निर्णय नं. ८०६२ - पर्खाल भत्काई सार्वजनिक कुलो कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०६२ - पर्खाल भत्काई सार्वजनिक कुलो कायम भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/०३/१६ ३०७० निर्णय नं.८०६२ वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत् २०५९ सालको दे.पु.नं. ....८९५० फैसला मितिः २०६५।३।१६।२ मुद्दाः– पर्खाल भत्काई सार्वजनिक कुलो कायम पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.११ बस्ने सिद्धि स्मृति अस्पताल संचालक समितिका अध्यक्ष बर्ष ५० को श्यामसुन्दर धौभडेल विरुद्ध विपक्षी वादीः भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१२ बस्ने रत्नबहादुरको छोरा अं. बर्ष ६३ को रत्न भक्त सिख्वाल शुरु फैसला गर्नेः मा.न्या.श्री मधुसुदनलाल श्रेष्ठ मा.न्या. श्री गोविन्द कुमार श्रेष्ठ § संस्थाका पदाधिकारीले गरेको काम संस्थाको तर्फवाट गरिने हुँदा पदाधिकारीहरूले गरेको कामको कानूनी जिम्मेवारी संस्थामा भइरहने हुन्छ । पदाधिकारी निरन्तर परिवर्तन हुन सक्छन् तर संस्था अविछिन्न उत्तराधिकारवाला स्वशासित हुने भएको हुँदा नालेश उजूर गर्नु पर्दा संस्थालाई नै विपक्षी वनाउनु पर्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री रविकृष्ण हाडा विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री सशिचन्द्र मिश्र अवलम्वित नजीरः सम्बद्ध कानूनः संस्था दर्ता ऐन, २०३४ को दफा ५ फैसला न्या. बलराम के.सी.: मिति ०५७।१०।११ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । मेरो नाममा दर्ता भएको भ.पु.जि. चितपोल गा.वि.स. वडा नं. १(क) वाट हाल का.न.पा. वडा नं. ७ कि.नं. १६ उत्तर तर्फ रहेको कि.नं. ६२ कायम भएको कुलो सिपाडोलदेखि बगीआउने पानी हनुमन्तेमा गै मिसिने भएको २०२१ सालको नापीमा पनि सार्वजनिक कुलो भनी नापनक्सा भएको थियो । उक्त कुलोमा साथमा पर्न प्रतिवादीको कि.नं. ७१ र ७० को जग्गामा विपक्षीले पर्खाल वनाउंदा कि.नं ६२ को कुलो समेत मिची पर्खाल लगाउन लागेको देखि भन्दा समेत नमानेकोले पर्खाल लगाई पुरा गरेको हुँदा कि.नं. ६२ को कुलोमा वनाएको पर्खाल भत्काई कुलो यथावत गरिपाऊँ भन्ने फिराद दावी । कुलो मिची पर्खाल लगाएको होइन अस्पताल समेतको सुरक्षा गरी कुलोको निकासा नरोकिने गरी कुलोको सिमानामा ढुङ्गा समेत लगाएको हो । सो पर्खालले विपक्षीलाई केही असर गरेको छैन विपक्षीलाई असर नपरेको कुरामा फिराद गर्ने अधिकार वादीलाई छैन । दुखःदिने नियतले मात्र फिराद गरेकोले फिराद खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर पत्र । साविकबमोजिम कुलो सञ्चालन भैरहेको सो कुलो देखि उत्रर तर्फको सांधकमा कम्पाउण्ड वाल लगाई व्यवस्थित गरेको कुराले वादीलाई असर पुर्षाएको भन्न मिलेन । तसर्थ न.नं. ५ को पर्खाल भत्काई ४ को कुलो कायम गरिपाऊँ भन्ने वादीदावा पुग्न सक्दैन भन्ने समेत मिति २०५७।३।१।५ को भ.पु.जि.अ.को फैसला । भ.पु.जि.अ.को फैसला कानूनी त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी हुने ठहराई ०२१ सालको नापी नक्सामा देखिएको कि.नं. ६२ को कुलो सार्वजनिक कुलो यथावत कायम गरिपाऊँ भन्ने समेत पुनरावेदकको पुनरावेदन जिकिर । यसमा दावीबमोजिम वादी प्रतिवादीको जग्गाको बीचमा रहेको कुलो समेतको जग्गा मिची प्रतिवादीले पर्खाल लगाएको भन्ने अदालतवाट भई आएको नक्सा नं. ४ र ५ को प्रकृति समेतवाट देखिएको अवस्थामा वादीदावी नपुग्ने