निर्णय नं. ८९५३ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९५३ - उत्प्रेषण समेत भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७०/०१/०५ ३२१३ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९५३ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की पु.नि.नं.०६७–NF-०००९ आदेश मितिः २०७०।१।५।५ मुद्दा :– उत्प्रेषण समेत । निवेदक प्रत्यर्थीः भ.पु.जि.,भ.पु.न.पा.वडा नं.१० बस्ने कृष्णमान बासुकला विरुद्ध विपक्षी निवेदकः भ.पु.जि.,भ.पु.न.पा.वडा नं. ६ बस्ने रामकुमार वनमाला यसअघि निर्णय गर्ने :– सर्वोच्च अदालत संयुक्त इजलास :– मा.न्या.श्री मीनबहादुर रायमाझी मा.न्या.श्री कल्याण श्रेष्ठ § मोही हक कानूनबमोजिम मात्र प्राप्त र समाप्त हुने हक हो भन्नेमा विवाद छैन । कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको लगत कट्टा गर्नको लागि भूमि सम्बन्धी ऐन, २०२१ र भूमि सम्बन्धी नियमावली, २०२१ मा निर्दिष्ट अवस्था र आधारहरूको विद्यमानता अपरिहार्यता हुने । § गुठी कार्यालयलाई गुठी जग्गाको प्रशासन र व्यवस्थापन गर्ने अधिकार गुठी संस्थान ऐन, २०३३ ले प्रदान गरेको भएपनि मोहीको हक समाप्त हुने गरी मोही लगत कट्टा गर्ने अधिकार प्रदान नगरेकाले मोही लगत कट्टा गर्ने गरी गुठी संस्थानबाट र सो बमोजिम स्रेस्ता पूर्जा बनाउन लेखी पठाउने गरी गुठी संस्थान शाखा कार्यालयबाट गरिएका निर्णय गैरकानूनी हुने । (प्रकरण नं.६) § मोहीको हक प्राप्ति र समाप्तिसँग जोडिएका उपरोक्त प्रमाणहरूको विश्लेषण गरी मोहीको विवादमा निर्णय गर्ने अधिकार गुठी संस्थानलाई नभएकोले सम्बन्धित भूमिसुधार कार्यालयबाटै निर्णय निरूपण हुनुपर्ने । (प्रकरण नं.८) निवेदकका तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी “संभव” विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी, अधिवक्ता ज्ञानेन्द्रप्रसाद पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को देहाय खण्ड (ख) बमोजिम यस अदालत संयुक्त इजलासवाट मिति २०६४।९।२५ मा भएको आदेश पुनरालोकन गरिपाऊँ भनी प्रत्यर्थी कृष्णमान बासुकलाको निवेदन परी यस अदालतवाट मिति २०६७।५।४ मा पुनरालोकनको निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६(१) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– गुठी लगत तथा अभिलेख शाखा भद्रकाली काठमाडौंमा लगत स्रेस्ता कायम रहेको २ नं. ब्रम्हायणी ल.नं.२३७ मोही भैरवबहादुर बनमाला इनाचो कायम रहेको भक्तपुर नवदुर्गा भवानीको चिराग बाल्ने गुठी संस्थान अधिनस्थ छूट गुठी जग्गा, सर्भे नाप नक्सा हुँदा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १(ग) कित्ता नं. १ क्षेत्रफल २–१५–०–० कायम भै भैरवलाल भन्ने भैरवबहादुर बनमालाको बुहारी निवेदकको बज्यै बिकुमायाको नाउँमा मोही जनिएको । उक्त जग्गाको खास जोताहा मोही बज्यै विकुमाया र जग्गाधनीमा नवदुर्गा भवानीको चिराग बाल्ने गुठीको रकमी नाइके रतनकुमारको नाम जनिएको छ । गुठी संस्थान ऐन, २०३३ ले रकमी खान्गीवालाको सबै हकाधिकार समाप्त गरी गुठी जग्गामा खास जोताहा मोहीको हक रहने व्यवस्था गरेकोले उल्लिखित जग्गामा बज्यै विकुमायाको एकलौटी मोही हक कायम रहेको प्रष्ट छ । गुठी संस्थान ऐन, २०३३ को दफा ४८ अनुसार भूमी सुधार कार्यालयबाट बज्यै विकुमायाले मोहियानी हकको जोताहा अस्थायी निस्सासमेत प्राप्त गरी बज्यैले