निर्णय नं. ८८१० - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८१० - उत्प्रेषणयुक्त परमादेश भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/०१/१२ ४५६७ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं.८८१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६७–WO–११८० आदेश मितिः २०६९।१।१२।३ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः झापा जिल्ला, मेचीनगर नगरपालिका वडा नं. १० घर भई काँकरभिट्टा उच्च माध्यमिक विद्यालय मेचीनगर झापाको माध्यमिक शिक्षक प्रथम श्रेणीको पदबाट अवकाश प्राप्त पुण्यप्रसाद खरेल विरुद्ध विपक्षीः विद्यालय शिक्षक कितावखाना, छाउनीमार्ग काठमाडौं समेत § पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र वा वैयक्तिक विवरणअनुसार अभिलेखहरूमा फरक–फरक जन्ममिति उल्लेख भएको पाइएमा जुनबाट पहिला अवकाश पाउने हो, सोही जन्ममिति मान्नुपर्ने र सोही मितिबाट अवकाश मिति निर्धारण गर्नुपर्ने । (प्रकरण नं.५) § आधिकारिक निकायबाट अवकाश पत्र नदिई साविकबमोजिम नै नियमित रुपमा काम गरेको अवधिको तलव, भत्ता नपाउने भन्न नमिल्ने । (प्रकरण नं.६) § अविछिन्न रुपमा आफू कार्यरत् विद्यालयमा रुजु हाजीर भै अध्यापन गरी आएको अवधिको नियमानुसार पाउने तलव, भत्तालगायतको अन्य सुविधा समेत पाउने नै हुँदा काम गरेको अवधिको खाइपाई सकेको तलव, भत्ता एवं सञ्चयकोष कट्टी रकम निवेदकलाई प्राप्त हुने औषधि उपचारको रकमबाट कट्टा गरी असूल गर्ने कार्य कानूनसम्मत् र न्यायपूर्ण देखिन नआउने । (प्रकरण नं.७) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे अवलम्बित नजीरः सम्बद्ध कानूनः § शिक्षा नियमावली, २०५९ को नियम १३१, १३१(१) आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२÷१०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– म निवेदक मिति २०२८।१।२ देखि नि.मा.वि. शिक्षकको रुपमा शिक्षण पेशामा सेवा प्रवेश गरी हाल मा.वि.प्रथम तहको शिक्षक पदमा कार्यरत् रही अध्यापन गर्दै आएको थिएँ । मेरो उमेर ६० नपुगेसम्म शिक्षा नियमावली, २०५९ को नियम ३१ ले कार्यरत् रहन पाउने हक प्रदान गरेको छ । मेरो जन्ममिति २००७ साल चैत्र २५ गते भएको हुनाले २०६७ साल चैत्र २४ गतेसम्म कार्यरत् रहन पाउने विश्वासका साथ आफ्नो पदीय कर्तव्यमा जुटिरहेकोमा जिल्ला शिक्षा कार्यालयले मलाई मिति २०६७।११।१५ मा बुझाएको पत्रमा तपाईले पेश गर्नु भएको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित जन्ममितिको आधारमा तपाईको उमेर शिक्षा नियमावली, २०५९ को छैठौं संशोधन लागू भएको मिति २०६७।१०।९ अगावै ६० वर्ष पूरा भइसकेको हुँदा उक्त नियमावलीको नियम १३१ मा भएको संशोधित व्यवस्था यस कार्यालयको मिति २०६७।११।१५ को निर्णयानुसार संशोधित नियमावली लागू भएको मिति २०६७।१०।९ देखि नै लागू हुने गरी माध्यमिक शिक्षक प्रथम श्रेणीको शिक्षक पदबाट अनिवार्य अवकाश गरिएको व्यहोरा अनुरोध छ भन्ने व्यहोरा उल्लेख गरिएकोमा जिल्ला शिक्षा कार्यालयको उक्त पत्र प्राप्त गर्दासम्म पनि म निवेदक २०६७ चैत्र २४ गते सम्म कार्यरत् रहन पाउने विश्वासका साथ सेवारत् रही आएको थिएँ । उक्त पत्र प्राप्त भएका दिनसम्म म आफू कार्यरत् रहेको विद्यालयमा रुजु हाजीर रही आएकोमा कितावखानाको मिति २०६७।१२।२१ को जिल्ला शिक्षा कार्यालयलाई सम्बोधन गरी मलाई वोधार्थ दिइएको पत्