निर्णय नं. ३५९५ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५९५ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१३ २४६३ निर्णय नं. ३५९५ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. २५४५ आदेश भएको मिति : २०४५।८।१३।२ निवेदक : जि.भोजपुर मुलपानी गा.पं.वा.नं.७ बस्ने यादवकुमार चापागाई विरुद्ध विपक्षी : श्री लोकसेवा आयोग, केन्द्रीय कार्यालय, कमल पोखरी, काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) विज्ञापनमा स्नातक वा सो सरहको शैक्षिक योग्यता निर्धारण गरेको देखिँदा अंक गणना गर्दा प्राविधिक मात्रको शैक्षिक योग्यता भनी अंक गणना नगरेको भन्ने जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. ३५) (२) नियमानुसार प्राप्त गर्ने अंक गणना नगरी कम अंक प्राप्त गर्ने उम्मेदवारको नाम सिफारिश गर्न नमिल्ने भन्नु कानूनसंगत नहुने । (प्रकरण नं. ३५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश न्या.प्रचण्डराज अनिल : नेपालको संविधान, २०१९ धारा १६।७१ अनुसार दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ : २. निवेदकले २०३५ सालमा त्रि.वि.वि.बाट लिइएको कृषि शिक्षामा ८७.१ प्रतिशत अंक प्राप्त गरी विशिष्ट श्रेणीमा स्नातकोपाधी लिएको हुँ । विपक्षी लोकसेवा आयोगबाट प्रकाशित वर्ष ३, अंक ३४, मिति २०४२।८।२६ गतेको बुलेटिनमा माग गरिएको शाखा अधिकृत (रा.प.तृ.) पदको खुल्ला प्रतियोगिताको आवश्यक न्यूनतम योग्यता स्नातक वा सो सरह भन्ने किटानी उल्लेख भएकोले निवेदकले पनि उक्त पदको लागि विपक्षी कार्यालयमा तोकिएको शर्तको अधीनमा रही आवेदन गरेको थिएँ । विपक्षी आयोगद्वारा उक्त पदमा लिखित परीक्षा भएकोमा निवेदकले जाँच राम्रो गरेकोले परीक्षामा उत्कृष्ट नम्बर प्राप्त गरी उत्तीर्ण भएको सम्बन्धमा कुनै विवाद नभएकोले मिति २०४२।९।४ र २०४२।९।१७ गते भएको मनोवैज्ञानिक व्यक्तित्व परीक्षण र तर्कपूर्ण अभिव्यक्ति एवं अन्तर्वार्ता समेत सफलतापूर्वक दिएको थिएँ । मिति २०४२।११।२८।३ को विपक्षी आयोगद्वारा प्रकाशित सूचना बमोजिम निवेदकको नाउँ सिफारिश सूचीमा राखिएको रहेनछ । निवेदकले विशिष्ट श्रेणीमा स्नातकोपाधी प्राप्त गरेको परीक्षा सफलतापूर्वक दिएको परीक्षार्थी अनुत्तीर्ण भएको र तृतीय श्रेणीमा उत्तीर्ण परीक्षार्थी लगायत मनोवैज्ञानिक परीक्षामा संलग्न नभएको व्यक्ति (candidate) समेत उत्तीर्ण भएकोले विपक्षी आयोगले निवेदकले शैक्षिक योग्यता बापत पाउनु पर्ने प्रथम श्रेणीको नम्बर प्रतियोगितामा नचढाएकोले पाउनु पर्ने नम्बर दिई सिफारिश गरिपाउँ भन्ने व्यहोराको निवेदन मिति ०४२।१२।६ मा विपक्षी आयोगको कार्यालयमा दिएको थिएँ । विपक्षी आयोगबाट मिति २०४२।१२।१५ मा निवेदक सिफारिश क्रममा नपरेको जानकारी गराइयो । ३. खुला प्रतियोगिता सञ्चालन गर्दा स्नातक वा सो सरहको न्यूनतम शैक्षिक योग्यता हुनु पर्ने र त्यस्तो शैक्षिक योग्यताको प्रथम, द्वितीय र तृतीय श्रेणीमा क्रमशः २४, २० र १६ अंक दिने व्यवस्था विपक्षी आयोगबाट नै तोकिएको छ । विपक्षी लोकसेवा आयोगद्वारा प्रकाशित निजामती सेवाको पदपूर्ति प्रतियोगिताको निर्देशिका २०३९ को प्रकरण ११ बमोजिम खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिंदा लिखित परीक्षा, अन्