निर्णय नं. ३५४७ - जग्गा खिचोला दर्ता बदर हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५४७ - जग्गा खिचोला दर्ता बदर हक कायमसमेत भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०४/२६ २७६० निर्णय नं. ३५४७ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ६७९ फैसला भएको मिति : २०४५।४।२६।४ मा पुनरावेदक/वादी : हे.न.पं.वा.नं.९ बस्ने कर्णबहादुर बल तामाङ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने दिलशोभा बाबु मुद्दा : जग्गा खिचोला दर्ता बदर हक कायमसमेत (१) रजिष्ट्रेशन पारित नभएको घरसारको लिखतबाट अचल सम्पत्ति जग्गाको हक स्वामित्व हस्तान्तरण हुन नसक्ने । (प्रकरण नं. १६) (२) रजिष्ट्रेशन पारित नभएको छोडपत्रको लिखतको आधारमा विवादको जग्गाको दर्ता कायम हुने ठहर्याएको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान गर्ने आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुतमुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ : २. मैले ०२१।११।१२।३ मा राप्तीदुन चितौन जग्गा बिक्री वितरण कमिशनबाट जिल्ला मकवानपुर प्रगन्ना सेश्रा मौजे पशुपतिनगरमा पूर्व घडेरी लाईन, पश्चिम खोल्सो, उत्तर प्रेमकृष्ण, दक्षिण वीरबहादुर यति ४ किल्लाभित्रको कि.नं.४४ को जग्गा विगहा १–८–१८ को मैले उक्त चलानी पुर्जीबाट प्राप्त गरी त्यसको लाग्ने प्रतिमूल्य मालपोत समेत मकवानपुर मालमा तिरी बुझाई र.नं.४८ मा दर्ता भई अविछिन्न भोगी चर्ची आएको जग्गा हो । उक्त जग्गा मध्येकै ०–१०–१३ ज.वि.नै विपक्षले हाल नापीमा कि.नं.३७२ मा विपक्ष दिलशोभाका नाउँमा जग्गा नाप जाँच ऐन, ०१९ को दफा ६ को उपदफा (७) बमोजिम दर्ता गरिदिने चित्त नबुझ्ने पक्षले ३५ दिनभित्र उजूर गर्नसक्ने छ भनी ०३७।१०।५ मा पर्चा खडा गरी ०३७।१०।९ मा सूचना तामेल भएको थियो । विपक्षले नाप नक्शा गराएको मेरो साविक कि.नं.४४ र.नं.४८ को जग्गा नै हाल नापीमा आफ्नो नाउँमा कि.नं.३७२ मा ज.वि.०–१०–१३ नाप नक्शा गराएको हो । विपक्षले मेरो जग्गा छैन भन्न र यो ठाउँमा पर्छ भनी लेख्न सकेको छैन कथित बोलपत्रको आधारबाट मेरो नम्बरी जग्गा गायव हुने प्रश्न नै छैन । मेरो नम्बरी हक हुनआएको नम्बरी प्रमाण नापी टोलीमा पेश गरेको छु । विपक्षको मेरो भन्दा बलियो यो प्रमाण भन्ने पर्चामा उल्लेख छैन । विपक्षलाई भोगवाला भनेकोमा निजले भोग गरेको जोताहा निस्सा आदि कुनै प्रमाणित छैन । तसर्थ मेरो साविक कि.नं.४४ र नं. ४८ को जग्गा विगहा १–८–१८ मध्येमा नै विपक्षले नापी गराउनु भएको हाल नापीको कि.नं.३७२ ज.वि.०–१०–१२ विपक्षीका नाउँमा दर्ता गरिदिने गरेको निर्णय पर्चा लेनदेन व्यवहारको ३१ नं.र रजिष्ट्रेशनको १ नं.ले बदर गरी उक्त कि.नं.३७२ को समुच्चा जग्गा विगहा ०–१०–१३ को प्रचलित मूल्य रु.४००।– मोलिने उक्त जग्गा मेरो हक कायम दर्ता हुने गरी चलन चलाई न्याय पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. मैले छोडपत्र गरिदिएको भन्ने काल्पनिक एवं झुठ्ठा हो भन्ने विपक्षको लेखाई भए तापनि छोडपत्र लेखिदिएकै होइन भन्न सकेको छैन । नापीमा छोडपत्रको नक्कल मैले पेश गरेको र सो नक्कल वादीले हेरी देखी सकेको फिराद लेखाइबाटै प्रष्ट छ । राप्तीदुन जग्गा बिक्री वितरणबाट पाएको राजीनामा पारित गरी बेचबिखन गर्न बन्देज भएको हुँदा छोडपत्र गरी लिनु दिनु पर्ने प्रचलन भएको हो ।