निर्णय नं. ३५२६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५२६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०६/०२ २९१५ निर्णय नं. ३५२६ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् ०४४ सालको रिट नं. १६२३ आदेश भएको मिति : २०४५।६।२।१ मा निवेदक : जि.रौटहट पुरेनवा गा.पं. वडा नं. ७ बस्ने शशी भूषण सिंह ठकुरी विरुद्ध विपक्षी : कृषि विकास बैंक, मुख्य कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) स्पष्टीकरण माग गरी, पेश भएको स्पष्टीकरण छानबीन गरी सजायँ दिन पाउने अधिकार प्राप्त अधिकारीले अभियोगमा सफाईको मौका दिई तोकिएको कार्यविधि पूरा गरी नियम कानूनको परिधिभित्र रही बर्खास्त गर्नु पर्ने पर्याप्त कारण उल्लेख गरी पदबाट बर्खास्त गर्ने गरेको निर्णय र त्यसलाई सदर गर्ने गरेको सञ्चालक समितिको निर्णय कानून अनुकूल देखिँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९ र १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. विपक्षी कार्यालयको रौतहट जिल्ला कटहरिया स्थिति उपशाखा कार्यालयमा म स्थायी लेखापाल पदमा कार्यरत थिएँ । ऋण असूली कार्यको लागि मिति ०४२।१।१६ देखि फिल्डमा गई मिति ०४२।१।१७ मा सितलपुर साझा संस्था लि. बाट ऋण रकम रु. १,१६५।– तथा अन्य मितिमा ३०००।– ऋण असूल गरी आफ्नो काम प्रति वफादार तथा इमान्दार भएको र उपशाखा प्रमुखले गर्ने अनियमित कार्यको विरोध गर्दै आएको थिएँ । मैले असूली गरेको उक्त रकम समयमा दाखिल नगरेको, मोटर साइकल बिगारेको, कार्य क्षेत्र भन्दा बाहिर गई पेट्रोल हालेको, उपशाखा प्रमुखलाई कुटपिटको धाक धम्की दिएको, सरुवा गर्दा गर्दै हाजिर गरेको जस्तो कपोल कल्पित आरोप लगाई माग गरिएको स्पष्टीकरण पत्रमा मिति ०४२।४।२० मा प्रतिवाद गरेको थिएँ । तत्पश्चात तुरुन्त दाखिल गर्नु पर्ने रकम दाखिल नगरी उक्त कृषि विकास बैंकको रकम निजी काममा लगाई भ्रष्टाचार गरेकोले कृषि विकास बैंक, सेवा शर्त नियमावलीको परिच्छेद ७ नियम १(च) बमोजिम मलाई उक्त नियमावलीको नियम ६(१)(छ) को अभियोगमा बर्खास्त गरेकोमा मैले मिति ०४३।२।१५।५ मा कार्यालयको सञ्चालक समितिमा पुनरावेदन गरेको थिएँ । ३. बर्खास्त गर्दा लगाइएको आरोपको सम्बन्धमा २ पटक स्पष्टीकरण पेश गरेकोमा, दिनु पर्ने हस्तेवारी लिएको रुपैयाँ ढिला गरी बुझाएमा नियत खराब भएको भन्न नहुने भन्ने सम्मानीत अदालतको नजीर तथा म सरुवा भई सकेपछि गरेको कारवाही कानून तथा प्राकृतिक न्यायको बर्खिलाप छ । मैले उठाएको रकम मिति ०४२।३।१२ सम्ममा दाखिला गरी सकेको र रु. ३०००।– हराएको मौखिक जानकारी उपशाखा प्रमुखलाई दिएको हो । म जस्तो निम्न स्तरीय कर्मचारीले उक्त रकम संकलन गर्न समय लागेकोले रकम दाखिला गर्न केही समय लागेको हो । मेरो बैंकको हानी नोकसानी व्यक्तिगत फाइदा लिने कुनै मनसाय नभएको र यस सम्मानीत अदालतका प्रतिपादित सिद्धान्तको विपरीत मनगढन्ते आरोप लगाई म माथि गरिएको कारवाही बैंक नियमावलीको परिच्छेद ७ नियम १ को विपरीत छ । सम्पूर्ण कारवाही महाप्रवन्धकबाट हुनु अनियमित भई म माथि कारवाही गरिँदा बैंक नियमावलीको नियम ८ अनुरुपको कार्यविधि पनि पूरा गरिएको छैन । तसर्थ मेरो संविधानद्वारा प्रत्याभूत भएको हक अधिकारको हनन् भई