निर्णय नं. ७९०८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९०८ - कर्तव्य ज्यान भाग: ४९ साल: २०६४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६४/०९/०६ ६४२९ निर्णय नं.७९०८ ने.का.प. २०६४ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् ०६३ सालको फौ.सा.नं. ०६३–CR–००३६ फैसला मितिः २०६४।९।६।६ मुद्दाः कर्तव्य ज्यान । वादीः शिवनारायण साह कलवारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादीः बारा जिल्ला भवानीपुर गा.वि.स. वडा नं. ३ बस्ने मालतीदेवी कलवार अघि फैसला गर्नेः मा.जि.न्या. श्री प्रेमबहादुर के.सी. पुनरावेदन अदालत हेटौंडाः मा.न्या. श्री पुरुषोत्तमप्रसाद पराजुली मा.न्या. श्री विनोदप्रसाद ढुंगेल § Viscera को रिपोर्ट समेत लिई सम्बन्धित चिकित्सकद्धारा मृत्युको कारण पहिचान गरिएको विषयलाई शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको प्रारम्भिक विवरणात्मक प्रस्तुतीले अन्यथा गर्न सक्ने अवस्था नहुने । § शव परीक्षण प्रतिवेदन (Autopsy Report) स्वयं पूर्ण नरहेको र निष्कर्षमा पुग्नका लागि Viscera परीक्षण अनिवार्य रहेको कुरा मिसिल संलग्न Autopsy Report को अध्ययनबाट देखिन्छ । त्यस्तो अपूर्ण Autopsy Report मा रहेका केही विवरणहरुलाई नै मृत्युको कारणका रुपमा लिन मिल्ने अवस्था हुँदैन र यस्ता नितान्त प्राविधिक विषयमा मनोगत रुपमा भन्दा विशेषज्ञको रायका आधारमा निष्कर्षमा पुग्नुपर्ने। (प्रकरण नं.२०) § साक्षीका शंकास्पद कथन र अपुष्ट परिस्थितिजन्य प्रमाणलाई आधार मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन, त्यसो गर्नु कानून र न्यायका मान्य सिद्धान्त विपरीत हुन जाने । (प्रकरण नं.२१) § मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्छ, अर्थात् देख्न, सुन्न वा कुनै इन्द्रियको सहायताले थाहा पाउन सकिने कुनै कुरालाई प्रमाणमा दिन खोजिएको भए, सो कुरा प्रत्यक्ष देख्ने, सुन्ने वा थाहा पाउने व्यक्तिले त्यस सम्बन्धमा मौखिक प्रमाण दिएको हुनुपर्छ भन्ने प्रमाण ऐन, २०३१ को दफा ३७(२) को प्राबधानका आधारमा पनि त्यस्ता अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसूरदार ठहर्याउने आधार बनाउन नमिल्ने । § परिस्थितिजन्य प्रमाण जहिले पनि प्रत्यक्ष हुनपर्छ, अनुमानबाट समर्थित हुने विषय होइन। के कस्तो परिस्थितिजन्य प्रमाण हो भन्ने कुरा स्पष्ट रुपमा खुलाउनु पर्छ, घटनासँग सम्बन्धित विभिन्न कडीहरु मालाकार रुपमा एक अर्कोसँग जोडिएको र त्यसबाट परिणामको स्वाभाविक निष्कर्ष आउनु पर्ने । § शवपरीक्षण गर्ने विशेषज्ञले मृत्युको कारणमा Asphyxia due to hanging भन्ने राय दिएको अवस्थामा मृतक झुण्डी मरेको भन्ने परिस्थिति बाहेक अन्य स्थितिको कल्पना गरी कुनै प्रत्यक्ष र अकाट्य प्रमाणको अभावमा दोषी ठहर गर्न प्रमाण सम्बन्धी कानून र न्यायका मान्य सिद्धान्त प्रतिकूल हुन जाने । (प्रकरण नं.२२) वादी तर्फबाट : प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः फैसला न्या. रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) अनुसार साधक जाहेर भै यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः २. मिति २०५९।७।७ गते जिल्ला बारा, गा.वि.स. भवानीपुर जितपुर वार्ड नं. ३ स्थित ओगिन्दर साह कलवारको घर आँगनमा निजकै बुहारी मृतक निलमदेवी कलवारको लाश रहेको, उक्त लाश हेर्दा गालामा १।१ इन्चको ३ वटा डाम रहेको, घाँटीमा डोरीको डाम देखिएको, तिघ्रामा घाउ रहेको भन्ने समेत व्यहोराको घटनास्थल लाश प्रकृति मुचुल्का । ३. आज भन्दा डेढवर्ष पहिला आफ्नो कान्छी छोरी निलमकुम