निर्णय नं. ३५८५ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५८५ - ज्यान भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१२ २६९८ निर्णय नं. ३५८५ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ४४३ र ४७१ फैसला भएको मिति : २०४५।८।१२।१ मा पुनरावेदक/प्रतिवादी : का.जि.बलम्बु गा.पं.वा.नं.२ बस्ने धमा भन्ने धनबहादुर महर्जन विरुद्ध पुनरावेदक/वादी : उपप्रधानपञ्च भिमबहादुर नकर्मीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : का.जि.बलम्बु गा.पं.वा.नं.२ बस्ने धनबहादुर महर्जनसमेत मुद्दा : ज्यान (१) अघि देखि मार्ने मनसाय पनि नराखेको षड्यन्त्र पनि नगरेको चोर चोर भनी गाउँमा हल्ला भएबाट पक्री ज्यान मर्ला जस्तो कुनै कार्य नगरी बाधछाँद गर्दा ज्यान मर्न गएको भवितव्यको अपराध देखिने । (प्रकरण नं. २९) वादी श्री ५ को सरकारतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्रबस्नेत प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवैपक्षको पुनरावेदन परी पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. मिति २०३६।९।१६ गते राती अं.२ बजेको समयमा गाउँमा होहल्ला भएको सुनी मैले घरको झ्याल खोली हेर्दा बलम्बु स्कूल भवनको चौरमा चोर आयो भनी गाउँका मानिसहरु स्कूलमा जम्मा भई चोर भनिएको हाल नाम थाहा हुनआएको गौफले भन्ने चन्द्रबहादुर महर्जनलाई काशी महर्जन, रत्नलाल महर्जन र साथीहरु समेत भई हात लात मुक्काले हानी कुटपिट गरी घटनास्थलमा नै मारी भागी बेपत्ता भएकाले निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको बलम्बु गा.पं.का उप–प्रधानपञ्च भीमबहादुर नकर्मीको मिति २०३६।९।१७ को जाहेरी दर्खास्त । ३. मेरो लोग्ने गोफले भन्ने चन्द्रबहादुर मिति २०३६।९।१६ गतेका दिन बेलुका अं.८ बजेको समयमा बलम्बुमा साला विरामी भएको छ रे हेरी आउँछु भनी गएको सो राती घर आएनन् भोलिपल्ट १७ गतेको दिन ८:३० बजे लोग्ने चन्द्रबहादुरलाई बलम्बुको स्कूल अगाडि कुटपिट गरी मारेको भन्ने हल्ला सुनी हेर्न जाँदा लोग्नेलाई कुटपिट गरी मृत्यु गराएको देखे । मैले बुझ्दा धमी भन्ने धनबहादु महर्जन, काशी महर्जन, रतनलाल महर्जन, सागर महर्जन, मोहलाल श्रेष्ठ, गोकुलदाश श्रेष्ठ र अरु नाम नजानेका मानिस समेत भई कुटपिट गरी लोग्ने गोफले भन्ने चन्द्रबहादुरलाई मारेको भन्ने बुझिएकाले निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मृतककी श्रीमती दानमायाको मिति २०३७।५।९ मा प्रहरीमा भएको कागज । ४. मिति २०३६।९।१६ गते राती १२:४५ बजेको समयमा हिरामाया श्रेष्ठ दिशा बस्न भनी र नजिकै बसेकी रहीछन् र निजले चोर आयो चोर आयो भनी कराएको सुनेकाले उठी म बाहिर आएँ र टोलका मानिसहरु पनि जम्मा भएर हिरामायाले चोर भनी देखाएको मानिस बलम्बु स्कूलबाट बाहिर निस्की खोलातर्फ भागे र म मंगलदाश श्रेष्ठ, कान्छा श्रेष्ठ, मोहलाल श्रेष्ठ, कबाटा श्रेष्ठ, नात श्रेष्ठ, पहलमान श्रेष्ठ समेत ७ जना र अरु नाम थाहा नभएका समेत भई भाग्ने गोफले भन्ने चन्द्रबहादुरलाई स्कूल भन्दा पूर्व पट्टि चौरनिर मैले समाते र मंगलदाशले खुट्टा बाँधेर हामीहरु उक्त माथि लेखिएका मानिसहरुले तानी ल्याई स्कूलको थाममा डोरीले पाता फर्काई निजका पटुकाले पनि बाँधी अब यसलाई नकुट म उपप्रधान पञ्च बोलाउन जान्छु