निर्णय नं. २६०४ - दर्ता बदर दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६०४ - दर्ता बदर दर्ता कायम भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/३१ २५१३ निर्णय नं. २६०४ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४१ सालको देवानी विविध नं. १०८ फैसला भएको मिति : २०४३।१।३१।४ मा निवेदक/प्रतिवादी : विराटनगर न.पं.वार्ड नं. १ बस्ने नाफालाल थारु विरुद्ध विपक्षी/वादी : ऐ ऐ.वार्ड नं. १ बस्ने अम्बरलाल थारु मुद्दा : दर्ता बदर दर्ता कायम (१) रीतपूर्वक दिएको वारेस तारेखमा छँदाछँदै मिसिल संलग्न त्यस्तो कागजलाई वास्ता नै नराखी पुनरावेदकले वारेसै नदिएको भनी तारेखमा रहेकालाई वेरीतको वारेस ठहराई पुनरावेदकहरूले तारेख गुजारेका भनी मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. १३) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा फैसला न्या.बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकूम प्रमांगी बक्स भई विविधको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. नाफालाल मेरो जेठी पत्नी अमृतीयाको छोरा हो । अमृतीया ०३१।२।१५ गते परलोक भइसकेकी छन् । अमृतीया जीवित छँदै भिन्न बसेकी हुन् । निजको अंश भागको दाखिल दर्ता भएको जग्गा मध्ये प्र.मानगढ मौजे किर्तीपुर विर्ताको ज.वि. ७।१।४ मलाई छोडपत्रको लिखत गरी दिएको हुँदा जमीनदारी पटुवारी कचहरीमा मेरा नाउँमा दाखिल दर्ता भई ऐ.१३ गते चलनपूर्जी समेत पाई भोगचलन गरी सर्भेमा मोरङ्ग बनिगामा गा.पं.वार्ड नं. १(ख) कि.नं. ५९ मा ०–१०–८१/३ ऐ.कि.नं. ४९ मा ०–२–०, ऐ.कि.नं. २०४ मा ०–५–१६ ऐ.कि.नं. ९९ मा ०–७–१० कि.नं. १३५ मा ०–९–१५ ऐ.वार्ड नं. १(ग) कि.नं. ७० मा ०–१४–१५ ऐ.कि.नं. ७२ मा २–१७–९ ऐ.कि.नं. ६४ मा १–१–६ ऐ.कि.नं. ७१ मा १–०–१० ऐ.कि.नं. २१ मा ०–९–१७१/३ समेत जग्गा मेरै नाउँमा नापजाँच भई जग्गाधनी प्रमाण पूर्जा समेत पाई भोगचलन गरी आएकोमा उक्त जग्गा विपक्षीहरूको मिलोमतोबाट कीर्ते वारीसनामा खडा गरी भू.प्र.का.मोरङ्गबाट अमृतियाका नाउँमा २०२८।७।१७ गते दर्ता गराए उपर कीर्तेमा सजायँ गरी अमृतियाका नाउँमा दर्ता भएको बदर गरी मेरै दर्ता कायम गरिपाउँ भन्ने ०२८।८।९ गते फिराद गरेकोमा कीर्ते सोही मुद्दाबाट सजायँ हुने हुँदा कीर्ते वारीसनामा खडा गरी मेरो हकको उक्त जग्गा अमृतीयाका नाउँमा दर्ता भएको दर्ता बदर गरी मेरै नाउँमा दर्ता कायम गरी कार्टफी भराई पाउँ भन्ने समेत व्यहोराको वादी दावी मिति ०३२।११।६ को । ३. आमा अमृतीयाका नाउँमा भू.प्र.का.को निर्णयबाट मिति ०२८।५।१७ गते दर्ता भइसकेको जग्गा वि.न.पं.वार्ड नं. १ पोखरीया बस्ने भरतप्रसाद गुप्तालाई मिति ०२९।४।१९।५ मा बिक्री गरी रजिष्ट्रेशन पारीत गरी दिएको हो । सो सम्बन्धमा वादीले भरतप्रसाद समेतका नाउँमा जग्गावाली दर्ताबदर जालसाजी लेखत बदर मुद्दा ०३०।९।१८ गते यस अदालतमा दायर गरी सक्नु भएको छ । अमृतीयाका नाउँमा दर्ता भई भोग गरेको जग्गामा आफ्नु हक कायम दर्ता बदर गराउन जग्गा पजनीको १७ नं. जग्गा, मिच्नेको १८ नं. र निजले भरतप्रसाद समेतका नाउँमा मिति ०३०।९।१८ मा मुद्दा दायर गरेको मिति समेतको हदम्याद भित्र फिराद दायर भएको छैन । रीतपूर्वकको वारीसनामा निज वादीको बयान अनुसार अमृतीयाका नाउँमा जग्गा दर्ता भएको हो, हदम्याद भित्र दायर नभएको फिराद