निर्णय नं. ८०६० - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०६० - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/०१/१३ ४०२६ निर्णय नं.८०६० वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्वत २०६२ सालको रिट नं. २५९९ फैसला मितिः २०६५।१।१३।५ विषयः –उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ निवेदक पक्षः काठमाडौ महानगरपालिका १० पञ्चशील मार्ग पो.व.नं. ४२८५ नयाँ वानेश्वर स्थित एम ए. गार्मेन्टसका प्रोपराइटर ऐ वडा नं. ३३ व्लक नं. ८०/२३ गुर्जु मार्ग डिल्लीवजार वस्ने मन्जु अग्रवाल विरुद्ध काठमाडौ जिल्ला अदालत, ववरमहल समेत § रीतपूर्वक म्याद तामेल नभै मुद्दा लङ्गडो हुन्छ भने सो को नकारात्मक प्रतिफल समुच्चा न्याय व्यवस्था र यसमा संलग्न हामी सवै माथि पर्ने हुन्छ । जुन आफैमा दुर्भाग्यपूर्ण भई प्रत्युतपादक समेत हुन्छ । अदालतमा आजको दिनमा पनि यसरी त्रुटिपूर्ण म्याद तामेल गरी भएको फैसलाको विवादलाई रिट क्षेत्रवाट हेर्न पर्ने अवस्था आउनु निश्चय पनि राम्रो अवस्था होइन । यसवाट जनताको साधन स्रोत र महत्वपूर्ण समयको वर्वादी हुन्छ भने यस्तो विषयमा अलमलिनु पर्नाको कारण अदालतको अरु महत्वपूर्ण मुद्दामा दिनुपर्ने समयको वर्वाद हुन्छ । यस विषयमा हामी सवैले गम्भीरतासँग सोच्नै पर्दछ । अझ प्रस्तुत विवाद नेपाली नेपाली बीचको मात्र नभै विदेशी कम्पनी समेत संलग्न भएको विवाद भएको अवस्थामा नेपालको न्याय व्यवस्थाप्रति उनीहरूले राख्नसक्ने धारणाप्रति हामी गम्भीर हुनुपर्ने । (प्रकरण नं.७) § अदालतवाट तामेल हुने म्यादको सम्बन्धमा भविष्यमा यस्तो गल्ती पुनरावृत्ति नहुने व्यवस्थाको निमित्त यसमा कार्यरत् कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र म्याद तामेल कार्य अझ वढी प्रवावकारी बनाउन के कस्तो कदम चाल्नु पर्दछ त्यसतर्फ आवश्यक कदम उठाउन यो फैसलाको प्रतिलिपि सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिलाई उपलव्ध गराउने । (प्रकरण नं.८) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री डिल्लीराम भण्डारी विपक्षी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री थानेश्वर देवकोटा अवलम्वित नजीरः नेकाप २०५०, निर्णय नं.४८२६, पृष्ठ ६७१ § सम्वत २०५१ सालको रिट नं. २२९५ § सम्बद्ध कानूनः अ.वं. २०८, ११२ फैसला न्या.दामोदरप्रसाद शर्माः तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– विपक्षी इष्ट इण्डिया निटवेयर लि. (East India knitwear ltd) का तर्फवाट भनि ऐ का अख्तियार प्राप्त भनिएका संचालक विपक्षी अरविन्द कुमार लोहियाले मेरो विरुद्व काठमाडौं जिल्ला अदालतमा रकम दिलाई भराई पाउँ भन्ने मुद्दा दायर गरेका रहेछन । उक्त मुद्दामा मेरो नाम जारी भएको इतलायनामा मेरो वतन (ठेगाना) मा जारी नभै गलत ठेगानामा जारी भएको रहेछ । जुन कारण तद्म्यादहरू रीतपूर्वक तामेल हुन नसकी वेपते तामेल भएका रहेछन । मेरो नाममा जारी भएका म्यादहरू, मिति २०५६।५।४ मा जारी भएको पहिलो म्यादमा वडा नं उल्लेख नभएकाले तामेलदारवाट २०५६।८।१३ मा फिर्ता भएपछि विपक्षीले ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा न. २ सानेपाको ठेगाना देखाउँदा सोहि ठेगानामा २०५७।२।२० मा जारी हुँदा मिति २०५७।७।२४ मा वेपते तामेल भएको रहेछ । तद् पश्चात विपक्षीले का.म.नपा वडा न. ३४ को ठेगाना देखाई जारी भएको म्याद मिति २०५८।१२।७।३ मा वेपते तामेल भएको रहेछ । पुनः विपक्