निर्णय नं. ७८९० - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८९० - उत्प्रेषण, परमादेश भाग: ४९ साल: २०६४ महिना: माघ अंक: १० फैसला मिति :२०६४/०७/२० ३३७३ निर्णय नं. ७८९० ने.का.प. २०६४ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत् २०६० सालको रिट नम्वर ––३४७९ आदेश मितिः २०६४।७।२०।३ मुद्दा :– उत्प्रेषण, परमादेश । निवेदकः बर्दिया जिल्ला राजापुर गा.वि.स.वडा नं. १ बस्ने सुश्री कमला हमाल विरुद्ध विपक्षीः भूमीसुधार अधिकार, भूमीसुधार कार्यालय, गुलरिया, बर्दिया समेत § विशेष अदालत ऐन, २०५९ को दफा १२ मा भएको कानूनी व्यवस्था अनुसार ऐनमा नलेखिए जतिमा जिल्ला अदालतलाई भए सरहको अधिकार र कार्यविधि प्रयोग गर्न सकिने भन्ने प्रावधानले जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ६२(५) न. बमोजिम खोलो पहिरो वा हिउँले बाटो बन्द भई वा यातायातको साधन नचल्नाले म्याद तारेख गुज्रेमा तारेख थामी दिन सक्ने भनी दिएको अधिकारको प्रयोग विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यप्रणाली अपनाई मुद्दा मामिलामा गरिएको कारवाहीमा समेत सो सुविधा नपाउने भनी व्याख्या गर्नु न्यायसंगत नहुने । § विशेष अदालत ऐन, २०५९ को दफा ११ को एक पटक बढीमा १५ दिनसम्म म्याद तारेख थामिन सक्ने भन्ने कुरा सामान्य व्यवस्था भएकाले यसलाई सवैले समान रुपमा उपभोग गर्न पाउँछन् तर अ.वं. ६२(५) नं. को व्यवस्था विशेष व्यवस्था भएकोले त्यसमा उल्लेखित विशिष्ट अवस्थामा वा परिस्थितिबाट पीडित हुने व्यक्तिले मात्र उपभोग गर्न सक्ने । § कानूनले स्पष्ट रुपमा खोलो पहिरो वा हिउँले बाटो बन्द भई वा यातायातको साधन नचल्नाले म्याद तारेख गुज्रेमा तारिख थामी दिने भनी स्पष्ट व्यवस्था गरेको कुरालाई अदालतले संकूचित व्याख्या गरी त्यसको दायरालाई खुम्चाउन उचित नहुने । § कानूनले दिएको सुविधालाई यथासम्भव पक्षको सुविधा र हित अनुकूल हुने गरी व्याख्या भएमा त्यस्तो कानूनी व्यवस्थाको सार्थकता रहन्छ । विशेष अदालत ऐन, २०५९ को कार्यप्रणाली अपनाई मुद्दाको कारवाही गरिएको अवस्थामा समेत अ.वं. ६२(५) नं.बमोजिमको म्याद तारेख थाम्ने सुविधा उक्त मुद्दाको पक्षहरूले पाउने । (प्रकरण नं.१२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता मातृका निरौला विपक्षी तर्फबाट : उपस्थित विद्वान अधिवक्ता भीमबहादुर ढकाल अवलम्वित नजीरः आदेश न्या.राजेन्द्रप्रसाद कोइरालाः नेपाल अधिराज्यको संविधान,२०४७ को धारा २३ एवं धारा ८८ (२) बमोमिज निवेदन परी पेश हुन आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ । २. बर्दिया जिल्ला राजापुर गा.वि.स.वडा नं.१(क) कि.नं.११३ को क्षेत्रफल ज.वि. २–१–१८ को जग्गाको ज.ध.म निवेदीका हुँ । सो जग्गाको श्रेस्तामा गोपीलाल थारु मोही जनिएको भए पनि, म स्वयं ज.ध.ले भोग चलन घरबास गरी आएकी थिए । त्यसै वास्तविकतालाई खुलाई भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६(१)(ग) अनुसार जग्गाको श्रेस्तामा देखिएको मोहीको लगत कट्टा गरी दर्ता किताव सच्याई पाउँ भनी प्रत्यर्थी भु.सु.का. बर्दिया समक्ष निवेदन दिएको थिएँ । प्रत्यर्थी नं.३ ले गोपीलालको २०४४।११।८ मा परलोक भई सकेको, उहाँको श्रीमती सुन्दरी थरुनीको समेत २०५६।१०।२ मा परलोक भएको, निज बाबु आमाका छोरा ठाकुरप्रसाद, रामप्रसाद, चैत्रप्रसाद भएकोमा म ठाकुरप्रसादका छोराहरूले जग्गा जोत कमोद गर्दै आएका, वाली बुझाउँदै आएका, यी कमलाले जग्गा किनेपछि घर बनाएको र इटाभट्टा राखेको, त्यस उपर घर भत्काई पाउँ समेत भनी आवश्यक दावी गर्ने नै छ