निर्णय नं. ७९०० - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९०० - जबरजस्ती करणी भाग: ४९ साल: २०६४ महिना: फागुन अंक: ११ फैसला मिति :२०६४/११/०८ ४७४५ निर्णय नं. ७९०० ने.का.प. २०६४ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत २०६४ सालको फौ.पु.नं. ०६३-CR-०५५२ फैसला मितिः २०६४।११।८।४ मुद्दाः जबरजस्ती करणी । पुनरावेदक प्रतिवादीः जिल्ला दाङ, त्रिभुवन नगर नगरपालिका वडा नं. ८ घर भै हाल कारागार शाखा तुलसीपुर दाङमा थुनामा रहेका रणबहादुर कुमाल विरुद्ध प्रत्यर्थी वादीः गोमा पुनमगरको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने मा.जि.न्या.श्री विनोद प्रसाद शर्मा पुनरावेदनमा फैसला गर्ने मा.मु.न्या. श्री अवधेश कुमार यादव मा.न्या. श्री राजेन्द्रराज पन्त § पीडित ६ वर्षको नाबालिका जसलाई करणी भन्ने कुरा र पुनरावेदकले आफूलाई के गर्न लागेको भन्ने कुरा नै थाहा हुन सक्ने अवस्था हुँदैन, त्यस्तो नाबालिकले सोह्र वर्ष नाघेको बालिगले जस्तो आफ्नो इच्छा विपरीत हुने करणीमा आफ्नो सतीत्व (chastity) नष्ट गर्न लाग्यो भनी बचाउको लागि हरसम्भव प्रयत्न गर्ने र विरोध गर्ने जस्तो आत्मरक्षाको प्रयत्न गर्ने प्रश्न नै नआउने । § अवोध बालिकाले आफूमाथि भएको जबरजस्ती करणी जस्तो नृशंस एवं पासविक अपराधको जस्ताको तस्तै स्वाभाविक रुपमा अभिव्यक्त गरेको भनाईलाई अदालतले अन्यथा अर्थ गरी छिद्रान्वेषण गर्नुपर्ने कुनै आवश्यकता नदेखिने । § एक निर्दोष बालिकाले आफूमाथि जबरजस्ती करणी नगरेको भए प्रतिवादीलाई किटान गरी देखाउनु पर्ने कुनै कारण वा परिस्थिति पनि छैन । साथै बालिका उपर आजीवन सामाजिक दाग लाग्ने जबरजस्ती करणी जस्तो जघन्य अपराधमा अवोध वालिकालाई पीडित देखाई स्वयम् पीडित बालिकाको आमाले नै प्रतिवादी उपर जाहेरी दिनुपर्ने अरू कुनै कारण नदेखिने। (प्रकरण नं.२८) § दश वर्ष नै नपुगेको बालिकाले कसैप्रति रिसइवी लिने वा कसैलाई फसाउने भावनाले गलत र झुठ्ठा कुराको पोल गर्ने भन्ने कुरा ६ वर्षको नाबालिकमा विचार गर्ने सम्मको शक्ति पनि विकास भई नसकेको हुनाले सम्भव हुँदैन । तसर्थ पीडित बालिकाको वकपत्र प्रमाण ऐन, २०३१ को दफा ३८ भित्रको भई दफा १०(१)(ख) बमोजिमको स्वीकार योग्यप्रमाण (Admissible Evidence) मानिने । (प्रकरण नं.३०) § प्रचलित कानूनले बाहेक गरेको अवस्थामा बाहेक पीडित अदालत समक्ष उपस्थित भई वकपत्र गरेपछि त्यस्तो प्रमाणलाई अदालतले प्रमाणमा लिनुपर्ने । § जिरह गरी सो जिरहबाट झुठ्ठा बकेको भन्ने तथ्य खुली सो कुरा अन्य प्रमाणबाट समेत प्रमाणित भएमा वा साक्षीलाई यातना दिईएको वा Tutored witness भएमा आदि अवस्थामा वाहेक अन्य अवस्थामा पीडित व्यक्तिको गवाही महत्वपूर्ण प्रमाण हुने । (प्रकरण नं.३१) § पीडित बालिकाको शारीरिक परीक्षण प्रतिवेदन, पीडितको मौकाको कागज, पीडित बालिकाले यी प्रतिवादीलाई चिनेर गरिदिएको सनाखत कागज र अदालतमा आई गरिदिएको बकपत्र लगायतका अकाटय् प्रमाणहरूबाटै यी प्रतिवादीको कसूर प्रमाणित भइरहेको हुँदा मौकामा कागज गर्ने विमल चौधरीले अदालतमा आई बकपत्र गर्न नसकेको भन्ने आधारमा सफाई पाउनुपर्छ भन्ने प्रतिवादीको पुनरावेदन जीकिर मनासिव नदेखिने । (प्रकरण नं.३२) § जबरजस्ती करणीको महलको १ नं.मा “कन्या विधवा वा अर्काकी सधवा स्वास्नी मानिसमा सोह्र बर्ष मुनिकीलाई उसको मन्जुरी लिई वा नलिई जुनसुकै व्यहोरासँग करणी गरेपनि र सोह्र बर्ष नाघेकीको राजीखुसी बिना बेम्मन्जुरीले जुनसुकै तरहसँग भएपनि जोर जुलुम गरी वा डर धाक