निर्णय नं. ८९६१ - लिखित बेइज्जती

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९६१ - लिखित बेइज्जती भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/१०/०४ ५४२१ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९६१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री प्रकाश वस्ती फौ.पु.नं. ०६७–CR–११५२ फैसला मितिः २०६९।१०।४।५ मुद्दाः– लिखित बेइज्जती । पुनरावेदक वादीः कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका वडा नं.१५ बस्ने ने.रा.भू.पू. सैनिक संघ जिल्ला कार्यसमिति कञ्चनपुरका सभापति खड्गबहादुर खत्री विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वडा नं. १८ बस्ने पूर्णसिँह थापा मगर शुरु फैसला गर्नेः मा.जि.न्या.श्री भोजराज शर्मा पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री बाबुराम रेग्मी § गाली बेइज्जतीसम्बन्धी मुद्दामा पीडित पक्षको इज्जत प्रतिष्ठामा पुग्न गएको क्षति वा हानि नोक्सानीबापत पीडित पक्षलाई प्राप्त हुने उपचार मनोवैज्ञानिक प्रकृतिको हुन्छ । यस क्रममा प्रतिवादी पक्षलाई साङ्केतिक प्रकृतिको सजाय गरी पीडित पक्षको इज्जत र प्रतिष्ठामा पुगेको क्षतिलाई अदालतले पुनर्स्थापित गरिदिनु नै पीडित पक्षका लागि न्याय र प्रतिवादी पक्षका लागि दण्ड – दुवै प्रयोजनका लागि पर्याप्त हुन्छ । प्रतिवादीलाई हुने सजायको मात्रा यस सन्दर्भमा विचारणीय नै हुँदैन भन्ने होइन तर सजायको मात्रात्मक बढोत्तरीमा नै पीडित पक्षले पाउने उपचार खम्बीर हुन्छ भन्ने निरपेक्ष धारणा राख्नु उपयुक्त नहुने । (प्रकरण नं.४) § कुनै खास तथ्य, घटना वा सन्दर्भको उल्लेख गरी प्रयोग गरिएका बेइज्जतीपूर्ण अभिव्यक्तिहरू जो वास्तवमा सत्य पनि हुँदैनन्; तिनीहरूको तुलनामा कुनै खास सन्दर्भको उल्लेख नगरी सामान्य रूपमा अभिव्यक्त गरिएका यस्ता शब्दहरूलाई पीडित पक्षको इज्जतमा पुग्ने क्षतिको दृष्टिबाट कम गम्भीर नै मान्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक वादीका तर्फबाटः विद्वान् अधिवक्ता विश्वनारायण महर्जन प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § गाली र बेइज्जती ऐन, २०१६ को दफा ३ र ५ फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६७।११।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुनआएकोे प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– म यस जिल्लामा नभएको मौका पारी विपक्षीले मिति २०६६।७।१५ गते आफ्नो अध्यक्षतामा बैठक राखी केन्द्रीय समितिको निर्णय र विधानविपरीत आफ्नो अध्यक्षतामा स्वघोषित कार्यसमिति गठन भएको भनी विभिन्न निकायमा सोको जानकारी दिई विपक्षी पूर्णसिँह थापा मगरले मिति २०६६।७।१७ मा मेरा नाउँमा पत्र लेखी सो पत्रमा मलाई नैतिक पतन हुने र संघको गौरवमय इतिहासमा आँच आउने कार्यहरू सञ्चालन गर्दै आउनुभएको र जंगल पसी कार्य गरेको, अफिसबाट चोरी लगेको सामानहरू नयाँ कार्यसमितिलाई बुझाउने भनी र नबुझाएमा भ्रष्टाचारी र चोरी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गराइनेछ भनी मेरो इज्जत प्रतिष्ठामा आँच आउने शब्द प्रयोग गरी गाली र बेइज्जती ऐन, २०१६ को दफा ३ बमोजिम कसूर गरी लिखित रूपमा बेइज्जत गरी अन्याय गरेकाले निज प्रतिवादीलाई गाली र बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम हदैसम्म सजाय गरी ऐ.ऐनको दफा १२ बमोजिम क्षतिपूर्तिसमेत दिलाइ भराई पाऊँ भन्ने व्यहोराको फिरादपत्र । विपक्षीले संघको विधानविपरीत कार्य गरेकोले संघको विधानको धारा १८ बमोजिम अविश्वासको प्रस्तावद्वारा निजलाई सर्वसम्मत रूपमा पदमुक्त गरी र नय