निर्णय नं. ८९५५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९५५ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/०५/२१ ४२७० ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९५५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री कमलनारायण दास मुद्दा नं.०६७–CF–००२०, ००२१ फैसला मितिः २०६९।५।२१।५ मुद्दा :— कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला, का.म.न.पा.वडा नं.३० कमलाक्षी असन वस्ने उपेन्द्र शाक्य विरुद्ध विपक्षी वादीः सम्पूर्णरत्न तुलाधरको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः सम्पूर्णरत्न तुलाधरको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी प्रतिवादीः काठमाडौँ जिल्ला, का.म.न.पा.वडा नं.३० कमलाक्षी असन वस्ने उपेन्द्र शाक्य संयुक्त इजलासमा फैसला गर्ने :– मा.न्या.श्री ताहिर अली अन्सारी मा.न्या.श्री भरतराज उप्रेती § कुरूप अनुहारको छाला मिलाउनका लागि गरिएको अपरेशनसित सम्बन्धित एनेस्थेसिया समेतको औषधिहरूका कारण मृत्यु भएको अवस्थामा त्यसलाई एक महिनाअगाडि एसीड फालेको वारदातसँग जोडी सोही जरियाबाट मृत्यु भएको भन्ने निष्कर्षमा पुग्न नसकिने । (प्रकरण नं.६) § कुरूपतालाई ठीक पार्ने उद्देश्यले गरे गराएको अपरेशनको क्रममा भएको मृत्युको सम्बन्ध मृत्यु हुनु भन्दा एक महिना अगावै एसीड फालिएको घटनासँग जोडेर दोषी र मृत्युको कारक बनाउनु औचित्यपूर्ण, तर्कसंगत, कानूनसम्मत र न्यायपूर्ण नहुने । (प्रकरण नं.८) § एसीडको प्रभाव वा कारणबाट मृत्यु भएको नभई अपरेशनको क्रममा प्रयोग भएको “विभिन्न औषधिको Side Effect वा Toxic Effect तथा भेन्टिलेटरले स्वास नलीमा सुजन भएको कारण समेतबाट मृत्यु भएको” भन्ने विशेषज्ञ चिकित्सकहरूको प्रतिवेदन र अदालतमा भएको बकपत्र समेतबाट देखिएको अवस्थामा ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय गर्न नमिल्ने । (प्रकरण नं.१०) § साधारण लाठी, ढुङ्गा, लात मुक्काको प्रहार नगरी एसीड अनुहारमा फालेको र निज उपचार गरी निको भई डिस्चार्ज भैसकेपछि अनुहारको जलेको भाग पूर्व रूपमा ल्याउने प्रयासस्वरूप अपरेशन गर्दा ऐनले तोकेको समयावधि २१ दिनपछि मृत्यु भएकाले ज्यान सम्बन्धीको १४ नं. अनुसार कुटपीटको घटनाबाट थला परेको नभएमा वा ऐनले तोकेको २१ दिनपछि मरेको अवस्थामा ज्यान सम्बन्धी महलअन्तर्गत ज्यान मारेको भनी सजाय गर्न कानूनअनुकूल नहुने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान अधिवक्ताहरू ज्ञानरत्न शाक्य तथा वल्लभ वस्नेत पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मी अवलम्बित नजीरः सम्बद्ध कानूनः § ज्यान सम्बन्धी महलको ८, ९, १०, ११, १२, १३(३), १४ नंं. § सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) फैसला न्या.रामकुमार प्रसाद शाहः यस अदालतको संयुक्त इजलासबाट रायवाझी फैसला भई सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः सृजन वीर कंसाकारलाई उपेन्द्र शाक्यले मिति २०५९।११।६ गते पूर्व रिसइवी लिई अनुहारमा एसीड खन्याई कुरूप बनाई उपचारको सिलसिलामा अपरेशन गर्नका लागि सर्वाङ्ग स्वास्थ्य केन्द्र लगेकोमा अपरेशन हुन नपाई सोही चोट पीडाको कारणबाट मृत्यु भएकोले कानूनबमोजिम ज्यानसम्बन्धी महलअनुसार हदैसम्म कारवाही गरिपाऊँ भन्ने सम्पूर्णरत्न तुलाधरको जाहेरी दरखास्त । लाशको टाउकोमा कपाल नभई पूरै खौरिएको, मृतकको कन्चट तर्फ दु