निर्णय नं. ३६०० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६०० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०८/०३ २८४६ निर्णय नं. ३६०० ने.का.प. २०४५ अङ्क १० पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रि.पु.ई.नं. ५० आदेश भएको मिति : २०४५।८।३।३ मा रिट निवेदक : मोरङ, २।१७८ तीनपैनी विराटनगर बस्ने गोपालप्रसाद उपाध्याय विरुद्ध विपक्षी : सञ्चालक समिति, नेपाल बैंक लिमिटेड धर्मपथ काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) निवेदकलाई दिएको पत्रमा लिखित सफाई उपर विचार हुँदा सो सन्तोषजनक नभई कर्मचारी नियमावलीको दफा ८, ७ को (क) बमोजिम तपाईले आफ्नो पदको काम र जिम्मेवारी पूरा गर्न नसकेको हुँदा दफा ८.१ को (च) बमोजिम सेवाबाट बर्खास्त गरिएको छ भन्ने उल्लेख भएकोबाट निवेदकलाई स्पष्टीकरण माग्दा लगाएको आरोप र बर्खास्त गर्दा लगाएको आरोप अलग अलग भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) शाखा प्रबन्धकको हैसियतले सो शाखाको काम कारवाहीको अन्तिम जिम्मेवारी निजमा नरहेको भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा उल्लिखित मुद्दा : २०४०।११।१८।५ मा मदनप्रसाद शर्मा विरुद्ध ने.बै.लि. प्रधान कार्यालय समेत भएको नि.नं. १६४९ मा स.अ.बाट सिद्धान्त प्रतिपादित । आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस सर्वोच्च अदालतको संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य नभई यस पूर्ण इजलास समक्ष पेश हुनआएको रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार छ । २. मिति २०२१।१०।२९ देखि नेपाल बैंक लिमिटेडको सेवामा प्रवेश गरी पदोन्नती हुँदै अधिकृत चौथो तह पुगी बजार अड्डा चोक शाखामा मैनेजर पदमा कार्यरत रही यस शाखालाई ज्यादै राम्रो मुनाफा पुर्याइएको र १९ वर्ष सम्मको अवधिमा कुनै विभागीय सजायँ नभएको व्यक्तिगत अभिलेखबाट पुष्टि भइरहेको अवस्थामा बजार अड्डा चोक अफिसमा ऋणी एवं ने.बै.कं.लि.सिटी अफिसको कर्मचारी स्व.कान्ता पोख्रेललाई दिएको कर्जा र सोही कर्जा सम्बन्धमा अनियमितता भई नक्कली सुनका गहनाहरुमा लगानी गरेकोले बैंकलाई हानी पुर्याएको भन्ने आरोपमा विभागीय कारवाही शुरु गरियो । कान्ता पोख्रेललाई कर्जा लगानी निवेदक मैनेजर हुनु भन्दा अघि २०२६ सालदेखि गर्दै आएको देखिएको । ०३९।१।१० मा क्षे.का.बाट कर्मचारीलाई सुन चाँदी धितोमा कर्जा प्रवाह नगर्ने भन्ने निर्देशन मुताविक २०३९।१।११ मा आन्तरिक परिपत्र गराई खजान्ची समेतको सही गराई त्यस बेलादेखि कर्मचारीलाई कर्जा प्रवाह नपर्ने नीति अवलम्बन गरिएको थियो तर तत्पश्चात खजान्ची र स्व.कान्ता पोखरेल मिली विभिन्न कपोलकल्पित मानिसहरुको कर्जा लिनु दिनु गर्ने क्रिया गरेको मलाई थाहा भएन । सुनचाँदीको कर्जा लगानीमा खजान्ची मात्र पूर्णरुपमा उत्तरदायी रहने व्यवस्था एग्रीमेन्टमा भएबमोजिम निवेदकले खजान्चीको क्रियामा शंका लिने ठाउँ थिएन । २०३९।९।२५ मा कान्ता पोखरेलको मृत्यु भएको दिन गोल्ट टेष्टर फागुलाल चौधरीले कर्जाहरु असुरक्षित रहेको कुराको प्रतिवेदन दिए पछि तत्कालै निवेदकले क्षेत्रीय प्रबन्धक समक्ष सो कुरा जाह