निर्णय नं. ३५६२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५६२ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/२० २४०४ निर्णय नं. ३५६२ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट नं. १४४२ आदेश भएको मिति : २०४५।६।२०।५ मा निवेदिका : जि.बाँके खासकुस्मा गा.पं.वा.नं.बस्ने इन्द्रकुमारी हमाल विरुद्ध प्रत्यर्थी : बाँके जिल्ला अदालत स्थित निर्वाचन विशेष अदालत जि.न्या.फणिन्द्र दत्त शर्मासमेत विषय : उत्प्रेषण (१) निर्वाचन अपराध तथा सजायँ ऐन, २०२४ को दफा १४(२) अन्तर्गत उजूरी दिएकोमा निर्वाचन विशेष अदालतले सो उजूरीमा कारवाही गरी मतगणना सम्बन्धित कागजातहरु आफैं हेरी कानून बमोजिम ठहर गरेको देखिन आएकोले निर्वाचन विशेष अदालतका न्यायाधीशलाई दोहोरो मतगणना गर्ने अधिकारै नभएको अधिकार ग्रहण गरी अनाधिकार फैसला गरेको भन्ने निवेदकको निवेदन जिकिर कानूनसंगत नदेखिने । (प्रकरण नं. ९) आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णयादेश निम्नानुसार छ । २. जिल्ला बाँकेको नेपाल महिला संगठनको जिल्ला कार्य समितिको इलाका नं. ८ बाट सदस्य पदमा म निवेदिका र विपक्षी रिना तुलाचन दुईजनामात्र उम्मेदवार भई २०४४।१।२७ गते सम्पन्न निर्वाचनमा मेरो बालक छापमा २३ मत र विपक्षीको पन्जा छापमा २१ मत प्राप्त भएको एवं एक मत बदर ठहर्याई मलाई निर्वाचित घोषित गरी सकिएपछि विपक्षी रिना तुलाचनले इन्द्रकुमारीको ४ वटा मतपत्र वर्गीय संगठन नियमावली, २०३७ को नियम ५७ अनुसार बदर हुनु पर्नेमा सो नगरी सदर गराई र मेरो सदर हुने एक मतलाई बदर गराई निर्वाचन अधिकृते गैरकानुनी तवरबाट इन्द्रकुमारलाई निर्वाचित घोषणा गरेकोले यस अदालतबाट मत गणना गरी निर्वाचन परिणाम बदर गरी म रिना तुलाचनलाई उचित तवरले नेपाल महिला संगठन जिल्ला कार्य समिति बाँकेको इलाका नं. ८ को क्षेत्रीय सदस्य पदमा निर्वाचित भएको फैसला गरिपाउँ भनी ०४४।२।३ मा वर्गीय संगठन विशेष अदालत बाँके, श्री बाँके जिल्ला अदालतमा उजूर गर्नु भयो । सो उजूरउपर म निवेदिकाले विपक्षीले मतपत्र बदर हुने कारण उल्लेख गर्न नसकेको पुनः गणना गरी पाउने सुविधा कहाँबाट पाएको उल्लेख गर्न नसकेको कारणले उजूरी कानूनसंगत नहुँदा उजूरी निवेदन खारेज गरिपाउँ भनी २०४४।४।२८ मा प्रतिउत्तर लगाएको थिएँ । ३. उक्त मुद्दामा मलाई २०४४।४।२० गतेको तारेख तोकिएकोमा काबु बाहिरको परिस्थितिबाट उक्त तारेख गुज्रन गएकोमा अ.बं.५९ बमोजिम ३० दिन भित्र गुज्रेको म्याद थाम्न अदालतले स्वीकार नगरेपछि श्री ५ का जुनाफमा विन्तिपत्र चढाई धरौटी तारेखमा बस्न पाउँ भनी निवेदन दिंदा पनि सो बमोजिम धरौटी तारेखमा नराख्ने व्यहोराको आदेश गरियो । जिल्ला कार्यालय बाँकेबाट स्वस्तिक छाप ३ लागेको मतपत्र सिलबन्दी खाम वेञ्चबाट खोली हेर्दा मतपत्र थान ४५ मध्ये सदर बदर छुट्याई हेर्दा वर्गीय संगठन नियमावली, २०३७ को नियम ५७(२)(ख) विरुद्ध निर्वाचन हुने पदको संख्या भन्दा बढी चिन्हमा मतछाप लगाएको मत पत्र थान ९ भएकोले सो बदर मतलाई छुट्याई सदर मत गणना गर्दा बालक चिन्हमा छाप लागेको मतपत्र जम्मा १६ थान र हातको पन्जामा छाप लागेको मतपत्र २० भएको देखियो । यसबाट वर्गीय संगठन नियमावली, २०३७ को नियम ५७ र ५८ विपरीत कम मत प्राप्त गरेको बालक चिन्हलाई विजयी घोषणा गरेको गैरकानुनी देखिएकोले सो गैरकानुनी घोषणालाई मान्यता दिन नमिलेको हुँ