निर्णय नं. ३५७४ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५७४ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१९ २३९८ निर्णय नं. ३५७४ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४५ सालको रिट नं. १९०१ आदेश भएको मिति : २०४५।८।१९।१ मा रिट निवेदक : महोत्तरी मटिहानी आदर्श गा.पं.वार्ड नं.६ बस्ने रामकुमार मण्डल धानुक विरुद्ध विपक्षी : जि.महोत्तरी मटिहानी आदर्श गा.पं.वार्ड नं. ८ बस्ने किशोरीप्रसाद चौधरीसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) अधिकारप्राप्त निर्वाचन विशेष अदालतले दुवैपक्षको रोहवरमा मतगन्ती समेत गरी तथ्यको निरोपण गरिसकेकोलाई अन्यथा भन्न मिल्ने स्थिति नहुँदा मैले बढी मत पाएकोले मलाई निर्वाचित घोषित गरिनु पर्ने भन्ने निवेदकको जिकिर नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. २०४३ सालको स्थानीय पञ्चायतको निर्वाचनमा मटिहानी गा.पं.को लागि विपक्षी निर्वाचन अधिकृत खटिई जानु भएको थियो । २०४३।१२।१० का दिन मतदानको कार्य शान्तिपूर्वक नै सुसम्पन्न भयो । मतदानको कार्य सम्पन्न भएपछि मतपेटिकाहरु सबै उम्मेदवारको रोहवरमा बन्द गरी लाहा छाप लगाई शिल बन्द गरियो । प्रधानपञ्चको निर्वाचनको लागि म रिट निवेदक, प्रत्यर्थी किशोरीप्रसाद चौधरी समेत ५ जना उम्मेदवार थियौं । यसै बीच मतदान अधिकृतका सही परेका र नपरेका मतपत्रको मुचुल्का खडा गरी खामबन्दी गर्नु अगावै अञ्चलाधीश कार्यालय समेतका ४ वटा गाडी आई गैरकानूनी तरिकाबाट मतपेटिका जलेश्वर लगियो । निर्वाचन निर्देशिकाको दफा ५२ अनुसार मतपेटिकाको साथ उम्मेदवारहरुका वारेसलाई समेत लैजानु पर्नेमा सो बमोजिम नलगी मतगणनाको बखत प्रत्यर्थी उम्मेदवारको बाहेक म अन्य उम्मेदवारको पठाएको वारेस समेतउपर जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नरेशकुमार गुरुङको जाहेरीले केही सार्वजनिक (अपराध तथा सजाय) ऐन, २०२७ अन्तर्गत मुद्दा चलाई मतगणनाको समयमा निजहरुलाई प्रहरीले थुनामा राखी स्वेच्छिक तवरले म निवेदकले पाएको १७८५ मत मध्ये ११३५ मत बदर ठहर्याई ६५० मत र प्रत्यर्थीलाई ९२२ मत परेको भनी देखाई २०४३।१२।११ को मिति राखी प्रधानपञ्चको निर्वाचन परिणामको घोषणा निज अधिकृतले गर्नु भयो । सो निर्वाचन परिणाममा चित्त नबुझी मैले म्यादभित्रै निर्वाचन विशेष अदालत महोत्तरीमा उजूरी गरेको थिएँ । निर्वाचन विशेष अदालतबाट पनि प्रत्यर्थीलाई नै विजयी घोषित गरेको निर्वाचन अधिकृतको निर्णय नै सदर कायम गरियो । ३. मतपत्रमा कालो मसीको प्रयोग गरिनु पर्नेमा प्रधानपञ्चको मतपत्रमा निलो र हरियो मसीको प्रयोग गरिएको छ । मतदान केन्द्रबाट मतपेटिकाहरु अवैध तरिकाबाट प्रशासनले उठाएर जलेश्वर लग्यो । मतगणनामा वारेस राख्न दिइएन, राखिएको वारेसहरुलाई थुनामा राखी मतपत्र गन्ती गरियो । यी कुराहरुबाट मतपत्रहरु थपघट फेर बदल गरिएको प्रष्ट हुन्छ । परिणाम घोषणाको मुचुल्कामा प्रत्यर्थीको मात्र सही छ । निर्वाचन विशेष अदालतमा मतपत्रहरु आउँदा शिलछापहरु टुटेका अवस्थामा छन् जो निर्वाचन निर्देशिकाको दफा ८३(२) र ८२(१), स्थानीय पञ