निर्णय नं. ३५६८ - लिखत पारित
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५६८ - लिखत पारित भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०५/०९ २४७५ निर्णय नं. ३५६८ ने.का.प. २०४५ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.फु.बे.नं. ६९ फैसला भएको मिति : २०४५।५।९।५ मा निवेदक/प्रतिवादी : जिल्ला सप्तरी डाढा गा.पं. वा.नं.९ बस्ने महेन्द्रनारायण तेलीसमेत विरुद्ध विपक्षी/वादी : ऐ.डिमन गा.पं. वा.नं.६ बस्ने भुवनेश्वर साहु तेली मुद्दा : लिखत पारित (१) लिखतको हरफलाई नछोई कारणीले सही गरेकोलाई कानूनले स्पष्ट रुपबाट गैरकानूनी भन्न सकिने व्यवस्था गरेको नदेखिए पनि त्यस्तो लिखत व्यवहारमा प्रचलनमा रहेको नदेखिएकोले यस्तो सहीलाई शुद्ध लिखतमा परेको सही भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. १६) (२) वारेसनामाको लिफा दिएको कारणबाट कारणीको सहीमा सही वा वारेस भन्ने परेकोबाट सो लिफामा राजीनामा खडा गर्दा सही परेको वारेस भन्ने शब्द मिल्न नआउने भएबाट सो वारेस भन्ने शब्दलाई दबाउन वार्ड ६ भनी लेखेको स्पष्ट देखिन आएकोले पास गरी पाउँ भनी दावी लिएको लिखत सत्य साँचो व्यहोराको नदेखिई लिफामा खडा गरेको देखिन आउने । (प्रकरण नं. १६) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालतको डिभिजन बेञ्चबाट मिति २०४१।९।२४।२ मा भएको फैसला दोहोर्याई पाउँ भनी निवेदकहरुले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारमा विन्तिपत्र चढाउनु भएकोमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई दिनु भन्ने हुकुम बक्स भई आएबमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. विपक्षीहरुको सगोलका लोग्ने दाजु बाबु महादेव साहू तेलीले मसँग रु.३८,००१।–अड्तीस हजार एक बुझी लिई सो मोलमा आफ्ना दर्ताको जि.सप्तरी डाँडा गा.पं.वार्ड नं. ९ को कि.नं.११९ को ०–१४–१७, वार्ड नं. ९ कि.नं.१३९ को ०–१४–६, वार्ड नं. ९ कि.नं.२०६ को ०–१३–६ समेत २–२–९ दुई विगहा दुई कठ्ठा नौ धुर जग्गा मलाई मिति ०३३।१२।३०।३ मा राजीनामा लेखी दिई सो राजीनामा ऐनका म्याद ६ महीाभित्र पारित गरी दिनु भन्दा अगावै ०३४ साल श्रावण महिनामा आफ्ना काल गतिले परलोक भइसकेकोमा निजको हक खाने प्रतिवादीहरु निजको सगोलको स्वास्नी भाइ र छोराहरुलाई पनि उक्त राजीनामा पारित गरिदिनु भनी भन्दा पारित गरी नदिएकोले पारित गरिपाउँ भन्ने समेत फिराद दावी रहेछ । ३. स्वर्गीय हाम्रो पिता, दाजु र पति महादेव साहू तेलीले वादीसँग रु.३८,००१।– लिई वादी दावी अनुसारको जग्गा वादीलाई राजीनामा लेखी दिएको छैन वादी दावी झुठ्ठा हो । यसमा शुद्ध साँचो कुरा क्या हो भन्ने हाम्रै गाउँ बस्ने दानालाल साहूसँग यस स.जि.अ.मा पिता दाजु लोग्ने महादेव साहुको दे.नं. २५०१ को ज.खि. मुद्दा चलेको थियो सो मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमतिमा तारेख लिनका लागि यो वादीलाई स्वर्गीय बुबा, दाजु, लोग्ने महादेव साहुले वारिसनामाको लिफाहरु बनाई दिएका थिए यसको अलावा वादीसँग कुनै लेनदेन कारोवार थिएन । अतः वादीले कुन किसिमबाट कागज बनाएको हो, हामीलाई देखाएपछि सद्दे कीर्तेमा बयान गर्नेछौं भन्ने समेत व्यहोराको प्रतिवादीहरुको प्रतिउत्तरपत्र ।