निर्णय नं. ३५५० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५५० - अंश भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/१७ २७७६ निर्णय नं. ३५५० ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् ०४४ सालको दे.पू.नं. ५४४ फैसला भएको मिति : २०४५।६।१७।२ मा पुनरावेदक/वादी : गोमा खत्रीको मु.स.गर्ने ल.पु.न.पं.वा.नं.२ बस्ने लक्ष्मी सिलवाल विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ल.पु. गोदामचौर गा.पं.वा.नं.७ बस्ने गोविन्द खत्री भन्ने गोविन्दबहादुर खत्री मुद्दा : अंश (१) बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने । (प्रकरण नं. ९) (२) मुद्दा चल्दाचल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिने । (प्रकरण नं. ९) (३) बकसपत्र विवादास्पद स्थितिमा रहेको अवस्थामा मुद्दा सकार गर्न नपाउने भन्ने आधारमा मुद्दा खारेज गर्ने गरेको मिलेको नदेखिने । (प्रकरण नं. ९) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर प्रत्यर्थी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल उल्लिखित मुद्दा : फुल बेञ्चबाट (ने.का.प.२०३२,पृष्ठ २१८) सिद्धान्त प्रतिपादित फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. बाजे लोकबहादुर को ३ छोरा मध्ये जेठा दुर्गाबहादुर मेरो पति तथा विपक्षीको बाबु हुनुहुन्थ्यो । बाजे बज्यै परलोक भइसकेपछि मेरो पति तथा देवरहरुको बीच बण्डापत्र भइसकेको रहेछ । मेरो पतिको २ श्रीमती मध्ये म जेठी हुँ र कान्छीको एक मात्र छोरा विपक्षी हुन । पति दुर्गाबहादुरको २०३२ सालमा मृत्यु भएको र कान्छी सौताको पनि मृत्यु भइसकेकोले सम्पूर्ण सम्पत्तिको अंशियार म र विपक्षी मात्र भएकोमा लोग्ने मानिसको हैसियतले विपक्षीले नै सम्पूर्ण सम्पत्ति रेखदेख गर्ने गरिरहेकोमा आफ्नो औकात अनुसारको दान पूण्य गर्न केही पैसा देउ भन्दा पनि नदिएको र मलाई राम्रोसँग हेरचाह पनि नगर्ने तथा खान पनि नदिने गर्दा मिति ०४१।७।१३ गते मैले विपक्षीसँग मेरो अंश भाग छुट्याई देउ भनेको अंश दिन्न भनेकोले मेरो लोग्नेको चलअचल विपक्षी जिम्मा भएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छट्टिएको मिति कायम गरी तायदाती लिई सो बाट मैले पाउँने २ खण्डको १ खण्ड अंश दिलाई पाउँ र अड्डैबाट बण्डा समेत गराइपाउँ भन्ने समेत व्यहोराको गोमा खत्रीको मिति २०४१।८।६ को फिरादपत्र । ३. यो फिरादका वादी गोमा खत्री मिति २०४१।२।२३ गतेको दिन आफ्ना कालगतिले परलोक भइसकेका छन । परलोक नहुँदासम्म मैले नै आफ्नो इज्जत आमद अनुसार आफू सरह खान लाउन दिई धर्मब्रत दान पूण्य समेत गर्न दिएको र नमरुन्जेल मैले नै औषधी उपचार गरेको र उहाँ आमाका कालगतिले मृत्यु भएपछि मैले नै दागबत्ती काजक्रिया गरी हालसम्म आसौचको पूरा सेतो पोशाकमा छु । अब यस मुद्दामा दैयादार अझ कोही हुन नसक्ने र यस अवस्थामा फिराद खारेज हुनुपर्ने हुँदा फिराद खारेज गरी अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको गोविन्द खत्रीको २०४२।१।२४ को प्रतिउत्तरपत्र । ४. वादी प्रतिवादीको अंशियार नै नहुँदा अंशीयारका नाताबाट मु.स.गरेको आधारमा प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदाल