्नी मानिसले अंश मुद्दा दायर गर्दैमा लोग्नेले अर्को विवाह गर्न पाउने छूट दिएको छैन । “अंश लिई भिन्न बसेको” भन्नु “मानो छुट्टिएको” वा अदालतमा अंश मुद्दा परेको भनी कदापि हुन सक्दैन । यदि अंश मुद्दा परेको छ भने अंश पाउने ठहरी भएको फैसला कार्यान्वित भएर अंश छुट्याई सकेपछि मात्र त्यस्ती स्वास्नीले “अंश लिई भिन्न बसेको” भन्न र मान्न सकिन्छ । त्यो भन्दा अगाबै अर्को पक्ष अर्थात लोग्नेको सुविधा र पारिवारिक वा अन्य आवश्यकतालाई औचित्यको मापदण्ड बनाएर “अंशमा नालिश परेको” वा त्यसै “अलग बसेको” वा “मानो छुट्टिएर अलग बसेको” अवस्थालाई अंश लिई भिन्न बसेको भनेर मान्न वा बिहावारीको ९ नं. को बिस्तारित ब्याख्या गर्न नामिल्ने । § घरमा जेठी श्रीमती हुँदाहुँदै दोश्रो विवाह गरी बिहावारीको ९ नं. को कसूर गरेको भनी अंश मुद्दा दायर गरेकोलाई भिन्न बसेको भनी ब्याख्या गरी शुरु जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई सफाई दिएको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं.२४) पुनरावेदक वादी तर्फबाट : विद्वान न्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र तेजनाथ धमला अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उप दफा १ को खण्ड (ग) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्रको भै पुनरावेदन अदालत, इलामको मिति २०५७।१।६।३ को फैसला उपर वादी नेपाल सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– २. कुमार थपलियाले मेरी छोरी सरस्वती थपलियालाई २०४६।११।२२ गते विवाह गरी लगेका थिए, कान्छी श्रीमती विवाह गरी चन्द्रगढी–७ मा डेरा गरी बसेको ठाउँमा २०५१।६।१ गते भित्र्याएको थाहा पाएकोले सजाय गरिपाऊँ भन्ने मिति २०५१।६।४ को जाहेरी दर्खास्त । ३. कुमार थपलियासँग विवाह भई एक छोराको जन्म भई सकेको छ, मेरो श्रीमानले अर्को श्रीमती भित्राएको कुरा २०५१।६।१ मा थाहा पाएकोले कारवाही गरिपाऊँ भन्ने सरस्वती थपलियाले २०५१।८।३२ मा गरेको कागज । ४. रजिष्ट्री गरेको मैले दिए