निर्णय नं. ८९५८ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९५८ - उत्प्रेषण परमादेश भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७०/०१/१२ ५९६२ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९५८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय रिट नं. ०६९–WF–०००८ आदेश मितिः २०७०।१।१२।५ विषय : उत्प्रेषण परमादेश । निवेदकः डडेलधुरा जिल्ला, भद्रपुर गा.वि.स.वडा नं. २ बस्ने कृषि सामग्री कम्पनी लिमिटेडको प्रवन्धक (अधिकृत दशौं तह) पदबाट स्वेच्छिक अवकाश लिएको चतुर्भुज भट्ट समेत विरुद्ध विपक्षीः काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. १६ कुलेश्वर स्थित कृषि सामग्री कम्पनी लिमिटेड समेत § सामान्यतः आय गरिन्छ भने त्यसमा कानूनबमोजिम कर लाग्दछ भन्ने कुराको अनुमान गरिनु पर्दछ । त्यसमा पनि कर लाग्ने र नलाग्ने भन्ने कुरामा कानूनमा भएका दुई व्यवस्थाबीच असमाञ्जस्यता देखिन्छ भने अन्यथा प्रमाणित नभएसम्म कर लाग्दछ भन्ने व्यवस्थाको पक्षमा अनुमान गर्नुपर्ने (प्रकरण नं.१०) § अवकाश भुक्तानीबापत दिइएको अतिरिक्त सहुलियत रकममा पन्ध्र प्रतिशत वा पाँच प्रतिशतमध्ये के कति कर लाग्ने हो भन्ने सम्बन्धमा द्विविधा भएको भए सोही प्रक्रियाबमोजिम स्पष्ट हुन सकिनेमा कर प्रशासन गर्ने कर कार्यालयलाई विपक्षी नै नबनाई सिधै रिट क्षेत्रमा प्रवेश गरेको समेत कानूनसम्मत देखिँदैन । (प्रकरण नं.१३) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का विपक्षी तर्फबाटः विद्वान अधिवक्ता कृष्णकुमार आङ्दम्बे अवलम्बित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०५८ को दफा २(ङ), १२, ६३, ६४, ६५(१), ७६, ८८(१) आदेश न्या.गिरीश चन्द्र लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर भई संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम कानूनको व्याख्या एवं एकरूपताको लागि पूर्ण इजलासमा पठाउने आदेश भएअनुसार पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– हामी निवेदकहरु कृषि सामग्री कम्पनी लिमिटेडमा विभिन्न मितिमा सेवा प्रवेश गरी अनवरत् रूपमा कार्यरत् रही आएका थियौं । कृषि सामग्री कम्पनी लिमिटेडको विभिन्न पदहरुमा कार्यरत रही मिति २०६५।१२।११ देखि लागू हुने गरी सेवा निवृत्त भएका छौं । हामी निवेदकहरु कम्पनीमा बहाल रही कामकाज गर्दाकै समयमा कम्पनीले मौजुदा कारोवारको दृष्टिमा जनशक्ति बोझिलो भएको र कारोवार स्थिति हालकै अवस्थामा रहँदा तलब भुक्तानी गर्न समेत कठित हुने अवस्था देखिएकोले स्वेच्छिक अवकाश योजना कार्यान्वयनको लागि सञ्चालक समितिबाट गठित उपसमितिको प्रतिवेदन कार्यान्वयनको लागि कम्पनीको व्यवस्थापनबाट सञ्चालक समितिमा एक प्रस्ताव पेश गरिएको थियो । कम्पनीको कारोवारको स्थिति हालकै अवस्थामा रहिरहे निकट भविष्य मै तलब भुक्तानी गर्न समेत कठिनाई हुने अवस्था सिर्जना भई सम्पत्ति बिक्री वितरण गरी सोबाट दायित्व व्यहोर्ने गरी अनिवाय अवकाश दिनु पर्ने स्थिति दृष्टिगत गर्दा उपसमितिको प्रतिवेदनअनुसार विगत बर्षहरुमा स्वेच्छिक अवकाश योजना लागू गर्दा दिई आएका सुविधाहरु प्रदान गर्ने गरी स्वेच्छिक अवकाशको सूचना प्रकाशित गर्ने भनी कम्पनीको सञ्चालक समितिबाट निर्णय भएको थियो र सोही निर्णयको आधारमा कम्पनीबाट मूलतः निम्न शर्तहरु उल्लेख गरी स्वेच्छिक अवकाशको आवेदन आव्हान गरिएको सूचना मिति २०६५।११।१४ मा प्रकाशित भएको थियोः– १ कम्पनीमा कार्यरत् इच्छुक स्थायी कर्मचारीहरुले का