निर्णय नं. ८९६३ - निर्णय बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९६३ - निर्णय बदर भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/०५/१९ ३१०९ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास ०६७–CI–११७६ फैसला मितिः २०६९।५।१९।३ मुद्दाः निर्णय बदर । पुनरावेदक प्रतिवादीः जिल्ला झापा, खजुरगाछी गा.वि.स. वडा नं. ७ बस्ने बुधलाल यादव विरुद्ध प्रत्यर्थी वादीः जिल्ला झापा, खजुरगाछी गा.वि.स. वडा नं. ७ बस्ने लक्ष्मी यादवको मु.स. गर्ने सोभादेवी यादव शुरु फैसला गर्नेः भू.सु.अ.श्री मधुसुधन पोखरेल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ऋषिराज मिश्र मा.न्या. श्री पुरुषोत्तम भण्डारी § सगोलका एकै घर परिवारको नाममा रहेको जग्गामा सगोलकै अर्को कुनै एक सदस्य मोहीको हैसियतमा रहन नसक्ने भन्ने ऐनको मनसाय रहेको देखिन्छ । तर घर परिवार बाहिरको अन्य कुनै जग्गाधनीको नाममा रहेको जग्गामा एकै घर परिवारको कुनै एक सदस्य साविकदेखि मोही कायम रही आएकोमा पछिबाट सो जग्गा मोहीको घर परिवारको अर्को कुनै सदस्यले खरीद गरी लिई जग्गाधनी बन्न गएको अवस्थामा मोहीसँग हालवाला जग्गाधनीको नाता परेको कारण देखाई साविकदेखिको मोहीलाई आघात पर्ने गरी मोही निष्काशनको दावी लिन नपाउने । § छुट्टिभिन्न भई बसेको दाजु र भाई कुनै जग्गाको जग्गाधनी र मोही हुन नसक्ने भन्ने नदेखिएको अवस्थामा घरको दाजुले केवल पछिबाट खरीद गरी लिएकै आधारमा साविकदेखि मोही कायम रहेका व्यक्तिको मोही हक समाप्त हुन्छ भन्नु विवेकसम्मत र न्यायसम्मत नहुने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § भूमि सम्बन्धी ऐन, २०२१ को दफा २, २(ख) फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन पत्रको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः– विपक्षी बुधलाल यादव जग्गाधनी हुनुपूर्व नै मेरो मोही हक स्थापित भएको र सालसालै बाली बुझाउँदै आई घर बसोवाससमेत भएको खजुरगाछी ७ को कि.नं. ३३ को ज.वि. ०–४–१५ जग्गा विपक्षीले जग्गा खरीद गरी लिएपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ग) अनुसारको एकाघर परिवारभित्रको व्यक्ति मानी मेरो मोही हक कट्टा गरी दिएका हुँदा उक्त निर्णय बदर गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी । विपक्षी मेरा भाई नाताका मानिस हुन् । निजको घर बसोवास नभएको हुँदा मैले घरसम्म बनाउन दिई बास बस्न दिएको हो । निजको जग्गामा जोत भोग पनि छैन र निजको मोही हक पनि कायम नभएको जग्गाको मोही लगत कट्टा भएको निर्णय बदर गर्नुपर्ने होइन भन्ने प्रत्युत्तर जिकीर । खजुरगाछी ७ को कि.नं. ३३ को ज.वि. ०–४–१५ को मोही लक्ष्मी यादव हुन् । उक्त जग्गामा मोहीको घर बसोवास छ । तर सम्पूर्ण जग्गामा मोहीको जोतभोग छैन भन्ने समेत व्यहोराको सर्जमीन मुचुल्का । यसमा वादीको मोही हक कायम भएको खजुरगाछी ७ को कि.नं. ३३ को ज.वि. ०–४–१५ को मोही हक सुरक्षित हुँदा मोही कट्टा भएको लगतलाई पुनः कायम राखी स्रेस्तामा लगत कायम गरी दिन मालपोत कार्यालय दमकलाई लेखी पठाई दिनु भन्ने भूमिसुधार कार्यालय, झापाको मिति २०६३।१०।१७ को फैसला । मोहीले भरेको १ नं. फाँटवारीको लगतअनुसार हामी दाजुभाइ मोहीको परिभाषाभित्र पर्ने व्यक्ति होइनौं । सो कुरा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २ख को परिभाषाबाट स्पष्ट