निर्णय नं. ७८८९ - जग्गा खिचोला घर उठाई चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८८९ - जग्गा खिचोला घर उठाई चलन भाग: ४९ साल: २०६४ महिना: माघ अंक: १० फैसला मिति :२०६४/१०/११ ३५७२ निर्णय नं. ७८८९ ने.का.प. २०६४ अङ्क १० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी संवत २०६० सालको दे.पु.नं.......९६४८ फैसला मितिः २०६४।१०।११।६ मुद्दा :– जग्गा खिचोला घर उठाई चलन । पुनरावेदक प्रतिवादीः महोत्तरी जिल्ला फुलहटा परिकौली गा.वि.स.वडा नं. ९ बस्ने तपेश्वरप्रसाद सिंह राजपुत विरुद्ध विपक्षी वादीः ऐ. ऐ. बस्ने लक्ष्मेश्वरप्रसाद सिंह शुरु फैसला गर्नेः मा.न्या.श्री पवन कुमार शर्मा पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या.श्री मोहन प्रकाश सिटौला मा. न्या.श्री अलि अकवर मिकरानी § अदालतबाट भै आएको नक्सामा उल्लेख भएको प्रतिवादीले भोग गरेको विवादको जग्गा होइन भनी नक्सा मुचुल्कामा लेखाइदिएपनि आधिकारीक रुपमा नाप नक्सा भई तयार भएको दर्ता श्रेस्तालाई चुनौती दिनको लागि वस्तुनिष्ट प्रमाण पेश गर्नुपर्ने । § हकको स्वामित्वको प्रमाण पेश हुन नसकेको अवस्थामा अन्य कुनै पनि आधारले एकाको हकभोगको जग्गामा अन्य व्यक्तिको अधिकार रहेको भन्नु प्रमाण र कानूनको रोहमा उपयुक्त नहुने । § प्रतिवादीले मौखिक सहमतिको आधारले जग्गामा आफ्नो हक भएको भने पनि हक भएको कुराको लिखत प्रमाण पेश दाखिल हुन नसकेको अवस्थामा अन्य गैह्र आधार र मौखिक सम्झौताले अधिकारको श्रृजना गर्न नसक्ने । § जग्गाको हकको स्रोत र स्वामित्वको सम्बन्धमा लिखित प्रमाण नै सर्वोत्तम प्रमाण हुने हुँदा सो वाहेकका अन्य प्रमाणले हकको स्रोतको लिखत प्रमाण सरहको स्थान लिन नसक्ने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फबाट : उपस्थित विद्धान अधिवक्ताद्धय श्री कमलनारायण दास र विजय कुमार सिंह विपक्षी वादी तर्फबाट : अवलम्वित नजीरः फैसला न्या. अनूपराज शर्माः न्याय प्रशासन ऐन २०४८ को दफा ९ अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट यस प्रकार छः– २. हामी अंशियारहरूको बीचमा २०१९ सालमा अंशको रजिष्ट्रेशन पारित हुँदा गंगाप्रसाद सिंहको नाउँमा दर्ता रहेको तत्कालीन जिल्ला प्र. मौजे फुलहट्टाको साविक कि.नं. १५४७ को पैनी सो उत्तर नेवत सिंहको पूर्व निज सो दिक्षण पश्चिमको ०–०–८ र साविक कि.नं. १५४८ निगहार सो पूर्व उत्तरबाट सो दक्षिण पैनी सो पश्चिम ०–१–४ मध्ये ०–०–१६ गरी ०–१–४ जग्गा मेरो अंश भागमा परेको छ । उक्त दुवै कित्ता जग्गा एकै प्लटमा रहेको छ । हाल उक्त जग्गा जिल्ला महोत्तरी फुलहट्टा परिकौली गा.वि.स.वडा नं. ९ मा गाउँ व्लक भित्रको पैनी सो उत्तर पैनी सो पश्चिम बाटो सो दक्षिण नेवत सिंहको बुहारी तारा देवी सो पूर्वमा रहेको छ । मैले उक्त जग्गा अंशवण्डाबाट प्राप्त गरी त्यसमा पूर्व मोहडाको काठको २ तल्ले घर वनाई भोग चलन गर्दै आई रहेको थिए । कुनै किसिमको विवाद थिएन । २०५७।११।१४ गतेका दिन वेलुका अन्दाजी ४ बजेको समयमा विपक्षीले आफ्नो साथमा मैले नचिनेको ३०, ३५ जना लेवर ल्याई उक्त जग्गामा मेरो अघि देखि रहेको दुई तल्ले काठको घर उखेली त्यसमा रहेको नगदपात आफ्नो घरमा लगी मेरो उक्त कि.नं. १५४८ को जग्गामा उत्तर पश्चिम अं. १५ हात लम्बाई र ९ हात चौडाई जग्गा खन्न लगाई ईटाको कुर्सी दिन शुरु गरी २०५७।१।२४ गतेमा फुसको घर समेत बनाई बाँकी जग्गा धेरबेर गरी जवरजस्ती खिचोला गरेकोले खिचोला मेटाई घर समेत हटाई पाउँ भन्ने वादीको फिराद दावी । ३. दावी बमोजिमको घर जग्गा मैले २०२१ सालमै घरसारमानै खरिद गरेको हुँ ।