निर्णय नं. ८९६२ - रैकर लगत कट्टा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९६२ - रैकर लगत कट्टा भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/११/२८ ६१४० ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल संवत् २०६२ सालको दे.पु.नं. ८४९६ फैसला मितिः २०६९।११।२८।२ मुद्दाः रैकर लगत कट्टा । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ बस्ने काजिमानन्द बज्राचार्य समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वडा नं. ३ बस्ने कृष्णबहादुर महर्जन शुरु फैसला गर्नेः का.मु. प्रशासक श्री दामोदर ढकाल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की § विवादित जग्गामा स्वामित्वको दावी गर्नेले हालै प्राप्त गरेको जग्गाधनी प्रमाणपूर्जा पेश गर्नु मात्र पर्याप्त हुँदैन । सो प्रमाणपूर्जा वैधानिक रूपमा प्राप्त गरेको हो भन्नलाई सोको हकको स्रोतहरूबाट विवादित जग्गामाथिको स्वामित्वको अधिकार स्थापित भएको हुनुपर्ने । § जग्गाको स्वामित्वको प्रमाणस्वरूप जग्गाको लगत, भोग र तिरो समेतका प्रमाणहरूको अभावमा फिल्डवुकमा किसानले लेखाएको व्यहोराले मात्र जग्गाको स्वामित्वको सिर्जना हुन नसक्ने । (प्रकरण नं.६) § गुठीको जग्गा कारणवस हैसियत परिवर्तन भई रैकरमा दर्ता भएको रहेछ भने गुठी संस्थानको प्रशासकले जग्गाको हैसियत परिवर्तन भई दर्ता हुन गएको प्रमाणित हुन आएमा साविकअनुसार नै जग्गा दर्ता गर्न सक्ने र गलत रूपमा दर्ता भएको लगत कट्टा गर्ने अधिकार प्रदान गरेकोले यस्तो महत्वपूर्ण अधिकार गुठीको प्रशासन, संरक्षण र नियमन गर्ने गुठी संस्थानलाई ऐनद्वारा प्रदत्त हुने । § कुनै ऐन संविधानसँग बाझिएको ठहर भई बदर भएको वा कानूनका मान्य सिद्धान्तविपरीत भई लागू गर्न नसकिने भएको अवस्थामा बाहेक विधायिकाले बनाएको कानूनलाई अदालतले कार्यान्वयन गर्नुपर्ने । § गुठी संस्थानको प्रशासकलाई प्रदान भएको न्यायिक अधिकार आत्मगत रूपमा र स्वेच्छाचारी रूपमा प्रयोग हुन सक्दैन । यो अधिकारको प्रयोग गर्दा सदैव प्रचलित कानून तथा वस्तुगत प्रमाणहरूको निष्पक्ष मूल्याङ्कन गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । गुठी संस्थानले गरेको निर्णयमा कानून तथा प्रमाणहरूको मूल्याङ्कन गरी न्यायिक मन लगाई निर्णय भएको देखिएमा यस अदालतबाट गुठी संस्थानका प्रशासकले निर्णय गरेको आधारले मात्र स्वेच्छाचारी भन्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता शंकर सुवेदी र भवानी खड्का विपक्षी तर्फबाटः विद्वान अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र ज्ञानेन्द्रप्रसाद पोखरेल अवलम्बित नजीरः § नेकाप २०६६, नि.नं. ८२३८ सम्बद्ध कानूनः § गुठी संस्थान ऐन, २०३३ को दफा ३९, ३९(१), (२)(१) फैसला न्या.गिरीश चन्द्र लालः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१)(क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– मेरो पिता आशामरू महर्जनका नाउँमा शिव शक्तेश्वर गुठीको लगत नं. ८ मा दर्ता भएको काठमाडौं महानगरपालिका वडा नं. २२(ग) कि.नं १७८ को क्षेत्रफल १–१४–१ र ऐ. कि.नं. १७९ को क्षेत्रफल ०–६–१ समेत जग्गा निज मेरो पिता आशामरू महर्जन २०४५।६।७ मा परलोक भइसकेका र निजको शेषपछिको हकदार म मात्र हुँदा उक्त जग्गाहरूमा दर्तावाला जोताहासमेत मेरो नाउँमा नामसारी गरी जग्गाधनी प्रमाणपूर्जा पाऊँ भनी काठमाडौं जिल्ला काठमाडौं महानगरपा